१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
एजेन्सी टोकियो
२o८१ जेठ २ बुधबार o७:३९:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

के ओलम्पिक तोकिएकै समयमा होला ?

Read Time : > 3 मिनेट
एजेन्सी टोकियो
नयाँ पत्रिका टोकियो
२o८१ जेठ २ बुधबार o७:३९:oo

विश्वभर कोरोना भाइरस संक्रमण बढिरहेको अवस्थामा विश्व खेलकुदको महाकुम्भ मेला ओलम्पिक खेलकुद तोकिएकै समयमा हुनेमा भने आशंका उब्जिएको छ

विश्वभर कोरोना भाइरस (कोभिड–१९) महामारी फेरि बढ्न थालेपछि यही समरका लागि सारिएको विश्व खेलकुदको महाकुम्भ मेला ओलम्पिक हुने नहुने आशंका उब्जिएको छ । गत वर्ष नै आयोजना हुने तय भएको ओलम्पिक खेलकुद कोरोना भाइरसका कारण आगामी २३ जुलाईदेखि आठ अगस्टसम्म आयोजना हुने गरी सारिएको छ । मिति नजिकिँदा प्रतियोगिता आयोजना गर्न सकिएला वा सम्भव भएको अवस्थामा पनि कसरी आयोजना होला भन्ने चासो बढ्न थालेको छ । विश्वभर तीव्र बढिरहेको संक्रमण दर र यही समय देखिएको नयाँ स्वरूपको भाइरसका कारण ओलम्पिक खेलकुद आयोजक सहज छैन भन्ने देखिएको छ । 

यसले आयोजकलाई पनि केही कुरा निश्चित छैन भन्ने तथ्य महसुस गराएको छ । विभिन्न देशहरू, विशेष गरी युरोपमा फुटबल लिग पुनः सुरु भएका छन् । प्रायः देशहरूले भ्याक्सिन लगाउन पनि सुरु गरिसकेका छन् । त्यसका बाबजुद संक्रमण बढिरहेका कारण ओलम्पिक खेलकुद फेरि पनि तोकिएकै समयमा हुन्न कि भन्ने आशंका उब्जाएको हो । प्रतियोगिता आयोजना हुने जापानमै पनि अवस्था सहज देखिएको छैन । भाइरस संक्रमण बढ्दै गएको समय सर्वसाधारण पनि प्रतियोगिताको विपक्षमा देखिन थालेका छन् । 

आशंकाकैबीच टाइम्स अफ लन्डनले एउटा खोजमूलक रिपोर्ट प्रकाशित गरेको छ, जसमा जापान सरकारले प्रतियोगिता यो वर्ष आयोजना गर्नुको विकल्पको खोजी गरिरहेको जनाइएको छ । नाम नखुलाई एकजना सरकारी अधिकारीलाई उद्धृत गरेको टाइम्स अफ लन्डनले जापानले यो वर्षको सट्टा प्रतियोगिता सन् २०२३ मा आयोजना गर्न खोजेको छ । यो रिपोर्ट आएपछि प्रतियोगिता आयोजना हुनेमा थप आशंका थपिएको हो ।

यद्यपि, जापान सरकारले भने उक्त रिपोर्टको खण्डन गरेको छ । प्रधानमन्त्री योसिहिदे सुगाले यही विषयमा शुक्रबार जापानी संसद्लाई सम्बोधन गरेका छन् । उनले जापानी सरकार ओलम्पिक खेलकुद आयोजना गर्न कटिबद्ध रहेको सांसदहरूलाई जानकारी गराएका छन् । ‘हामी सुरक्षित रूपमा प्रतियोगिताको आयोजना गर्नेमा ढुक्क छौँ । त्यसका लागि सुरक्षाको सबै उपाय अपनाउने छौँ,’ जापानका प्रधानमन्त्री योसिहिदेले भनेका छन्, ‘हामीले यही प्रतियोगिताबाट विश्वले कोरोना भाइरसलाई पराजित गरेको सन्देश दिनेछौँ । साथै, यही प्रतियोगिताबाटै पूर्वी जापानले व्यहोरेको भूकम्पबाट फर्किएको संकेत विश्वलाई दिनेछौँ ।’

टोकियो ओलम्पिकको आयोजक समितिले पनि संलग्न सबै पक्ष प्रतियोगिता आयोजना गर्नमा केन्द्रित रहेको जनाएको छ । आयोजकको दाबीका बाबजुद प्रतियोगिता आयोजना गर्नेबारेको अन्तिम निर्णय भने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले (आइओसी)ले गर्नेछ । टाइम्स अफ लन्डनको रिपोर्टभन्दा केही समयअघि आइओसीका अध्यक्ष थोमस बाचले जापानको क्योडो न्युजलाई प्रतियोगिता तोकिएकै मितिमा हुने बताएका थिए ।

उनले भनेका थिए, ‘निर्धारित मितिमै ओलम्पिक खेलकुद हँुदैन भन्नलाई मसँग अहिले कुनै कारण छैन । अहिलेलाई हामीसँग दोस्रो कुनै योजना पनि छैन ।’ आशंकाकै बीच आयोजक समिति र आइओसीले प्रतियोगिताबारे योजना भने अघि बढाउन सुरु गरेका छन् । उनीहरूले प्रतियोगिताको उद्घाटन र समापनमा सहभागीको संख्या घटाउने तयारी गरेका छन् । आयोजक सहर टोकियोमै गत महिना अहिलेसम्मकै ठूलो संख्यामा संक्रमण देखिएको थियो ।

त्यसपछि आयोजक समितिले आइओसीसँग मिलेर उद्घाटन र समापन समारोहमा दर्शकको उपस्थिति घटाउने निर्णय गरेका हुन् । नयाँ स्वरूपको भाइरस संक्रमण देखिएपछि अन्तर्राष्ट्रिय सिमानाहरूमा पनि कडाइ गरिएको छ । यसले खेलाडीहरूलाई पनि प्रतियोगिताका लागि जापानसम्म पुग्न कठिनाइ हुनेछ । अहिले निर्धारण गरिएकै मितिमा प्रतियोगिताको आयोजना गर्नका लागि पनि आयोजक जापानलाई आफ्नो परीक्षण क्षमता बढाउन आवश्यक छ । यस्तै, क्वारेन्टिनको व्यवस्था र सम्भावित संक्रमणलाई मध्यनजर गर्दै अस्पतालको व्यवस्था गर्न आवश्यक छ ।

प्रतियोगिताअघि नै संक्रमण बढिरहेको समय राजधानी टोकियोलाई प्रतियोगिताको समय बिरामीको चाप थेग्न मुस्किल हुनेछ । प्रतियोगिता अहिले निर्धारित मितिमा हुने नहुनेबारे आगामी मार्चसम्म निर्णाय आउन सक्छ । जापानले मार्च महिनाबाटै ओलम्पिक टर्च ¥याली सुरु गर्ने तयारी गरेको छ । गत वर्ष मार्चमै प्रतियोगिता एक वर्षका लागि सरेको घोषणा गरिएको थियो । यो समय अरू केही पक्ष पनि छन्, जसले प्रतियोगिताको भविष्य निर्धारण गर्न भूमिका खेल्नेछन् ।

मापदण्ड
आइओसीले अहिलेसम्म प्रतियोगिता हुने अवस्थामा कुन खेलका लागि कस्तो मापदण्ड तय गर्नेबारे निर्णय गरिसकेको छैन । जापानको भन्दा पनि डरलाग्दो संक्रमण देखिएका देशहरूमा खेलकुद गतिविधि सुरु भएका छन् । खेलाडीमै संक्रमण देखिएको अवस्थामा पनि अस्टे«लियन ओपन चाँडै सुरु हुँदै छ । यद्यपि, केही विज्ञहरू ओलम्पिकजस्तो ठूलो प्रतियोगिता आयोजना गरिनुपहिले कोरोना भाइरस महामारी रोकिएको हुनपर्ने तर्क गर्छन् । ‘ओलम्पिक खेलकुद सुरु हुनुभन्दा पहिले कोरोना भाइरस महामारी रोकिएको हुनुपर्दछ,’ सोवा विश्वविद्यालयअन्तर्गतको स्कुल अफ मेडिसिनमा संक्रामक रोगका प्रोफेसर योसिहितो निकी भन्छन्, ‘किनभने यो जापानको मात्रै कुरा होइन । यो विश्वको कुरा हो । प्रतियोगितामा विश्वभरबाट सहभागिता रहन्छ । त्यो अवस्था थप भयावह हुन सक्छ ।’

दर्शक
ओलम्पिक खेलकुद प्रतियोगिता आयोजना हुने तय भएको अवस्थामा पनि दर्शकलाई अनुमति दिने नदिने निर्णय महत्वपूर्ण हुनेछ । प्रतियोगितामा अन्तर्राष्ट्रिय दर्शकहरूको सहभागिता नहुन पनि सक्छ । जापानका दर्शकलाई मात्रै अवसर दिने वा दर्शकविना नै प्रतियोगिता आयोजना गर्ने सम्भावना पनि रहन्छ । आइओसीका प्रतिनिधिले नै दर्शकविनाको प्रतियोगिता हुन सक्ने जनाएका छन् । ‘खुसीको कुरा कुनै पनि स्वरूपमा प्रतियोगिता हुन सक्ने सम्भावना देखिएको छ, यसको अर्थ प्रतियोगिताको दौरान खेलाडी मात्रै पनि हुन सक्छन्,’ आइओसीका सदस्य डिक पाउन्डले क्योडो जापानको न्युजसँग भनेका छन्, ‘दर्शक हुनैपर्छ भन्ने होइन, हुँदा राम्रो भन्ने मात्रै हो ।’ टिकट बिक्रीको प्रक्रिया पनि अगाडि बढाउनुपर्ने भएका कारण दर्शकबारे चाँडै नै निर्णय हुन सक्ने टोकियो ओलम्पिक आयोजकले व्लुमबर्गसँग बताएका छन् ।

आइओसी
सम्झौताअनुसार प्रतियोगिताबारे अन्तिम निर्णय आइओसीले नै गर्नेछ । त्यही अधिकारको प्रयोग गर्दै आइओसीले नै प्रतियोगिताको केही आयोजना स्थल सारिदिएको छ । प्रतियोगिताको समय तापक्रम उच्च बिन्दुमा पुग्ने भएका कारण आइओसीले पहिलेको भेनु परिवर्तन गरी म्याराथनको भेनु होकाइदोको साप्पोरोमा सारेको छ । टोकियोका गभर्नर युरिको कोइकेको विरोधका बाबजुद आइओसीले प्रतियोगिताको भेनु परिवर्तन गरिदिएको हो ।

त्यसैले भाइरस संक्रमणको अवस्थालाई हेरी प्रतियोगिता अहिले निर्धारित मितिमै आयोजना गर्ने वा पछि सार्ने भन्ने विषयमा पनि आइओसीले अन्तिम निर्णय दिनेछ । त्यसअघि आइओसीले आयोजक समिति र जापानका सरकारी अधिकारीहरूसँग आवश्यक छलफल गर्न सक्छ ।

खेलाडी
अर्काे महत्वपूर्ण प्रश्न खेलाडीको सहभागिता रहेको छ । ओलम्पिक खेलकुद प्रतियोगिता विश्वकै प्रतिष्ठित प्रतियोगिता हो, जसमा सहभागी हुनु प्रत्येक खेलाडीको सपना हुने गर्दछ । तर, संक्रमण बढ्दै जाँदा खेलाडीले आफ्नो जीवनलाई नै जोखिममा राखेर सहभागी हुन तयार होलान् भन्ने प्रश्न उब्जिएको छ । केही खेलाडीले प्रतियोगिताअघि भ्याक्सिन लगाउन सक्छन् । भ्याक्सिन लगाउन नचाहने खेलाडीहरू प्रतियोगिताका लागि भ्रमण गर्नु जोखिमपूर्ण हुनेछ । भ्याक्सिनको पनि कुनै न कुनै साइड इफेक्ट रहन्छ नै । 

यसले खेलाडीहरूको प्रदर्शनमा दीर्घकालीन असर पार्न पनि सक्छ । यद्यपि, अहिलेलाई खेलाडीहरूले ती चुनौतीलाई आत्मसात् गर्लान् भन्ने अपेक्षा गरौँ । कम्तीमा सन् २०२० पछि प्रायः खेलाडी प्रतिस्पर्धामा फर्किएका छन् । अमेरिकाकी पूर्वखेलाडी एवं टोकियो ओलम्पिकमा अमेरिकी जिम्नास्टिक टोलीको सल्लाहकारका रूपमा रहेकी जोन ओमोरीका अनुसार उनका खेलाडी प्रतियोगितामा सहभागी हुन तयार छन् । उनी भन्छिन्, ‘अमेरिकी खेलाडीहरू यो प्रतियोगितामा सहभागी हुन चाहन्छन् । मैले कुरा गरेका खेलाडी सबैले आफूले पछिल्लो चार वर्षदेखि गरेको मिहिनेत देखाउन चाहन्छन् ।’
 

ad
ad