१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ माघ १२ सोमबार १४:५६:००
Read Time : > 2 मिनेट
फिचर

ब्रान्डेड घडीका साैखिन बाइडेन : शपथग्रहणमा लगाएको घडीको मूल्य आठ लाख 

Read Time : > 2 मिनेट
२०७७ माघ १२ सोमबार १४:५६:००

अमेरिकाका ४६औँ राष्ट्रपति जो बाइडेनलाई अति नै सामान्य जीवनशैली भएका राष्ट्रपतिका रूपमा चित्रित गरिएको छ । तर, आममानिसले बनाएको धारणजस्तै उनको जीवनशैली र लवाइखवाई भने सामान्य छैन ।

२० जनवरीमा क्यापिटल हिलस्थित शपथग्रहण कार्यक्रममा उनले लगाएको घडीले अहिले विश्वकै ध्यान तानेको छ । शपथग्रहणको प्रत्यक्ष प्रशारण गरिरहेका मिडियाले उनले बायाँ हातमा लगाएको एउटा घडीलाई पटकपटक फोकस गरिरहेका थिए । यो घडी सामान्य थिएन । यो घडीको नाम ‘रोलेक्स डेटजस्ट’ हो । यो घडीमा के छ र मिडियाहरूले यति धेरै फोकस गरे ?

यो घडीको मूल्य सात हजार अमेरिकन डलर पर्छ । नेपाली रुपैयाँअनुसार यसको मूल्य सात लाख ९८ हजार पर्छ । यो घडी रोलेक्स स्टेनलेसले बनेको छ । जसको डायल पूरै निलो छ । न्युयोर्क टाइम्सका अनुसार पछिल्लो केही दशकदेखि अमेरिकामा जो–जो राष्ट्रपति भए उनीहरू सबैले यस्तै निकै महँगा घडी लगाउने गरेका छन् । 

अमेरिकाका ३४औँ राष्ट्रपति ड्वीन डी आइजेनहावर र ३६औँ राष्ट्रपति लिन्डन बी जोन्सनले ह्वाइटहाउसको ओभल अफिसमा सुनको रोलेक्स घडी लगाएको चित्र राख्न लगाएका थिए । न्युयोर्क टाइम्सको भनाइ मान्ने हो भने ‘सुनको रोलेक्स घडी’ मूलतः राष्ट्रपतिकै लागि बनाइएको थियो । राष्ट्रपति मात्र होइन, विश्वका शक्तिशाली नेताहरूले पनि यस्तै महँगा घडी लगाउने गरेका उदाहरण छन् । राजनीतिक विश्लेषकहरूका अनुसार पनि रोलेक्स डेटजस्ट र गोल्ड रोलेक्स सर्वसाधारणको पहुँच भन्दा निकै बाहिर हुन्छ । यस्तै बाइडेन पनि बाहिर सामान्यजस्तो देखिए पनि वास्तवमा त्यस्ता नभएको उनीरूको भनाइ छ । 

क्लिन्टन र बुसका सस्तो ब्रान्ड
अमेरिकाका पूर्वराष्ट्रपति ड्वीन डी, लिन्डन बी जोन्सन, बाइडेन तथा ट्रम्पका महँगा घडीको चर्चा गरिरहँदा पूर्वराष्ट्रपति बिल क्लिन्टन र जर्ज डब्ल्यु बुस सस्तो घडी लगाउन मन पराउँथे । यी दुवैले शपथग्रहणमा लगाएका घडी ब्रान्डेड भए पनि निकै सस्ता थियो । बिल क्लिन्टनले ‘आस्ट्रोक्याटिक’ जलपको घडी लगाएका थिए । सन् १९९३ मा वासिङ्टन पोस्टले तत्कालीन राष्ट्रपति क्लिन्टनले ‘टाइमेक्स आइरोनम्यान’ कम्पनीको घडी लगाएको जनाएको थियो । यो प्लास्टिक डिजिटल घडी हो । ‘क्लिन्टनले लगाएको टाइमेक्स आइरोन प्लास्टिक डिजिटलले बनेको थियो, यो निकै पातलो थियो,’ वासिङ्टन पोस्ट लेख्छ, ‘निकै सामान्य भए पनि यो अति नै सुन्दर थियो ।’

क्लिन्टनपछि राष्ट्रपति बनेका जर्ज डब्ल्यु बुसले ‘टाइमेक्स इन्डिग्लो’ घडी लगाएका थिए । त्यसवेला यो घडीको मार्केट डाउन थियो । त्यही समयमै बुसले टाइमेक्स घडी लगाएर मार्केट उकास्ने प्रयास गरे । 

एउटा रोचक र विश्वास नलाग्ने पक्ष के छ भने पूर्वराष्ट्रपति बुसले शपथग्रहणको वेला लगाएको घडीको मूल्य तत्काल केवल ५० डलर मात्र थियो । अझ अमेरिकी बजारमा यो घडी ५० डलरभन्दा मुनिमा पनि पाइन्थ्यो । 

लगातार दुईपटक राष्ट्रपति बनेका बाराक ओबामा ह्वाइटहाउसको विरासत पछ्याउने व्यक्तित्वमा पर्दैनन् । राष्ट्रपति हुँदा उनले लगाएको घडीको नाम ‘सिनोआ’ हो । यो घडी अमेरिकाको क्यालिफोर्नियास्थित डेट्रोइट कम्पनीले बनाएको थियो । त्यसवेला यो घडीको बजार मूल्य केवल पाँच सय डलर मात्र थियो । 

महँगा घडीका सौखिन ट्रम्प
निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प । हुन त ट्रम्प अमेरिकाकै सफल व्यापारी पनि हुन् । उनको व्यापार विश्वको विभिन्न राष्ट्रमा फैलिएको छ । अर्बौँ डलरका मालिक ट्रम्प महँगा घडीका निकै साैखिन थिए । ट्रम्पले पेटेक फिलिपे, रोलेक्स तथा भाचेरोन कन्स्टाटिन कम्पनीका घडी लगाउँछन् । यी सबै विश्वका महँगा ब्रान्डेड घडी हुन् । अहिले एक किसिमले अमेरिकाका ४६औँ राष्ट्रपति बाइडेनले ट्रम्पकै पथ पछ्याएको विश्लेषकको आरोप छ । 

महँगा घडी लगाउने पक्षमा बाइडेनले सबैलाई पछि पारेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । बाइडेन महँगो घडीका साैखिन भएको न्युयोर्क टाइम्सले जनाएको छ । उनका सबैजसो घडी स्विस कम्पनीका छन् । ती सबै घडी स्टेनलेस स्टिलबाट बनेका छन् । रोलेक्स र ओमेगाका स्पिडमास्टर, सिमास्टर, मुनवाच, प्रोफेसनलजस्तो भेराइटिज राष्ट्रपति बाइडेनसँग छन् । यी सबै घडीका मूल्य पाँच हजारदेखि सात हजार डलरसम्म पर्छ । बाइडेनले लगाउने यी घडीहरूका विभिन्न विशेषता छन् । रोलेक्स डेटजस्ट हेर्दा क्लासिक देखिन्छ, तर यो एन्टिलेवल मोडलको हो । यस्तै उनले लगाउने सिमास्टर स्कुवा घडी डेनियल क्रेजले जेम्स ब्रान्ड सिरिजमा पनि प्रयोग गरेका थिए । मुन वाच ब्रान्ड जुन अपोलो ११ चन्द्रमामा पुग्दा एस्ट्रोनोट्सले लगाएका थिए । 

यी उदाहरणबाट के स्पष्ट हुन्छ भने संसारका सामु बाइडेनले एकदमै सामान्य व्यक्तिको छवि देखाएका छन् । तर, उनी स्विस तथा विश्वका महँगा कम्पनीका घडीका साैखिन व्यक्ति हुन् । बाइडेन एक किसिमको ‘क्लास’मा रहेको विश्लेषकहरूको भनाइ छ । ७८ वर्षीय बाइडेन हाइस्कुलका फुटबल स्टार नै थिए । यी वृद्ध राष्ट्रपति अहिले पनि आफूलाई जवान तथा फिट देखाउन लुगादेखि घडीसम्म मेन्टेन गर्छन् । आफूलाई ह्यान्डसम देखाउन आकर्षक सनग्लास लगाउँछन् । 
–द न्युयोर्क टाइम्सबाट