१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ २० मंगलबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ माघ २० मंगलबार २२:oo:oo
Read Time : > 6 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मंगलबार दिनभरका मुख्य खबर

कांग्रेस नेता सिटौला भन्छन्– प्रधानमन्त्री नै सडक कब्जामा आएपछि त्यसको सन्देश के हुन्छ ?

Read Time : > 6 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ माघ २० मंगलबार २२:oo:oo

डोल्पाका एक युवाले निःशुल्क बाँडे सिंगो गाउँलाई ग्यासचुलो र सिलिन्डर

हिमाली जिल्ला डोल्पाका एक समाजसेवी युवाले व्यक्तिगत खर्चमा सिंगो गाउँलाई नै ग्यासचुलो र सिलिन्डर बाँडेका छन् । ठूलीभेरी नगरपालिका– ३ दुनैमा बस्दै आएका युवा मन बुढाले वडा नं. ४ तिप्ला गाउँका एक सय २१ घरधुरीलाई ग्यासचुलाे र सिलिन्डर वितरण गरेका हुन् । व्यक्तिगत नाै लाख ६८ हजार खर्च गरेर नेपालगन्जबाट सिलिन्डर र चुलाे ल्याएर वितरण गरेको स्थानीय राजबहादुर बुढाले बताए । सदरमुकाम दुनैस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका बुढाले जिल्लामै नमुना काम गरेकाले यस्तै दीर्घकालीन सोच राखेर अन्य युवाले पनि समाजसेवामा लाग्नुपर्नेमा जोड दिए ।

दफा ४४ अनुसार आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगे प्रचण्ड-नेपाल

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्दै नेकपाको प्रचण्ड-नेपाल समूह निर्वाचन आयोग पुगेको छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठकले रित पुर्‍याएर  दाबी गर्न आयोग जाने निर्णय गरेअनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितका नेताहरू आयोगको कार्यालय पुगेका हुन् । वरिष्ठ नेता झलनाथ खनालले बहुमत केन्द्रीय कमिटीको समर्थन रहेको भन्दै आयोगमा आधिकारिकताको दाबी गरिएको बताए । नेता राजेन्द्र पाण्डेले दुई सय ७७ जना केन्द्रीय कमिटी नाम बुझाइएको बताए । नेता लीलामणि पोखरेलले दल विवाद निरुपण नगरीसम्म अरू प्रक्रिया अगाडि बढ्न नसक्ने बताए । 

कांग्रेस नेता सिटौला भन्छन्– प्रधानमन्त्री नै सडक कब्जामा आएपछि त्यसको सन्देश के हुन्छ ?

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सरकार आफैँ सडकमा ओर्लिएर तमासा देखाउन लागिपरेको बताएका छन् । ‘संसारमा कहीँ पनि सरकारले सडक कब्जा गरेर सभा गरेको मलाई थाहा छैन, सडक कब्जा गर्नुहुँदैन है भन्ने काम पो सरकारको हो भन्ने लाग्छ, तर अरूलाई पनि सडकमा आउन नदिने अवस्था बनाउनुपर्ने जिम्मेवारी बोकेको सरकार आफैँ सडकमा उत्रिएको छ,’ सिटौला आश्चर्य प्रकट गर्छन्, ‘प्रधानमन्त्री नै सडक कब्जामा आएपछि त्यसको सन्देश के हुन्छ ? यस्तो त संसारमा अहिलेसम्म देखेको–सुनेको छैन ।’ संसद् विघटन गरेर चुनाव गराउने घोषणा गरेका प्रधानमन्त्री केपी ओली चुनावको तयारीमा भन्दा सडकमा तमासा देखाउन व्यस्त भएको सिटौला बताउँछन् । ‘सरकारका प्रधानमन्त्री, मन्त्रीहरू नै सडकमा उत्रिएर देशका सबै जनतालाई सडक कब्जामा आऊ भनेको हो कि के हो ?’ सिटौला भन्छन्, ‘अहिले त यस्तो अवस्था आएको छ कि स्वयं प्रधानमन्त्रीजी नै अँध्यारोमा तीर चलाइरहनुभएको छ, यसले कस–कसलाई लाग्ने हो ? थाहा छैन ।’ 

स्पष्ट नभएको संविधानमा मात्र विदेशी अनुभव लिने अदालतको चलन छ : न्यायाधीश कार्की

सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले सामाजिक सञ्जाल र मिडियामा भाइरल भएका समाचारका कारणले अदालतप्रति विश्वास घट्दै गएको बताएका छन् । न्यायपालिकामा हुन सक्ने विकृति, विसंगति, अनियमितता वा बिचौलियाबाट हुन सक्ने क्रियाकलाप र त्यसको रोकथामका विषयमा विस्तृत अध्यायन गर्न बनेको समितिले सुर्खेतका पत्रकारसँग गरेको अन्तरक्रिया कार्यक्रममा न्यायाधीश कार्कीले सामाजिक सञ्जाल र मिडियामा भाइरल भएका समाचारका कारणले अदालती प्रक्रियामा प्रभाव पर्ने गरेको बताएका हुन् । कतै आफ्नोबारेमा गलत समाचार आउने हो कि भन्ने डर न्यायाधीशलाई लाग्न थालेका कारणले पनि न्यायाधीशहरूले असुरक्षित भएको महसुस गर्न थालेको कार्कीले बताए । ‘न्यायमूर्तिहरूमा त्रासको वातावरण सिर्जना भएको छ,’ उनले भने, ‘न्यायाधीश तर्सित भए उनीहरूले कसरी सही न्याय दिन सक्छन् ।’

युद्धमा नहारेको देश डल्ला फ्याँक्नेमा किन हार्ने ? :  प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओली शर्माले खुकुरीकै भरमा समेत लडाइँमा परास्त नभएका नेपाली खेलकुद मैदानमा पनि पराजित हुनु नहुने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मंगलबार प्रज्ञा भवनमा आयोजना गरेको ‘खेलकुदसँग प्रधानमन्त्रीको अन्तक्रिया ’का क्रममा उनले युद्धमा जस्तै मैदानमा पनि नेपाली खेलाडी हार्न नहुने बताएका हुन् । ‘अंग्रेजसँगको लडाइँ खुकुरीकै बलमा नेपालीले जित्ने, तर खेलमा हामी किन हार्नुपरेको हो ?,’ उनले भने, ‘फुटबलमा साना डल्ला भकुन्डो हान्ने र क्रिकेटमा बलले हान्ने त हो नि ।’ नेपाल कहिल्यै अरूको उपनिवेशमा नरहेको बताउँदै उनले खेलकुदमा पनि जित्ने बानी बसाल्नुपर्ने जनाए । ‘हामी कहिल्यै उपनिवेश नबनेको राष्ट्र, कहिल्यै नहारेको नेपाल किन यत्रा–यत्रा डल्ला फ्याँक्ने खेलमा हार्ने, सितेरियो, कराते, कम्फु र भारोत्तोलनमा किन हामी हार्ने ?,’ खेलाडीलाई आत्मविश्वासी बनाउँदै प्रधानमन्त्री ओलीले भने । 

निर्वाचनका लागि बजेटको अभाव हुँदैन : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनका लागि बजेटको कुनै अभाव नहुने बताएका छन् । आगामी वैशाखका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीका सम्बन्धमा मंगलबार आयोगसँगको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । अर्थमन्त्री पौडेलले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचनका लागि सरकारले आवश्यक बजेट उपलब्ध गराउने बताएका हुन् । ‘बजेटको कुनै अभाव हुँदैन, सरकारी नीतिअनुसार वैदेशिक सहायताका सन्दर्भमा समेत अर्थ मन्त्रालयबाट पूर्ण सहयोग हुन्छ,’ आयोगमा भएको छलफलमा मन्त्री पौडेलले भने ।

कोरोना भाइरसविरुद्धको भ्याक्सिन धेरै परीक्षण भएको ब्राजिलसँगै छैन भ्याक्सिन

ब्राजिलको साओ पाउलोस्थित इमिलियो रिबास इन्स्टिच्युड अफ इन्फेक्सियस डिजिजको कोभिड– १९ वार्ड संक्रमणबाट सिकिस्त भएका बिरामीले भरिएका छन् । वार्डभित्र बिरामीको शरीरमा जोडिएको मेसिनको आवाज तीव्र छ । त्योभन्दा तीव्र बन्दै छ, बिरामीहरूले लिने सास । वार्डमा उपचाररतमध्ये धेरैलाई बचाउन मुस्किल छ । लामो समयदेखि उक्त वार्डमा कोरोना संक्रमित बिरामीको उपचारमा खटिएकी नर्स मोनिका कालाजन्स आफूले पहिले धेरै मृत्यु देखेको बताउँछिन् । उनी भन्छिन्, ‘कोरोनाबाट मैले आफ्ना आठ सहकर्मी गुमाइसकेँ । यो साँच्चिकै निर्दयी रोग रहेछ ।’

कार्यकाल पूरा गर्न नपाउँदा निर्वाचनमा जानुपरेको हो : महान्यायाधिवक्ता खरेल

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधिसभा बाध्यताले विघटन गर्नुपरेको भए पनि संविधानसम्मत भएको तर्क गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्वको रिट निवेदनमाथि १५औँ दिनको सुनुवाइमा सरकारको प्रतिरक्षा गर्दै महान्यायाधिवक्ता खरेलले विघटन संविधानसम्मत भएको दाबी गरेका हुन् । महान्यायाधिवक्ता खरेलले ०५१ सालमा पनि बहुमतको सरकार हुँदाहुँदै विघटन गर्नुपरेको स्मरण गराउँदै वर्तमान सरकारले पनि पाँच वर्षको कार्यकालका लागि निर्वाचन भए पनि कार्यकाल पूरा गर्न नपाउँदा निर्वाचनमा जानुपरेको स्पष्ट गरे । सरकारका प्रमुख कानुनी सल्लाहकारले जनमतको सौदाबाजी गर्नुभन्दा पुनः जनमतमै जानु न्यायोचित हुने ठहर गरिएको बताए । 

आगामी वर्षदेखि विद्युत् किन्नुपर्दैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले आगामी वर्षदेखि विद्युत् किन्नु नपर्ने स्थिति बन्ने बताएका छन् । मंगलबार प्रधानमन्त्री ओलीले नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण सम्पन्न नेपालको पहिलो ४०० के.भी. सबस्टेसन र विश्व बैंकको ऋणमा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण सम्पन्न २२०/१३२ के.भी. ढल्केबर सवस्टेसनको उद्घाटन गर्दै आगामी वर्षदेखि विद्युत किन्नु नपर्ने स्थिति बन्ने बताएका हुन् । भारत र बंगलादेशलाई विद्युत् बेच्नका लागि गम्भीर छलफल चलाइरहेको उनकाे भनाइ छ । प्रधानमन्त्री ओलीले प्राविधिक कारण कहिलेकाहीँ विद्युत् जाने भए पनि लोडसेडिङ नभएको पनि बताए । प्राविधिक समस्या समाधानका निम्ति सबस्टेसनहरू बनिरहेको पनि जानकारी दिए । उद्योगधन्दा, कलकारखाना र व्यवसाय सञ्चालनका निम्ति आवश्यक जति विद्युत् पनि उपलब्ध गराउने उनकाे भनाइ छ ।

फाइजरले कोभिड- १९ खोपबाट एक वर्षभित्र १४ अर्ब डलर आम्दानी गर्ने

फाइजर र बायोएनटेकले विकसित गरेको कोभिड– १९ खोपको बिक्री सन् २०२१ मा १४ अर्ब डलरभन्दा बढी हुने कम्पनीले  जानकारी गराएको छ । कम्पनीले भनेको छ, ‘हालसम्मको मागअनुसार खोपको बिक्री भएमा चालू आर्थिक वर्षमा फाइजरले १४ अर्ब अमेरिकी डलर आम्दानी गर्नेछ । कम्पनीसँग अहिले पनि विभिन्न मुलुकले खोपका लागि माग गर्ने क्रम जारी छ । आपूर्ति सम्झौतामा हस्ताक्षर गरेमा फाइजरले अझ बढी आम्दानी गर्न सक्छ र यसको प्रबल सम्भावना छ ।’ फाइजरले चौथो त्रैमासिक र सन् २०२१ का लागि पूर्ण वार्षिक नाफाको पूर्वानुमान प्रतिवेदन जारी गर्दै आगामी वर्ष आफ्नो आम्दानीमा निकै ठूलो प्रगति हुने बताएको छ । फाइजरले कोभिड– १९ खोपबाहेक सन् २०२१ मा ४४.४ अर्ब अमेरिकी डलरदेखि ४६.४ अर्ब अमेरिकी डलरको बीचमा आम्दानी गर्ने प्रक्षेपण पनि गरेको छ । 

सिमेन्स इनर्जीले ग्यास र विद्युत् ऊर्जा क्षेत्रमा कार्यरत सात हजार आठ सय कर्मचारी कटौती गर्ने

जर्मनीको सिमेन्स इनर्जीले आगामी चार वर्षभित्र सात हजार आठ सय  कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । विश्वभर तीव्र रूपमा परिवर्तन भइरहेको ऊर्जा बजारका कारण रोजगारी कटौती गर्नुपरेको कम्पनीले जनाएको छ । दीर्घकालीन वित्तीय संरचनालाई चुस्त राखी कम्पनीको प्रतिस्पर्धात्मक क्षमता बढाउने उद्देश्य राखिएको कम्पनीको भनाइ छ । कम्पनीले ग्यास र विद्युत् ऊर्जा क्षेत्रमा कार्यरत कर्मचारी हटाउने तयारी गरेको छ । सिमेन्समा हाल विश्वभर करिब ९० हजार व्यक्ति कार्यरत छन् । प्रस्तावअनुसार जर्मनीमा तीन हजार, संयुक्त राज्य अमेरिकामा एक हजार सात सय र अन्य स्थानमा कार्यरत तीन हजार एक सय व्यक्ति रोजगारी कटौतीमा पर्नेछन् । सन् २०२५ को वित्तीय वर्षबाट कटौतीमा पर्ने कर्मचारीहरूमध्ये मुख्यगरी व्यवस्थापन, प्रशासन र बिक्रीतर्फका रहेका छन् ।

काठमाडौंं महानगरपालिका भन्छ– कमलपोखरी निर्माणको विरोध गर्नुपर्ने कारण छैन

काठमाडौं महानगरपालिकाले कमलपोखरी निर्माणकार्य गुरुयोजनाअनुरुप नै भएकाले विरोध गर्नुपर्ने कारण नभएको बताएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पत्रकारसँग मंगलबार कुरा गर्दै कमलपोखरीको संरक्षण गर्न गुरुयोजना बनाएर निर्माणकार्य गरिरहेको र कमलपोखरीको जग्गामा अनधिकृत रूपमा बनाइएको स्पोर्टस् क्लब र राधेराधेको भवन हटाएकाले त्यसको विरोध गर्नुपर्ने कारण नभएको बताएका हुन् । उक्त भवनहरू नक्सापास गरेर स्वीकृति नलिई बनाइएको पनि उनले बताए । कमलपोखरीको जग्गामा बसिरहेका नेपाल प्रहरी र ट्राफिक प्रहरी भने काठमाडौं महानगरपालिको अनुरोधमा छोडेको उनको भनाइ छ । स्पोर्टस् क्लब र राधेराधेको भवन अनधिकृत रूपमा निर्माण भएको सूचना तथा प्रतिवेदन महानगरपालिकाले प्राप्त गरेपछि त्यहाँबाट उक्त भवन हटाइएको ज्ञवालीले बताए ।

सुक्खा वैशाखसम्मै लम्बिने, गर्मी अझ बढ्ने

यो वर्ष हिउँदबाटै सुरु भएको सुक्खा वैशाखसम्मै लम्बिने देखिएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी १७ वैशाखसम्म पर्याप्त पानी नपर्ने प्रक्षेपण गरेको छ । हिउँदे वर्षा नहुने भएपछि तापक्रमसमेत औसतभन्दा बढी पुग्ने मौसमविद्हरूको भनाइ छ । ‘पूर्वी प्रशान्त महासागरमा देखिएको लालिना अझै लम्बिने र त्यसले वर्षा पनि कम हुने भएकाले तापक्रम पनि औसतभन्दा बढी रहने देखिन्छ,’ जल तथा मौसम विज्ञान विभाग हावापानी महाशाखाका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले भनिन् । विभागले नेपालसहित १२ वटा मुख्य केन्द्रको आगामी तीन महिनाको वर्षा र तापमान आकलन गर्दा यस अवधिमा औसत तापमान सरदरभन्दा बढी हुने सम्भावना ६०–८० प्रतिशत छ । यसैगरी, यो अवधिमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४०–६० प्रतिशत मात्र छ । यद्यपि, सुदूरपश्चिम प्रदेशको उत्तरी क्षेत्रमा वर्षाको सम्भावना देखिएको उसले जनाएको छ ।  

मोबाइल फोनबाट निस्कने रेडिएसनको असर कहाँ–कहाँ ?

मोबाइलबाट निस्कने विकिरण (रेडियसन) स्वास्थ्यका लागि हानिकारक हुने सबैलाई ज्ञान छ । तर, बाध्यता वा रहरले मोबाइललगायत ग्याजेटमा घन्टौँ बिताउनेहरू धेरै छन् । अझ कोरोना महामारीपछिको लकडाउन अवधि र वर्क फ्रम होमले मोबाइल र अन्य इलेक्ट्रोनिक ग्याजेटहरूलाई अभिन्न सामग्री बनाइदिएको छ । यो डिभाइसले कार्यशैलीमा त परिवर्तन ल्याइदिएको छ, तर सँगै यस्ता डिभाइसबाट निस्कने विकिरणले स्वास्थ्यमा पनि गम्भीर असर परिरहेको अध्ययनहरूले देखाएका छन् ।