मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ माघ ९ शुक्रबार १५:५६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेशमा ओली पक्षसँग नमिल्न देउवालाई दबाब, प्रदेश संसदीय दलको नेतालाई काठमाडौं बोलाइयो

Read Time : > 1 मिनेट
२०७७ माघ ९ शुक्रबार १५:५६:००

प्रतिनिधिसभा विघटनपछि प्रदेश सरकारको सत्तासमीकरणलाई लिएर कांग्रेसमा छलफल जारी छ । सभापति शेरबहादुर देउवाले शुक्रबार बागमती प्रदेशको सत्तासमीकरणबारे त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूसँग छलफल गरेका छन् । तर, कुन समूहसँग सत्तासाझेदारी गर्ने भन्ने अझै टुंगो लागेको छैन । 

शुक्रबार देउवानिवास बुढानीलकण्ठमा बसेको बैठकमा केन्द्रीय समितिका पदाधिकारीसहित नेताहरू प्रकाशमान सिंह, गगन थापा, नवीन्द्रराज जोशीलगायत सहभागी थिए । सभापति देउवाले प्रदेशकै संसदीय दललाई निर्णय गर्ने अधिकार दिनुपर्ने प्रस्ताव राखेका थिए । तर, पार्टीले एउटै धारणा बनाएर जानुपर्ने नेताहरूको अडानपछि प्रदेश संसदीय दलको नेतालाई काठमाडौं बोलाएर छलफल गर्नुपर्ने र त्यसपछि आवश्यक छलफल गरेर निर्णय लिने सहमति बनेको छ । त्यसबारे छलफल गर्न कांग्रेसको बागमती प्रदेशका संसदीय दलका नेता इन्द्र बानियाँलाई काठमाडौं बोलाइएको छ । 

देउवाले बुधबार प्रदेश १ को सत्तासाझेदारीका विषयमा पनि नेताहरूसँग छलफल गरेका थिए । स्रोतका अनुसार सभापति देउवाले बागमती प्रदेशमा आफूनिकट नेता इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाएर प्रदेश १ मा ओली समूहका मुख्यमन्त्री शेरधन राईलाई सघाउने धारणा बनाउन लागेका छन् । तर, ओलीविरुद्ध आन्दोलन गरिरहेका वेला ओली समूहसँग सहकार्य गरेर सत्तामा जान नहुने भन्दै विरोध भएपछि देउवामाथि दबाब सिर्जना भएको छ । 

नेकपा विभाजनसँगै प्रचण्ड–माधव समूहले ओली समूहका मुख्यमन्त्रीहरू प्रदेश १ मा शेरधन राई र बागमती प्रदेशमा डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । तर, दुवै समूहसँग बहुमत छैन । कांग्रेसले जसलाई समर्थन गर्छ, उसको बहुमत पुग्ने अवस्था छ । वरिष्ठ नेता पौडेल समूह र नेता कृष्णप्रसाद सिटौला समूहले ओली समूहसँग सहकार्य गरेर जान नहुने अडान राखेका छन् ।

देउवाले मुख्यमन्त्रीसहितकै प्रस्ताव आएकाले ओली समूहसँग मिलेर जानुपर्ने संकेत गरेका थिए । तर, नेताहरूले प्रचण्ड–नेपाल समूहले पनि मुख्यमन्त्री दिने भनेको सुनाएपछि देउवा दबाबमा परेका छन् । ‘जसले असंवैधानिक रूपमा संसद् विघटन गरेको छ, उसैको कुशासनविरुद्ध कांग्रेस तीन वर्षदेखि विरोध गरिरहेको छ, अहिले उसैसँग मिलेर सत्तासाझेदारी गर्ने कुरा सम्भव छैन,’ बैठकपछि एक नेताले भने ।