
विवादै विवादबीच सुरु भएको काठमाडौं भ्युटावर समयमै निर्माण सम्पन्न नहुने भएको छ । १२ तले टावरको निर्माण सम्पन्न समयसीमा सकिन पाँच महिना मात्र बाँकी रहँदा दुई तला पनि बन्न सकेको छैन । काठमाडौं महानगरपालिकाले २०७३ असारमा दिएको कार्यादेशअनुसार २०७८ असारमा टावर निर्माण सम्पन्न गर्नुपर्नेछ । चार वर्षमा दुई तला निर्माण गर्न नसकेको ठेकेदार कम्पनीले पाँच महिनामा १० तला निर्माणको काम सक्नेमा महानगर भने ढुक्क देखिन्छ ।
‘टावर निर्माणको कामले गति लिएका कारण अबको पाँच महिनामा योजना सकिन्छ,’ महानगरका निर्देशक महेश काफ्लेले भने । कोरोना महामारीका कारण सामान ढुवानी गर्न नसकिएको, कामदारको अभाव भएकोलगायतका कारण काममा केही ढिलासुस्ती भएको उनको भनाइ छ । ‘बीचमा कोरोनाका कारण सामान र कामदार पाउन सकिएन । यी कारणले अलि काममा ढिलाइ हुन पुगेको हो,’ उनले भने, ‘हामीले पनि आफ्नोतर्फबाट सहयोग गर्न सकेनौँ ।’ भ्युटावर निर्माणको जिम्मा जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स कम्पनीले पाएको छ । उसले निर्माण छिटो सक्न भन्दै आइडिया फोर नेपाल, मिग नेपाल प्रालिलगायतलाई काममा सहभागी गराएको छ ।
पछि २९ तला नै बनाउने हो
कुराचाहिँ २९ तलाअनुुसार नै भएको हो । डिजाइन, नक्सा सबै सोहीअनुसारै छ । अहिलेको अवस्थामा भने १२ तला निर्माण गर्दै छौँ । पहिला नै २९ तलाको बनाउने निर्णय भएको थियो । भूकम्पका कारण सरकारले मापदण्ड परिवर्तन ग¥यो । उद्देश्य नै दृश्यावलोकनसहित पर्यटकलाई काठमाडौंबारे जानकारी गराउने भएकाले १२ तला बनाएर के गर्नु ? २४ र २५ तलासम्म बिजनेस र त्योभन्दा माथि दृश्यावलोकनका लागि बनाउने हो । त्यसैले पछि २९ तला नै बनाउने हो ।
-महेश काफ्ले, निर्देशक, काठमाडौं महानगर
१२ तलामा झ¥यो भ्युटावर
महानगरको महत्वाकांक्षी योजनाका रूपमा रहेको काठमाडौं भ्युटावर २९ तलाबाट १२ तलामा सीमित हुने भएको छ । ठेकेदार कम्पनीसँग २९ तलाको सम्झौता भएको र सोहीअनुसार निर्माण फाउन्डेसन बनाए पनि हाललाई १२ तलाको मात्र निर्माण गर्ने भएको महानगरका निर्देशक काफ्लेले बताए । ‘कुराचाहिँ २९ तलाअनुुसार नै भएको हो । डिजाइन, नक्सा सबै सोहीअनुसारै छ । अहिलेको अवस्थामा भने १२ तला निर्माण गर्दै छौँ,’ उनले भने, ‘पहिला नै २९ तलाको बनाउने निर्णय भएको थियो । भूकम्पका कारण सरकारले मापदण्ड परिवर्तन ग¥यो,’ काफ्लेले भने, ‘उद्देश्य नै दृश्यावलोकनसहित पर्यटकलाई काठमाडौंबारे जानकारी गराउने भएकाले १२ तला बनाएर के गर्नु ? २४ र २५ तलासम्म बिजनेस र त्योभन्दा माथि दृश्यावलोकनका लागि बनाउने हो । त्यसैले पछि २९ तला नै बनाउने हो ।’ सम्झौता हुँदा टावर बनाउन झन्डै तीन अर्ब ८५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । अहिले लागत बढेर करिब सात अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको निर्देशक काफ्लेले बताए ।
आयोजनाअनुसार दुईतले भूमिगत पार्किङ हुनेछ, जसमा तीन सय सवारी अटाउने छन् । भुइँतलामा मोटरसाइकल पार्किङ बनाउने योजना छ । पहिलो तलामा बसपार्कका काउन्टर, दोस्रो तलामा सूचना डेस्क र तेस्रो तलामा अत्याधुनिक सिनेमा हल रहनेछ । बैंक तथा वित्तीय कारोबार गर्ने स्थान, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेस्टुरेन्ट तथा पुस्तकालय पनि हुनेछन् । टावर भूकम्प प्रतिरोधात्मक जापानी प्रविधिमा निर्माण गरिने बताइएको छ ।
अझै बनेन स्वतन्त्र इन्जिनियरिङ समिति
काठमाडौं भ्युटावर मापदण्डअनुसार बन्दै छ÷छैन वा यसमा आवश्यकताअनुसारको सामान प्रयोग भयो वा भएन भन्ने जाँच गर्न महानगरले तेस्रो पक्ष अर्थात् स्वतन्त्र इन्जिनियरिङ समितिसमेत बनाउन सकेको छैन । नियुक्ति प्रक्रियामा भएको ढिलाइले समिति नबनेको निर्देशक काफ्ले बताउँछन् । ‘अनुगमनको टोली बनाउने भनेर निर्णय भएको हो । तर, नियुक्त गर्ने प्रक्रियामा केही ढिला भएको हो,’ उनले भने, ‘हामीले अनुगमन गर्दै नगरेको भने होइन । रिपोर्ट लिएका छौँ । हेरेका छौँ । जसरी भ्युटावर बनिरहेको छ, त्यसमा सन्तुष्ट नै छौँ । अब छिटै स्वतन्त्र इन्जिनियरिङ समिति पनि गठन हुनेछ ।’
भवनको जग मापदण्डअनुसार नबने संरचना कच्चा हुने र जाँचबुझ नहुँदा ठेकेदारको एकपक्षीय जाँचले भवनको गुणस्तरमै शंका हुने विज्ञहरू बताउँछन् । अनुगमनका लागि अहिलेसम्म समिति नभएकाले भोलि समस्या आउन सक्ने वडा नम्बर २८ का अध्यक्ष भाइराम खड्गीले बताए । ‘पहिला पनि काम ढिला भएको कारणले वडावरपर फोहोर, धुलो, धुवाँ भयो । आवतजावतमा अप्ठ्यारो भयो भनेर हामीले महानगरमा पटकपटक भन्यौँ । काम छिटो गर्न पहल ग¥यौँ,’ खड्गीले भने, ‘अहिले काम त भइरहेको छ । तर, त्यो कस्तो भइरहेको छ भनेर अनुगमन टोली बनाइदेऊ भनेको अझै बन्न सकेको छैन ।’
भ्युटावर विवादको फेहरिस्त
२६ असार २०६८ को नगरपरिषद् बैठकले २३ रोपनी ५ आना ३ दाम १ पैसामा पुरानो बसपार्कमा सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा टावर निर्माण गर्ने निर्णय पारित ग¥यो । सोही वर्ष चैतमा ठेक्का आह्वान भयो । आठ कम्पनीले टेन्डर हाले । सबैभन्दा बढी रोयल्टी बुझाउन कबोल गर्ने जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स कम्पनीले ठेक्का पाएको थियो । भवनको आवश्यकता नभएको, ठेक्कामा प्रक्रिया मिचिएकोलगायत प्रश्न उठाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी प¥यो । २८ मंसिर ०६९ मा अख्तियारले टावर निर्माण रोक्न निर्देशन दियो । सम्झौता नेपाली भाषामा गर्ने, जग्गाको ४० प्रतिशत क्षेत्रमा मात्र भवन निर्माण गर्ने, ६० प्रतिशत खुला राख्ने र जमिनमुनिसहित तीन तला पार्किङ गर्नेलगायत निर्देशनसहित आयोगले २४ वैशाख २०७० मा रोक्का फुकुवाको पत्र पठायो ।
कलंकी र गोंगबुमा आकाशेपुल बनाएका मनोज भेटवालको कम्पनीले महानगरलाई पैसा तिर्न बाँकी रहेको, उनीसँग त्यत्रो भवन बनाउने पैसा नै नभएकोलगायतका विषय उठाएर संसद्को सार्वजनिक लेखा समितिमा उजुर प¥यो । ४ फागुन २०७१ को लेखा समितिले नियम, विधि तथा प्राविधिक रूपले सम्झौता गरी काम अघि बढाउन निर्देशन दिएर पत्र लेख्यो । महानगरपालिकाले २२ फागुन २०७१ मा कम्पनीसँग सार्वजनिक–निजी साझेदारीको मोडलमा २९ तले बहुउद्देश्यीय टावर निर्माण सम्झौता ग¥यो । ठेकेदारसँग २९ तलाको सम्झौता गरे पनि सहरी विकास मन्त्रालयले त्यहाँ १२ तलाभन्दा ठूलो भवन बनाउन नमिल्ने बताएपछि २०७२ भदौमा महानगरले १२ तले भवनको नक्सा पास ग¥यो । सोही वर्ष २५ कात्तिकमा उपराष्ट्रपति नन्दबहादुर पुनले भ्युटावरको शिलान्यास गरेका थिए ।
भ्युटावर निर्माणले खुसी छैनन् स्थानीय
स्थानीयको मागलाई बेवास्ता गर्दै बनाइएको भ्युटावरले आफूहरूलाई खुसी दिन नसकेको बागबजार सरोकार समितिका महासचिव सुुशन वैद्यले बताए । आयोजनाविरुद्ध सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि आफूहरूको आवाज कसैले नसुनेको र स्थानीयलाई पेलेरै भ्युटावर बनाएको उनले आरोप लगाए । ‘यो आयोजनाले स्थानीयलाई राम्रोभन्दा नराम्रो धेरै गर्छ भनेर पटक–पटक सम्बन्धित निकायलाई जानकारी गरायौँ । तर, बलजफ्ती काम गरे,’ वैद्यले भने, ‘टावर निर्माणबाट हुने क्षतिको जानकारीबारे महानगर, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसद्को लेखा समिति, मानवअधिकार आयोगमा आयोजनाविरुद्ध उजुरी दियौँ । तर, हाम्रो पक्षमा कहिल्यै पनि नतिजा आएन ।’ वैद्यले टावर बनाउँदा आसपासका इनारमा पानी सुक्ने, स्थानीयका घर भासिने, सहरमा धेरै खुला ठाउँ बनाउनुपर्ने कुरा उठिरहेका वेला भएको खुला स्थान मासेर भवन बनाउन नहुने उनको तर्क छ ।
स्थानीय गीता शर्मा पुरानो बसपार्कमा भ्युटावर बन्न हुँदैन भनेर धेरैपटक आवाज उठाउँदा आफूहरूको मागको सुनुवाइ नभएको बताउँछिन् । ‘खुला स्थानको महत्व कति हुन्छ भन्ने कुरा हामीले ०७२ वैशाखको भूकम्पमा भोग्यौँ,’ शर्माले भनिन्, ‘त्यतिवेला बागबजारवासी महिनौँसम्म पुरानो बसपार्कमा बसेका थिए । त्यो भवन बन्यो एकातिर त्यही भत्केला भन्ने डर अर्कातिर खुला ठाउँको अभाव हुन्छ । त्यही भएर हाम्रो विरोध अहिले पनि जारी छ ।’ शर्मा अब छिटो टावर बने आनन्द हुने बताउँछिन् । ‘चार–पाँच वर्षदेखि धुलो खाएर बस्नुपरेको छ । निर्माणस्थलवरपरको बाटो बिग्रिएको छ । साना गल्लीमा नराम्रा मान्छेहरूको बिगबिगी हुन थालेको छ,’ शर्माले भनिन् । वडाध्यक्ष खड्गी आफैँ पनि भ्युटावरले गर्दा ढललगायतका समस्या आउने बताउँछन् ।