मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नवराज मैनाली काठमाडौं
२०७७ माघ २२ बिहीबार ०२:४३:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विद्यार्थी भिसामा बसेर क्रिस्चियन धर्म प्रचार गर्ने आठ कोरियनलाई निष्कासन गरिँदै 

निष्कासन गरिन्छ, कारबाही हुँदैन

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७७ माघ २२ बिहीबार ०२:४३:००

विद्यार्थी भिसामा नेपालमा बसेर धर्म प्रचारमा लागेको अभियोगमा आठजना दक्षिण कोरियन नागरिकलाई गृह मन्त्रालयले निष्कासनको तयारी गरेको छ । अध्यागमन विभागले उनीहरूको पासपोर्ट नियन्त्रणमा लिएर निष्कासनको निर्णयका लागि सोमबार गृह मन्त्रालयलाई पत्राचार गरेको छ । 

निष्कासन गर्न लागिएकाहरूमा दुई जोडी दम्पती र उनीहरूका चार बालबालिका छन् । अनुसन्धानका क्रममा उनीहरू अध्यागमन नियम मिचेर क्रिस्चियन धर्म प्रचारमा आबद्ध भएको पुष्टि भएपछि निष्कासनको प्रक्रिया अघि बढाइएको विभागका महानिर्देशक रमेशकुमार केसीले बताए । 

निष्कासन गर्न लागिएकाहरूमा गोक सी गुन, उनकी पत्नी सिक क्वाङ जिन र उनीहरूका तीन सन्तान छन् । त्यस्तै, सिओ हायोङ्गो, उनकी पत्नी हेइसिन र उनीहरूका एक सन्तान छन् । सन् २०१८ को अगस्टदेखि उनीहरू नेपालमा बस्दै आएका थिए । 

सुरुमा उनीहरू पर्यटक भिसामा नेपाल आएका थिए । आफ्ना सन्तानलाई ललितपुरको आइडियल मोडल स्कुलमा भर्ना गराएर विद्यार्थी भिसा लिएका थिए । कुनै विदेशीले विद्यार्थी भिसा लिएपछि उनीहरूका परिवारले आश्रित भिसा पाउँछन् । आश्रित भिसाकै लागि उनीहरूले छोराछोरीलाई भर्ना गरेका थिए ।

पर्यटक भिसामा बस्दा एक वर्षमा बढीमा पाँच महिना मात्र नेपालमा बस्न पाइन्छ । विद्यार्थी तथा आश्रित भिसामा जति पनि बस्न पाइने भएकाले उनीहरूले भिसाको दुरुपयोग गरेको विभागका अधिकारी बताउँछन् । 

नेपाली भाषासमेत बोल्न सक्ने उनीहरू ललितपुरको धोबिघाटस्थित मातृभाषा अनुवादक समाजमा काम गर्दथे । सो संस्थामार्फत उनीहरूले बाइबललाई सबै नेपाली मातृभाषामा अनुवाद गर्ने काम गरिरहेको विभागको दाबी छ । ‘सन् २०२५ सम्म सबै नेपाली मातृभाषामा बाइबल अनुवाद गर्ने र वितरण गर्ने उनीहरूको योजना रहेछ,’ अनुसन्धानमा आबद्ध अध्यागमन विभागका एकजना अधिकारीले भने । अनुवाद गरिएका बाइबल हरेक जिल्लाका चर्चमार्फत वितरणसमेत थालिएको थियो । 
उनीहरूको चालचलनसम्बन्धी शंका लागेर विभागले छानबिन थालेको थियो । छानबिनको क्रममा धर्म प्रचारकै लागि उनीहरू नेपालमा बस्दै आएको निष्कर्षसहित निष्कासनका लागि प्रक्रिया अघि बढाएको छ । 

विभागका अनुसार उनीहरू आबद्ध नेपाल मातृभाषा अनुवादक समाज संस्थाले खुलेआम क्रिस्चियन धर्म प्रचारको काम गर्दै आएको छ । दुई वर्षअघि संस्थाका गतिविधिविरुद्ध जिल्ला प्रशासन कार्यालय ललितपुरले छानबिन गरेको थियो । तर, दबाबका आधारमा कारबाही नभएपछि उसले यस्ता गतिविधिलाई तीव्रता दिएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । संस्थाले महिनामै लाखौँ खर्च गर्दै आएको, तर अनुदानको स्रोत प्रस्ट छैन । 

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले सो संस्थाले धर्म प्रचारका गतिविधि गरेकोबारे जानकारी नभएको बताए । संस्था जिल्ला प्रशासन कार्यालय ललितपुरमै दर्ता छ । आफ्नो जिल्लामा रहेका संघसंस्थाहरूको अनुगमन गर्ने जिम्मेवारी सम्बन्धित जिल्ला प्रशासनको हो । 

समाज कल्याण परिषद्का सूचना अधिकारी दुर्गाप्रसाद भट्टराईका अनुसार कुनै पनि संघसंस्थाले धर्म प्रचारका लागि विदेशबाट अनुदान लिन पाउँदैनन् । ‘कुनै संस्थाले प्रलोभनमा पारेर धर्म प्रचार गरेको रहेछ भने त्यो फौजदारी अपराध हो,’ उनले भने, ‘यसमा अनुगमन र कारबाही गर्ने जिम्मेवारी सिडिओ कार्यालयको हो ।’ 

निष्कासन गरिन्छ, कारबाही हुँदैन

नेपालमा धर्म प्रचार गर्ने विदेशीलाई निष्कासन गर्ने क्रम बढेको छ । तर, यस्ता व्यक्तिहरूमाथि धर्म प्रचारसम्बन्धी अभियोगमा मुद्दा दायर भने हुने गरेको छैन । 

गत महिना मात्र युक्रेनी नागरिक एन्टोनिना डोमासेन्कालाई गृह मन्त्रालयले निष्कासन गरेको थियो । ललितपुरमा डायनामिक स्कुलमा पढाउने नाममा उनले विदेशी चर्चबाट पैसा ल्याएर धर्म प्रचार गर्दै आएको पुष्टि भएको थियो । तर, उनीविरुद्ध मुद्दा नचलाई पाँच वर्षका लागि निष्कासन गरियो । 

बेल्जियमका स्भेन वाल्टर एम डिकास्टे इके र इभिलियन लुसिनी क्लाइसले पनि पाँचथरमा बसेर क्रिस्चियन धर्म–प्रचार गरेको पुष्टि भएपछि गत महिना मुद्दा नचलाई निष्कासन गरिएको थियो । 

मुलुकी अपराधसंहिताको दफा १५८ मा कसैले धर्म प्रचारको उद्योग तथा दुरुत्साहन गरेमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । अध्यागमनले गरेको छानबिनमा भने अध्यागमन ऐनअनुसार मात्र कारबाही हुँदै आएको छ । 

नेपालमा विद्यार्थी भिसामा एक हजार नौ सय विदेशी छन् । उनीहरूमध्ये आधाभन्दा धेरै पढ्ने नाममा अन्य गतिविधिमा सक्रिय रहेको सूचना अध्यागमन विभागमा पुगेको छ । त्यसकै आधारमा अन्य विदेशीमाथि पनि विभागले छानबिन गरिरहेको छ । बिजनेस भिसामा बसेका केही विदेशी पनि धर्म प्रचारमा संलग्न रहेको पाइएको छ । विभागका महानिर्देशक रमेशकुमार केसीले शंकास्पद गतिविधिमा संलग्न अन्य विदेशीमाथि पनि छानबिन भइरहेको बताए ।