१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७७ माघ १३ मंगलबार ०६:११:००
Read Time : > 7 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

वैदेशिक रोजगारीको पीडा शृंखलाबद्ध रूपमा अचानक मृत्यु

Read Time : > 7 मिनेट
नयाँ पत्रिका
२०७७ माघ १३ मंगलबार ०६:११:००

वैदेशिक रोजगारीमा रहेका नेपाली युवा श्रमिकको अपत्यारिलो मृत्युले परिवारजनमा त पीडा खेप्न बाध्य पारिरहेको छ नै विदेशमा रहेका अन्य श्रमिकका परिवारलाई पनि त्रासमा पारेको छ

नेपाल एयरलाइन्सको बाइडबडीले १० माघमा मलेसियाबाट १८ जना नेपाली श्रमिकको शव र एकजनाको अस्तु लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा उनीहरूका आफन्तजन भने पीडासँगै दुविधामा थिए । मृत्यु भएको खबर आएको महिनौ बितिसक्दा पनि पत्याउन सकिराखेका थिएनन् । किनकि, अधिकांशको हिँड्दाहिँड्दै, कुराकानी गर्दागर्दै, बोल्दाबोल्दै तथा सुतेकै अवस्थामा ज्यान गएको थियो । 

शव नदेख्दासम्म यस्तै पीडामिश्रित दुविधामा थिए, ताप्लेजुङको मेरिङदेन–२ सान्थाक्क्राका ३० वर्षीय धनबहादुर विकका आफन्तजन । आमाको मृत्यु हुँदा चार वर्षमा घर फर्केका उनी दुई वर्षअघि फेरि मलेसिया लागेका थिए । मलेसिया पुगेपछि खसै परिवारसँगको सम्पर्कमा थिएनन् । परिवारजनले मलेसियामा रहेका गाउँलेहरूबाट सन्चै रहेको र काम गरिरहेको खबर पाउने गरेका थिए । 

तर, ६ पुस साँझ मलेसियाबाट फोन आयो, ‘धनबहादुरको मृत्यु भयो ।’ उनका परिवारजनले पत्याउनै सकेनन् । ‘एउटै फोनले हाम्रो त होस उडायो । सुरुमा त पत्यार नै लागेन,’ उनका दाइ नकुल भन्छन् । घरमा रुवाबासी त चल्यो, तैपनि धनबहादुर जिउँदै पो छ कि भन्ने लागिरहने गरेको उनी बताउँछन् । एक महिना यस्तै दोधारमा बित्यो । १० माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनबहादुरको शव बुझेपछि भने पत्याउन करै लागेको नकुल सुनाउँछन् । ‘यस्तै रहेछ, नपत्याएर के गर्नु ? बाकसमा थियो,’ उनी भन्छन् । काठमाडौंबाट धनबहादुरको शव ताप्लेजुङ लगेर दाहसंस्कार गरिसकेका छन्, तैपनि उनको मृत्यु कसरी भयो भन्ने थाहा पाएका छैनन् । 

झन् पाँचथरको कुम्मायक गाउँपालिका–३ का ३६ वर्षीय लक्ष्मीकुमार माझीका परिवारलाई त दाहसंस्कार गरेपछि पनि मृत्यु भएको पत्याउन गाह्रो भइरहेको छ । बिदाको दिन परिवारसँगै लामै भलाकुसरी गर्ने उनी कुनै बिरामी पनि थिएनन्, हृष्टपुष्ट थिए । ‘एकाएक सुतिरहेकै अवस्थामा मृत्यु भयो भन्ने खबर आयो,’ उनका बुबा नरबहादुुरले भने । लक्ष्मीको २६ मंसिरमा मृत्यु भएको थियो । 

उनी नौ वर्षदेखि मलेसियामा थिए । ६ वर्षअघि अब नेपालमै काम गर्छु भनेर फर्किका थिए । तर, केही गरी पनि घरपरिवार पाल्न सकिने अवस्था नभएपछि उनी रोजगारीका लागि पुनः मलेसिया लागेका थिए । 

मलेसियाबाट आफन्तजले नै मृत्युको खबर सुनाएका भए पनि परिवारजनलाई पत्यार लागेको थिएन । १० माघमा १८ जनासँगै उनको पनि शव आएपछि भने पत्याउन कर लागेको उनका बुबा नरबहादुर बताउँछन् । ‘केही दुःख बिमारी नभएको मान्छे कसरी सुतेको सुत्यै रहन्छ ?’ वृद्ध बुबा आफैँलाई प्रश्न गर्छन् । 

पाँचथरकै तुम्बेवा गाउँपालिका–२ का ३२ वर्षीय सुन्दर राईको परिवारलाई त सपनाजस्तै लागिरहेको छ । सधैँझैँ २१ मंसिरका दिन पनि सुन्दर ड्युटी सकेर कोठामा फर्केका थिए । लुगा फुकाल्दा फुकाल्दै फोन आयो । उनी लुगा फुकालेर फोनमा कुराकानी गर्न थाले । ‘फोनमा कुराकानी गर्दागर्दै ढलेछ, ढलेको ढल्यै भयो,’ उनका दाइ राजेन्द्र भन्छन् । 

सुन्दर नौ वर्षदेखि मलेसियामा थिए । सुरुको तीन वर्ष मलेसियामा बिताएपछि उनलाई लागेको थियो, अब नेपालमै काम गर्छु । तर, गाउँ फर्केपछि रोजगारी मिलेन । परिवार पाल्न सकस भयो । फेरि मलेसिया हिँडे । पछिल्लो ६ वर्ष राम्रैसँग काम गरिरहेका उनी २१ मंसिरमा भने फोनमा कुराकानी गर्दागर्दै ढले । उनको मृत्युको खबर आएको तीन महिनासम्म पत्याउन नसकिएको राजेन्द्र बताउँछन् । ‘उसको लाश देखेपछि त पत्याउनै प¥यो,’ राजेन्द्र प्रश्न गर्छन्, ‘केही बिरामी नभएको मान्छे बोल्दाबोल्दै कसरी बित्यो होला ?’

यस्तै प्रश्न बाँकेको जानकी गाउँपालिका–६ डिठापुरका ४२ वर्षीय तीर्थराम लोनियाकी श्रीमतीको पनि छ । तीर्थरामकी पत्नी संगीतादेवीले ५ मंसिर बिहान फोनमा कुराकानी गरेकी थिइन् । ‘बिहान ६ बजे फोनमा कुराकानी भएको थियो । दिउँसो १२ बजे खाना खानेवेला राम्रोसँग कुराकानी गरौँला भनेर फोन राख्नुभयो,’ संगीतादेवी त्यो दिनको छटपटी सुनाउँछिन्, ‘फोन आउने आशमा मोबाइलको डाटा अन गरेर राखेँ, तर उहाँको फोन आएन । अर्को दिन बेलुकी उहाँको मृत्यु भएको भनेर फोन आयो ।’ 

उनी तीर्थरामको मृत्यु खबर पत्याउन सकेकी थिइनन् । सधैँ बिहान, बेलुका र राति फोनमा कुराकानी गर्ने तीर्थराम केही बिरामी पनि थिएनन् । ‘मृत अवस्थामा भेटिएछ, उनका साथीहरू कसैले मारेर फाले कि भन्छन्,’ तीर्थरामका भाइ विजय भन्छन् । 

दाइको शव आउने खबर पाएपछि उनी ९ माघमै काठमाडौं पुगेका थिए । १० गते तीर्थको शव बुझेको खबर सुनाएपछि संगीतादेवी बेहोस भइन् । उनको दाहसंस्कार गरिसकिएको छ । तर, अझै पनि संगीतादेवी सपनाजस्तै लागिरहेको बताउँछिन् । आठ वर्षदेखि मलेसियामा फूलबारीमा काम गर्दै आएका उनी दुई–तीन वर्षमा घर आउँथे । शान्त स्वभावका उनी कसैसँगै झैझगडा पनि गर्दैनथे । त्यसैले कसैले त्यतिकै किन मार्‍यो होला भन्ने प्रश्न विजयको मनमा उब्जिरहेको छ । 

अझै पनि रनभुल्लमा छिन् नुवाकोटको किस्पाङ–३ काहुलेका २८ वर्षीय मिलन लामा तामाङकी पन्ती प्रेममाया । उनले २० मंसिर साँझ मिलनसँग फोनमा कुराकानी गरेकी थिइन् । ‘कुरा गर्दागर्दै अर्को साथीको फोन आयो । भोलि बिहानैदेखि ड्युटी छ । खाना बनाएर खानु छ, भनेर फोन राख्नुभएको थियो,’ प्रेममाया भन्छिन्, ‘पुस १ गते फोन आएन । पुस २ गते फोन गर्दा उहाँका साथीहरूले दुई दिनअघि नै मृत्यु भएको जानकारी दिए ।’

मिलनको मृत्यु खबरले त प्रेममायालाई पीडा दिएकै थियो, झन् उनको मृत्यु कारण सुन्दा पो चकित परिन् । ‘उहाँले आत्महत्या गरेको भनेका छन्,’ उनी भन्छिन्, ‘भिसा थप्ने प्रक्रिया पूरा गरेर माघमा घर आउँछु भनेका थिए । राम्रैसँग कुराकानी गरिरहेका मान्छेले कसरी आत्महत्या गरे होलान् !’ हुन पनि मिलन मलेसिया पुगेको तीन वर्ष भएको थियो । बिस्कुट उद्योगमा काम गरिरहेका उनी माघमा घर आउने तयारीमा थिए । 

मिलनका दाइ सुरेन्द्र पनि उनले आत्महत्या गर्‍यो होला भन्ने पत्याउन सकिराखेका छैनन् । ‘मिलनको पोस्टमार्टम रिपोर्टमा सुसाइड भनेर लेखिएको छ,’ सुरेन्द्र भन्छन्, ‘घरपरिवारसँगै राम्रै कुराकानी भइरहेको थियो । यता झैझगडा केही थिएन । आत्महत्या गर्नुपर्ने केही कारण देख्दिन ।’ मृत्यु भएको दुई महिनापछि १० माघमा नुवाकोटस्थित त्रिशूलीनजिकै दाहसंस्कार गरेर परम्पराअनुसार हरेक दिन गुम्बामा साँझबत्ती बालिरहेका छन् । तर पनि मिलनको मृत्यु दाइ सुरेन्द्रलाई पत्याउनै गाह्रो लागिरहेको छ । 

१० माघमै मलेसियाबाट शव ल्याएका पर्साको वीरगन्ज महानगरपालिका–२० हरपतगंजका ३२ वर्षीय ओजिर खान पठानको परिवार पनि यस्तै पीडामा छ । पाँच वर्षअघि ऋण निकालेर मलेसिया गएका उनी प्लास्टिक कम्पनीमा काम गर्दै आएका थिए । ९ पुसमा काम गरेर कोठामा फर्केका उनी एकाएक बेहोस भए । ‘बेहोस भएपछि अस्पताल लगिएछ । अस्पताल पुगेको केहीबेरमै ज्यान गयो भनेका छन्,’ उनकी पत्नी आयसा खातुन सुनाउँछिन् । उनको मृत्यु खबर सुनेदेखि आयसा घरमा आउनेजतिलाई प्रश्न गर्छिन्, ‘आराम गर्दागर्दै कसरी मर्छन् ?’

ओजिरकी पत्नी मात्रै होइन, भिनाजु अफताब मियाँ पनि पत्याउन सकिराखेका छैनन् । कोठामा लडेर मृत्यु भएको भन्ने खबर उनीहरूलाई विश्वास लागिरहेको छैन । ‘खाना खाएर आराम गर्न बसेको अवस्थामा अचानक कोठामा लडेको अवस्थामा भेटिएको भनेका छन् । यो कसरी हुन्छ ?’ उनका भिनाजु अफताब मियाँ प्रश्न गर्छन् । 

रौतहटको बृन्दावन नगरपालिका–४ का ३९ वर्र्षीय वीरेन्द्र राउत कुर्मीकी पत्नी सुखियादेवी त प्रश्न गर्न पनि सकिराखेकी छैनन् । सकुन् पनि कसरी ? ‘राति १२ बजेसम्म उहाँसँग फोनमा कुराकानी गरेकी थिएँ । राम्रै हुनुहुन्थ्यो, राम्रै कुराकानी भएको थियो,’ सुखिया रुँदै भन्छिन्, ‘बिहान बिउझेकी थिइन, ४ बजे नै उहाँको साथीको फोन आयो । उहाँको मृत्यु भयो भनेर सुनाए ।’ 

१० माघमा उनको पनि शव नेपाल ल्याइएको थियो । परिवारजनले काठमाडौंबाट रौतहट लगेर अन्त्येष्टि गरेका छन् । तर, सुखियादेवी अझै पत्याउनै गाह्रो भइरहेको छ । उनी घरीघरी मुर्छा पर्छिन् र वीरेन्द्रकै बारेमा सोध्ने गरेकी छिन् । वीरेन्द्र दुई वर्षअघि मलेसिया गएका थिए । सेलर मिलमा काम गर्थे । घरमा पनि पैसा पठाउँदै आएका थिए । उनलाई कुनै बिसन्चो पनि थिएन । एकाएक मृत्युभएको खबरले पत्याउन मुस्किल भएको उनका ६८ वर्षीय बाबु महेश सुनाउँछन् । उनी आफूलाई मुस्किलले सम्झाइरहेका छन्, तर वीरेन्द्रकी वृद्ध आमालाई सम्झाउन सकिराखेका छैनन् । वीरेन्द्रकी आमा एक्लै बसेर रुने मात्रै गरेकी छिन् । ‘वीरेन्द्रलाई के भएको हो भनेर सोध्छिन्, मैले केही जवाफ दिन सकिराखेको छैन,’ वृद्ध महेश भन्छन् । 

त्यही दिन शव ल्याइएका सिन्धुलीको तीनपाटन गाउँपालिका–१ कुवान्द्रेका २८ वर्षीय सूर्यबहादुर तामाङका भाइ कुमार पनि आमाबुबालाई केही भन्न सकिराखेका छैनन् । ‘आमाबुबाले दाइको कसरी मृत्यु भयो भन्छन्, मसँग पनि ठ्याक्कै उत्तर छैन,’ कुमार भन्छन् । 

तीन वर्षअघि मलेसिया गएका सूर्यबहादुर गार्मेन्टमा काम गर्दै आएका थिए । २८ मंसिर दिउँसो पनि उनले काम गरेका थिए । साँझ कोठामा फर्केका उनी सन्चै थिए । ‘खाना खाएर सुत्नु भएछ, बिहान बिउझाउँदा मृत भेटिनुभएछ,’ कुमारले सुनाए । उनका साथीभाइले मृत्यु भएको खबर सुनाएपछि विश्वासै नलागेको कुमार बताउँछन् । पोस्टमार्टममा भने सूर्यबहादुरको हृदयघातबाट मृत्यु भएको उल्लेख गरिएको छ । वृद्ध उमेरका आमाबुबालाई त्यही सम्झाउन मुस्किल भइरहेको उनी बताउँछन् । 

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ का अजय भण्डारीको शव बुझेर दाहासंस्कार गरिसक्दा पनि परिवारजनलाई विश्वास गर्न गाह्रो भइरहेको छ । ६ वर्षअघि मलेसिया गएका अजय दैनिक घरमा फोन गर्थे । २५ मंसिर ०७५ को साँझ पनि घरमा फोन गरेर लामो कुराकानी गरेका थिए । ‘अर्को दिन फोन गरेनन्, उनका साथीभाइलाई फोन गर्दा मृत्यु भएको सुनाए,’ अजयका भाइ गोपी भन्छन् । 

मलेसिया गएको केही वर्षदेखि उनको टाउको दुख्ने गरेको थियो । उनले सामान्य दुखाइ सम्झेर औषधि खाने गरेका थिए । ‘ब्रेन ट्युमर भएको भनेका छन् । हो कि होइन, थाहा छैन,’ गोपी भन्छन् । 

मृत्यु भएको खबर आएको दुई वर्षसम्म पनि उनका आमाबुबालाई पत्यार लागेको थिएन । जब उनको शव ल्याइँदै छ भन्ने खबर पाए, आफैँ काठमाडौं आए । १० माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छोराको शव भएको बाकस बुझ्नेबित्तिकै बेहोस भए । ‘आमाबुबा बेहोस भएपछि दाइको शव घर लग्न सकिएन । यतै पशुपति आर्यघाटमा दाहसंस्कार गरेँ,’ उनका भाइ गोपी भन्छन् । तीन दिन बितिसक्दा पनि आमाबुबा घरीघरी बेहोस हुने गरेको उनी बताउँछन् । 

झापाको बिर्तामोड–२ चारपानेका ४२ वर्षीय लीलाबहादुर खड्काको परिवारको अवस्था पनि उस्तै छ । उनीहरूलाई पनि लीलाबहादुरको मृत्यु पत्याउन मुस्किल भइरहेको छ । २३ मंसिरमा काम गरेर उनी कोठामा फर्किएका थिए । ‘बिहान काममा जाने वेलामा साथीहरूले बोलाउँदा नउठेपछि मृत्यु भएको थाहा पाएछन्,’ उनकी पत्नी जीतकुमारी भन्छिन्, ‘दुई–तीन दिनअघि फोनमा कुराकानी भएको थियो । ठीकै थिए, कसरी त्यस्तो भयो ? विश्वासै लागिरहेको छैन ।’

तीन वर्षदेखि मलेसियामा रहेका लीलाबहादुरले केही दिनअघि तलब बुझेको खबरसमेत सुनाएका थिए । ‘लकडाउनले गर्दा आउन पाइन । केही दिनमाआउँछु भन्नुभएको थियो । तर, यस्तो खबर आयो,’ जीतकुमारी भन्छिन् । 

मलेसियामै तीन वर्षदेखि काम गर्दै आएका झापाकै अर्जुनधारा–६ का ३७ वर्षीय विष्णुकुमार चौधरी सामान्य छाती पोलेपछि अस्पताल गएका थिए । ‘एक दिन छाती पोल्यो भनेर रातभरि सुत्नुभएन । भोलिपल्ट बिहानै उठेर अर्जेन्ट काम थियो, त्यो काम पनि सक्नुभयो । त्यसपछि नजिकैको क्लिनिकमा जानुभएको त्यहाँ हुँदैन भनेर ठूलो अस्पताल जानुभयो,’ उनकी पत्नी हेमकुमारी भन्छिन्, ‘अस्पतालले पेट खराप छ साफ गर्नुपर्छ भन्यो । फर्कने चान्स आधा मात्र हुन्छ भनेर कागजमा सही गर्न लगाए । ६ घन्टामा होस आउँछ भनेका थिए । तर, होस नआई उहाँ जानुभयो ।’ विष्णुकुमारले पत्नी हेमकुमारीलाई पनि सँगै लगेका थिए । श्रीमान्को मृत्यु भएपछि एक्लै घर फर्केकी उनी १० माघमा विष्णुकुमारको शव आउँदा अचेत भइन् । 

धनकुटाको चौबिसे गाउँपालिका–३ सोगुमका ४३ वर्षीय भीमबहादुर मगर तीन महिनाअघि घर आउने तयारीमा थिए । ११ वर्षदेखि मलेसियामा रहेका उनको भिसा सकिएको थियो । ‘सामान्य बिरामी छु भन्नुभएको थियो, के बिरामी भन्ने थाहा थिएन,’ उनका छोरा मिलन भन्छन्, ‘मंसिर २७ गते मृत्यु भएको खबर आयो ।’ 

१० माघमा उनको शव दाहसंस्कार त गरेका छन्, तर परिवारजनलाई उनको मृत्यु के कारणले भयो भन्ने थाहा छैन । मलेसियाबाट शव ल्याइएको १८ जनाकै अवस्था उस्ताउस्तै छ । केहीको मृत्यु कारण खुले पनि धेरैजसो अचानक ज्यान गुमाउन पुगेका छन् । जसले परिवारजनलाई मृत्यु भएको पत्याउन पनि गाह्रो बनाइरहेको छ । 

मलेसियामा किन हुन्छ धेरै नेपाली श्रमिकको मृत्यु ?

नेपाल वायुसेवा निगमको वाइडबडी जहाज १० माघमा मलेसियाबाट एकैपटक १८ शव बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्‍यो । प्रायः हरेक दिन विदेशबाट नेपाली श्रमिकका शव आउने गर्छन् । 

१० माघमा यस्तै विभिन्न कारणले मृत्यु भएका १८ जना श्रमिकको शव नेपाल ल्याइएको हो । अझै पनि मलेसियामा ५० भन्दा बढी शव ल्याउन बाँकी रहेको जनाइएको छ ।

मलेसियालगायत विदेशमा काम गर्न गएका नेपाली युवा श्रमिकको किन यसरी अचानक मृत्यु हुन्छ ? यसबारे खासै अध्ययन भएको छैन । तैपनि नेपाली श्रमिको मृत्युको मृख्य कारणमा मुटु रोग, फोक्सोमा पानी जम्ने, कलेजो तथा मिर्गौलाको समस्या रहेको मलेसियास्थित नेपाली दूतावासका श्रम सल्लाहाकार दीपक ढकाल बताउँछन् । ‘मलेसियामा धेरै बस्नेहरू काम धेरै गर्ने, पानी नखाने, तर मादक पदार्थ धेरै सेवन गर्ने गरेकाले मृत्यु हुने गरेको पाइएको छ,’ ढकाल भन्छन् । 

अघिल्लो दिनसम्म राम्रै अवस्थामा रहेका दाजुभाइहरू पनि भोलिपल्ट मृत्यु भएको खबर आउने गरेको ढकाल बताउँछन् । धेरै वर्षसम्म बसेका, अवैधानिक रूपमा बसिरहेका श्रमिकमा अझ धेरै समस्या आउने गरेको पाइएको उनको भनाइ छ । ‘अवैधानिक बस्नेहरूलाई यहाँका सरकारी अस्पतालले भर्ना नै लिँदैन, विभिन्न प्रक्रिया पूरा गर्दागर्दै कतिको मृत्यु हुने गरेको छ,’ ढकाल भन्छन् । केहीको मृत्यु आइस भन्ने लागुऔषधको सेवनका कारण पनि हुने गरेको पाइएको उनी बताउँछन् । 

१० माघमा यस्तै विभिन्न कारणले मृत्यु भएका १८ जना श्रमिकको शव नेपाल ल्याइएको हो । अझै पनि मलेसियामा ५० भन्दा बढी शव ल्याउन बाँकी रहेको जनाएको छ । गत वर्ष मलेसियामा दुई सय ७५ नेपाली कामदारको मृत्यु भएको थियो ।  

काठमाडाैंमा केदार दाहाल, ताप्लेजुङबाट केशवप्रसाद भट्टराई, पाँचथरबाट सरोज शर्मा, बाँकेबाट विश्वराज पछल्डङ्ग्या, नुवाकोटबाट नवदीप अजनबी, वीरगन्जबाट तिवारी यादव, रौतहटबाट अशोक पहाडी, सिन्धुलीबाट विदुर पौडेल, सिन्धुपाल्चोकबाट रामकृष्ण थापा, झापाबाट चिरञ्जीवी घिमिरे र धनकुटाबाट सन्तोष रुचाल

तस्बिरः दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

याे पनि पढ्नुहाेस् : मलेसियाबाट १७ नेपालीको शव र पाँच अस्तु स्वदेश ल्याइयो (फोटोफिचर)

मलेसियामा मृत्यु भएका १८ जनाको शव एकसाथ काठमाडौंमा