मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ माघ २१ बुधबार १५:५२:००
Read Time : > 1 मिनेट
खेलकुद

राष्ट्रिय महिला फुटबल लिग : त्रिभुवन आर्मी दर्जन गोलसिहत विजयी

Read Time : > 1 मिनेट
२०७७ माघ २१ बुधबार १५:५२:००

राष्ट्रिय महिला फुटबल लिग फुटबल प्रतियोगितामा शर्मिला थापाकाे  ह्याट्रिकसहित त्रिभुवन आर्मीले चौदण्डीगढी नगरपालिकालाई १२–० को फराकिलो अन्तरले पराजित गरेको छ । प्रतिस्पर्धामा शर्मिलाले ह्याट्रिकसहित थप दुई गोल गरेकी थिइन् । 

जितसँगै आर्मीले ६ खेलमा १३ अंक जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा छ । यता चौदण्डीको यो लगातार छैटौँ हार हो ।  चौदण्डी अंकविहीन हुँदै पुछारमा छ । चालू लिगमा सहभागीमध्ये चौदण्डी सबैभन्दा कमजोर टोलीका रूपमा हेरिएको छ । 

आर्मीको जितमा कप्तान अञ्जली वाइबा, हेमा चौधरी, विमला चौधरी, विमला विक र रश्मी घिसिङले एक–एक गोल गरेका थिए । आर्मीले खेलको तेस्रो मिनेटमै चौदण्डीविरुद्ध १–० को अग्रता लिएको थियो । मिडफिल्डर हेमाले कप्तान अञ्जलीको पासमा गोल गरेकी हुन् । 

खेलको नायक शर्मिलाले छैटौँ मिनेटमा व्यक्तिगत पहिलो गोल गर्दा आर्मी २–० ले अघि बढ्यो । खेलको १२ मिनेटभित्र चौदण्डी ४–० ले पछाडि परिसकेको थियो । खेलको आठौँ मिनेटमा कप्तान अञ्जलीले आर्मीलाई ३–० को अग्रता दिलाइन् । खेलको १२औँ मिनेटमा शर्मिलाले व्यक्तिगत दोस्रो गोल गरिन् । 

शर्मिलाले खेलको २३औँ मिनेटमा ह्याट्रिक गोल गरिन् । उनले ह्याट्रिक गर्दा विमला चौधरीले पास मिलाइदिएकी हुन् । चौदण्डीले लगातारजसो गोल व्यहोरिरहँदा डिफेन्स अस्तव्यस्त भएको देखिन्थ्यो । डिफेन्सका खेलाडीबीच आपसी तालमेल नमिल्दा आर्मीका खेलाडीले सहजै डिबक्सभित्र बल पुऱ्याएका थिए । 

खेलको २९औँ मिनेटमा शर्मिलाले व्यक्तिगत चौथो गोल थप्दा आर्मी ६–० को बलियो स्थितिमा पुग्यो । यसपटक शर्मिलाले रश्मीको पासमा गोल गरिन् । पहिलो हाफमा चौदण्डीको खेल कमजोर नै रह्यो । मध्यान्तर अघिसम्म आर्मीले चौदण्डीको पोस्टमा ८–० को अग्रता बनाइसक्यो । खेलको ३०औँ मिनेटमा विमला चौधरीले व्यक्तिगत पहिलो गोल गरिन् । खेलको औँ मिनेटमा शर्मिलाले व्यक्तिगत पाँचौँ गोल गर्दा आर्मी मध्यान्तरअघि नै ८–० ले अघि रह्यो । मध्यान्तरपछि आर्मी थप चार गोल गरेको थियो । 

आर्मीका सहायक प्रशिक्षक सुशील श्रीवास्तवले दोस्रो रोजाइका खेलाडीले चौदण्डीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको प्रतिक्रिया दिएका छन् । उनले कमजोर टोलीविरुद्ध पहिलो रोजाइका खेलाडीलाई रेस्टमा राखेको बताए । ‘हामी जित लक्ष्यका साथ नै मैदानमा आएका थियौँ, बेन्चमा रहेका खेलाडीलाई पनि मौका दियौँ, यसले हामीहरूको बेन्च टिम पनि राम्रो रहेको सन्देश दिएको छ,’ उनले भने ।

चौदण्डीका मुख्य प्रशिक्षक दीपक थापाले बल पोसेसन बनाउन नसक्दा फराकिलो हार भएको बताए । विशेषतः प्रशिक्षक थापाले रक्षापंक्तिका खेलाडीबीच तालमेल नमिल्दा नै ठूलो अन्तरले हार व्यहोरेको बताए । ‘डिफेन्सको तालमेल नमिल्दा गोल खायौँ,’ थापाले भने, ‘मिडफिल्डर र डिफेन्सबीच तालमेल भएन र हारको मुख्य कारण त्यही हो ।’