१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ ६ मंगलबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ माघ ६ मंगलबार २२:oo:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मंगलबार दिनभरका मुख्य खबर

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ माघ ६ मंगलबार २२:oo:oo

ओरिजिनल एमाले केपी होइनन्, मै हुँ, अब एमाले र माओवादी ब्युँतिँदैनन् : माधव नेपाल (भिडियोसहित)

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी ओली कामचलाउ भएको बताएका छन् । प्रतिनिधिसभा सदस्य नै प्रधानमन्त्री हुने भन्दै उनले ओलीले कि कामचलाउ भन्नुपर्ने कि कुर्सी छोड्नुपर्ने बताएका हुन् । 

आफू प्रचण्डको कार्यकर्ता भनी ओलीले गरेको टिप्पणीको जवाफ दिँदै नेपालले ओरिजिनल एमाले केपी ओली नभई आफू भएको जिकिर गरे । एकीकरणपछि एमाले र माओवादी पार्टी इतिहास भइसकेको भन्दै उनले अब ती पार्टी नब्युँतिने बताए । 

केपी ओलीले सार्वभौमिकतामाथि हमला गरेको हो :  प्रचण्ड (भिडियोसहित)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले सार्वभौमिकतामाथि हमला गरेको बताएका छन् । आफूनिकट पत्रकारहरूको संगठन प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले ओलीले प्रतिनिधिसभा विघटन गरी राजतन्त्रलाई पुनर्स्थापित गर्ने तथा देशलाई निरंकुशता र अराजकताको भुमरीमा लैजाने प्रक्रियाको सुरुवात गरेको दाबी गरे । ओलीको यस कदमलाई हरमूल्यमा रोक्ने उनले बताए । 

राष्ट्रपति शैक्षिक कार्यक्रमका तीन हजार निवेदन खारेज गरी नयाँ माग

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि यसअघि परेका करिब तीन हजार आवेदन खारेज गरी नयाँ प्रस्ताव माग गरेको छ । भौतिक पूर्वाधार, विद्यार्थीको सिकाइ उपलब्धि स्तर बढाउन, गुणस्तरीय शिक्षाका लागि नवीन प्रविधि, नवप्रवर्तन र सिकाइ सामग्री व्यवस्थापन, प्राविधिक तथा व्यावसायिक शिक्षामा पहुँच अभिवृद्धिका लागि प्रस्ताव माग गरेको हो । 

शिक्षा मन्त्रालयमा बसेको निर्देशक समितिको बैठकले यसअघि राष्ट्रपति कार्यालयबाट प्रक्रिया पूरा गरी प्राप्त निवेदनबाहेक अन्य निवेदन खारेज गरी नयाँ प्रक्रिया सुरु गरेको हो । चालू आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विनियोजित रकममध्ये पाँच अर्ब १० करोडका लागि आवेदन माग गरेको हो । चालू आर्थिक वर्षका लागि सरकारले ६ अब बजेज विनियोजन गरेको थियो । केही रकम खर्च भइसकेको छ । 

 

पार्टी कमिटीहरू तत्काल पुनर्गठन गर्न ओलीको निर्देशन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरू तत्काल पुनर्गठन गर्न निर्देशन दिएका छन् । नेकपा नुवाकोटका काठमाडौंमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गरे । 

भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट : भारतको रोमाञ्चक जित 

भारत र अस्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतले रोमाञ्चक जित हासिल गरेको छ । यो जितसँगै भारतले चार टेस्टको शृंखला २–१ ले जितेको छ । एक खेल भने बराबरी भएको थियो । ब्रिस्बेन क्रिकेट मैदानमा अस्ट्रेलिया सन् १९८८ पछि पहिलोपटक भारतसँग पराजित भएको छ । 

पाँचौँ दिन चार रनबाट खेल्न थालेको भारतले अस्ट्रेलियाले प्रस्तुत गरेको तीन सय २८ रनको चुनौती तीन ओभर बाँकी रहँदा सात विकेट गुमाएर पूरा गरेको थियो । अन्तिम तीन ओभरमा भारतलाई जितका लागि तीन रन चाहिएको अवस्थामा रिषभ पन्तले विजयी चौका प्रहार गरेका थिए । 

भारतका लागि रिषभ पन्तले अविजित ८९ रन बनाएका थिए । भारतका अन्य खेलाडीहरू शुभमन गिलले ९१, चेतेश्वर पुजाराले ५६, कप्तान अजिन्क्य रहाणेले २४, मयन्क अग्रवालले ९, वासिङटन सुन्दरले २२, रोहित शर्माले सात र शार्दुल ठाकुरले दुई रन बनाएका थिए । 

भारतमा कोभिड संक्रमणमुक्त दर ९९.६६ प्रतिशत 

भारतमा सोमबार गत सात महिनायताकै सबैभन्दा कम कोभिड संक्रमित फेला परेका छन् । यहाँ सोमबार दश हजार ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोमबार थपिएका संक्रमितसहित भारतमा कुल एक करोड पाँच लाख ८१ हजार आठ सय संक्रमित पुगेका छन् । यस्तै कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या पनि एक करोड दुई लाख २८ हजार सात सय ५३ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतका कोरोना संक्रमणमुक्त हुने दर ९९.६६ प्रतिशत पुगेको छ । यस्तै मृत्यु दर १.४४ प्रतिशत मात्रै छ । 

महामारी घोषणा गर्न ढिला गरेको भन्दै डब्ल्युएचओको आलोचना

महामारीको विश्वव्यापी व्यवस्थापनबारे समीक्षा गरिरहेको एक स्वतन्त्र प्यानलले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोभिड महामारी घोषणा गर्न ढिलाइ गरेको भन्दै आलोचना गरेको छ । चिनियाँ अधिकारीहरू जनवरीमा नै कोभिडविरुद्ध बलपूर्वक लागिसक्दा पनि विश्व स्वास्थ्य संगठनले भने त्यस समयमा ध्यान नदिएको प्यानलको गुनासो गरेको छ । 

 

स्थानीय सरकारले यसरी रोक्न सक्छन् बालबिछोड

संघीय सरकारले ०७३-७४मै नारा दिएको थियो, ‘बालबालिका सडकमा बस्नुपर्दैन, सडकमा बस्न हुँदैन ।’ त्यसपछि यस नारालाई सार्थक बनाउन संघीय सरकारले त खासै काम गरेको छैन, स्थानीय सरकार भने प्रयासरत छन् । 

देशकै ठूलो स्थानीय तह काठमाडौं महानगरपालिकाले ‘सडक मानवमुक्त अभियान’ सञ्चालन गरिरहेको छ । अभियानअन्तर्गत अहिलेसम्म एक हजार आठ सय ६६ बालबालिकाको उद्धार गरिएको छ । उनीहरूमध्ये दुई सय ७५ जना मात्रै अशक्त, बेसहारा र परिवारविहीन भएको पाइएको छ । जो अहिले पनि आश्रममै बसिरहेका छन् । 

लेउले खायो रानीपोखरीको पानी, पुनः पानी भर्ने तयारी 

पुनर्निर्माणपछि चिटिक्क परेको रानीपोखरी लेउ र झ्याउले कुरूप बन्न थालेपछि काठमाडाैं महानगरपालिकाले सरसफाइ गर्न थालेको छ । सरसफाइको क्रममा लेउका कारण रानीपोखरीमा पानीको सहत घटेको फेला परेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरले सुरुमा पोखरीमा पाँच फिट दुई इन्च पानी राखिएको र अहिले तीन फिट मात्रै पानी बाँकी रहेको जानकारी दिएका छन् । मानन्धरले भने, ‘पोखरीमा पानी भर्ने विषयमा महानगरपालिकासँग छलफल भएको छ, केही दिनमै पोखरी सफा गरी पुनः पानी भर्ने योजना छ ।’ 

महानगरपालिकाले पोखरीको लेउ र झ्याउ हटाउन नगर प्रहरीलाई खटाएको छ । पोखरीको पानी सफा राख्ने दीर्घकालीन योजनाबारे समेत सरोकारवाला निकायसँग छलफल गरिरहेको काठमाडौं महानगरले जनाएको छ । पुनर्निर्माण प्राधिकरणले हालसम्म रानीपोखरी हस्तान्तरण नगरे पनि आफ्नो क्षेत्रभित्र पर्ने भएकाले सरसफाइ सुरु गरेको महानगरका प्रमुख प्रकाशकीय अधिकृत राजेश्वर ज्ञवालीले बताए ।