मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ७ बुधबार ०९:०५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नागरिक एपको सुधारमा सुझाब दिन सञ्चारमन्त्रीको आग्रह

नागरिक एपबाट प्यान कार्ड बनाउनदेखि हेल्लो सरकारमा उजुरी गर्न सकिने, प्रयोगका लागि मन्त्रीको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ७ बुधबार ०९:०५:००

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘नागरिक एप’को सुधारका लागि आवश्यक सुझाब दिन आग्रह गरेका छन् । शुक्रबारदेखि परीक्षणका रूपमा सञ्चालनमा आएको नागरिक एप प्रयोग गरेर त्यसको सुधार गर्नुपर्ने पक्ष र थप गर्नुपर्ने सुविधाका बारेमा सुझाब दिन मन्त्री गुरुङले आग्रह गरेका हुन् । 

सरकारले जनतालाई हातहातमै सरकारी सेवा दिने भन्दै शुक्रबारदेखि ‘नागरिक एप’ सञ्चालनमा ल्याएको हो । सम्भव भएसम्मका सबैखाले सरकारी सेवाहरू एकीकृत तथा अन्तरआबद्ध गरी एउटै धरातल (प्लेटफर्म)बाट प्रदान गर्न भन्दै ‘नागरिक एप’ सञ्चालनमा ल्याएको हो ।

‘हामी नागरिक एप परीक्षणका क्रममा छौँ, यसमा भएका सुविधाहरूमा सुधार गर्नुपर्ने पक्ष र थप गर्नुपर्ने सुविधाहरू हामीलाई भन्नुहोला,’ मन्त्री गुरुङले भने, ‘डिजिटल नेपाल अभियान हरेक व्यक्ति तथा क्षेत्रलाई पारदर्शी र जिम्मेवार बनाउने कडी हो ।’ त्यस्तै उनले ‘अब लाइन होइन, अनलाइन’ भन्दै नागरिक एपको प्रयोग गर्न आग्रह गरेका हुन् । 

हाललाई परीक्षणका रूपमा सार्वजनिक गरिएको एपबाट प्यान कार्ड प्राप्त गर्न, आफूले तिरेको करको विवरण हेर्न तथा नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रका विवरणहरू प्राप्त गर्न सकिन्छ । त्यस्तै, नागरिक लगानी कोष, सञ्चय कोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम र ऋण विवरणहरूको जानकारीसमेत लिन सकिन्छ ।

नागरिक एपबाट हेल्लो सरकारमा गुनासो गर्न तथा गुनासो सम्बोधन भए–नभएको समेत हेर्न सकिन्छ । आगामी तीन महिनाभित्र नागरिक एप पूर्ण रूपमा सञ्चालनमा ल्याउने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एपमा मालपोत, भूमिसुधार, सवारी कर, चालक अनुमतिपत्रलगायतका आमनागरिकसँग सरोकार हुने सेवाहरू क्रमशः थप्दै लगिनेछ ।