Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ माघ २० मंगलबार ०२:०१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कक्षा १२ को नतिजा : ४७ विद्यार्थीले ल्याए जिपिए चार

Read Time : > 2 मिनेट
२०७७ माघ २० मंगलबार ०२:०१:००

०७७ को कक्षा १२ को परीक्षामा अहिलेसम्मकै धेरै ४७ विद्यार्थीले जिपिए ४ ल्याएका छन् । अघिल्लो वर्ष जिपिए ४ ल्याउने विद्यार्थीको संख्या शून्य थियो । यस वर्ष आन्तरिक मूल्यांकन, होम सेन्टरलगायतका कारण विद्यार्थीको समग्र नतिजामा धेरै सुधार देखिएको हो । 

उच्चस्तरको जिपिए ल्याउने विद्यार्थीको संख्या अघिल्लो वर्षभन्दा दोब्बर छ । अघिल्लो वर्ष सबैभन्दा उच्च जिपिए ३.६१ देखि ४ ल्याउनेको संख्या तीन हजार ६७ थियो । यो वर्ष जिपिए ३.६१ देखि ४.० ल्याउनेको संख्या ६ हजार नौ सय १६ छ । 

राष्ट्रय परीक्षा बोर्डले परीक्षा लिएको दुई महिनापछि सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले यस वर्षको नतिजा सार्वजनिक गर्न निकै कठिन भएको बताए । ४० प्रतिशत आफैँले लिएको परीक्षा, आन्तरिक मूल्यांकन, प्रयोगात्मक नम्बर तथा कक्षा ११ को ४० प्रतिशत जोड्नुपरेको र विद्यालयले लापरबाही गरेका कारण नतिजा सार्वजनिक गर्न कठिन भएको उनको भनाई छ । 

बोर्डले यो वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णांकको मात्र परीक्षा लिएको थियो । त्यस्तै,  ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकन गरिएको छ । कोभिड–१९ का कारण पूर्णांक र समय घटाएर परीक्षा गरिएको थियो । परीक्षाका लागि देशभरका चार हजार एक सय पाँच केन्द्र तोकिएका थिए । सबै विद्यालयमा होमसेन्टर कायम भएको थियो । 

साढे ११ हजार विद्यार्थीको नतिजा रोकियो

मुल्यांकनमा भएको लापरबाहीका कारण कक्षा १२ को परीक्षा दिएको ११ हजार चार सय ९० विद्यार्थीको नतिजा रोकिएको छ । विद्यालयहरूले आन्तरिक मूल्यांकन नपठाएका कारण पाँच हजार एक सय १७ र कक्षा ११ को नतिजा नआएका कारण बाँकी परिक्षार्थीको नतिजा स्थगित भएको छ ।  

कक्षा १२ को परीक्षामा सहभागी चार लाख ३३ हजार दुई ७१ विद्यार्थीमध्ये ११ हजार चार सय ९० को परीक्षा स्थगित भएको हो । नियमिततर्फ उच्च जिपिए (जिपिए ३.२१ देखि ४.०) ल्याउने ६ हजार नौ सय १६ छन् । नियमिततर्फ ६ हजार तीन सय २०, ग्रेडवृद्धितर्फ दुई हजार नौ सय ८२ र आंशिकतर्फ दुई हजार एक सय ८८ परीक्षार्थीको नतिजा स्थगित भएको हो । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा उपनियन्त्रक कृष्णप्रसाद घिमिरेका अनुसार आन्तरिक मूल्यांकन नपठाएका कारण पाँच हजार एक सय १७ परीक्षार्थीको नतिजा स्थगित भएको छ । ०७७ को परीक्षामा नियमिततर्फ तीन लाख १० हजार तीन सय १९, ग्रेडवृद्धितर्फ ९१ हजार नौ सय र आंशिकतर्फ ३१ हजार ५५ विद्यार्थी सहभागी भएका थिए । 

धेरै वर्षदेखि अड्किएका आंशिकलाई राहत

धेरै वर्षदेखि आंशिक परीक्षा दिएका विद्यार्थीलाई यसपटकको परीक्षाले राहत दिएको छ । आंशिकतर्फ ३१ हजार ५५ विद्यार्थीले परीक्षा दिएकोमा २५ हजार दुई सय ८८ अर्थात् ८१.४३ प्रतिशत उत्तीर्ण भएका छन् । अक्षरांकन पद्धति लागू हुनुभन्दा अघिका विद्यार्थीले राहत पाएका हुन् ।

 

यसकारण सुधार देखियो नतिजा : प्रा.डा.चन्द्रमणि पौडेल, अध्यक्ष, राष्ट्रिय परीक्षा बोर्ड

अघिल्लो वर्षको भन्दा यो वर्ष राम्रो नतिजा हुनुमा केही कारण छन् । तोकिएको समयमा परीक्षा नहुँदा विद्यार्थीले ७÷८ महिना बढी समय पढ्न पाए । अर्को कारण विद्यालयले २० प्रतिशत आन्तरिक मूल्यांकन गर्न पाउने व्यवस्था भयो, आफ्ना विद्यार्थीलाई सकेसम्म राम्रो नम्बर दिए । त्यसैगरी, ४० प्रतिशतको परीक्षा होमसेन्टरमा भएको र उत्तरपुस्तिकासमेत त्यहीँ परीक्षण हुँदा केही फरक भयो । परीक्षा होम सेन्टर र परीक्षणसमेत त्यही विद्यालयमा भए पनि बोर्डमा संपरीक्षण भएको छ । पुनःपरीक्षण पनि भएकाले कक्षा १२ को नतिजा गुणस्तरीय छ ।