१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ ३ शनिबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ माघ ३ शनिबार २२:oo:oo
Read Time : > 6 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

शनिबार दिनभरका मुख्य खबर

Read Time : > 6 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ माघ ३ शनिबार २२:oo:oo

दिल्लीबाट फर्केर परराष्ट्रमन्त्रीले भने - सीमाबारे सहमतिमा पुगेका छैनौँ (भिडियोसहित)

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमाका विषयमा नेपाल र भारतबीच सहमति नभएको बताएका छन् । भारत भ्रमणबाट शनिबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ज्ञवालीले समस्या छिटो समाधान गर्नुपर्छ भन्नेमा नेपाल–भारत संयुक्त आयोगको बैठकमा छलफल भएको बताए । ‘भारतको पोजिसन (अडान) थाहै छ । हामी सहमतिमा पुगेका छैनौँ। समस्या छिटो समाधान गर्नुपर्छ भन्नेमा हामी पुगेका छौँ’ ज्ञवालीले भने, ‘सीमाका बाँकी काम गर्दै जानेछौँ । राजनीतिक तहमा कुरा गर्दै जान्छौँ, अन्य तहमा पनि छलफल हुँदै जान्छ ।’

सरकारले क्रमशः सबै नेपालीलाई निःशुल्क कोरोनाविरुद्धको खोप उपलब्ध गराउँछ : अर्थमन्त्री

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले कोभिड १९ विरुद्धको खोप क्रमशः सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने जनाएका छन् । उनले विश्व स्वास्थ्य संगठनलगायतका अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरूले निर्धारण गरेको मापदण्डका आधारमा क्रमिक रूपमा सम्पूर्ण नेपालीलाई कोभिडविरुद्धको खोप निःशुल्क रूपमा उपलब्ध गराउने बताएका हुन् । 

सरकार कामचलाउ भइसक्यो, अब बजेट बाँड्न पाउँदैन : डा. महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतले सरकार काम चलाउ भइसकेको बताएका छन् । ‘यो सरकार कामचलाउ भइसक्यो, अब यो सरकारले जथाभावी नियुक्ति र बजेट बाँड्न पाउँदैन, यसले कामचलाउकै हैसियतमा काम गर्नुपर्छ,’ सहमहामन्त्री डा.महतले भने । प्रतिनिधिसभा विघटनको विरोधमा ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शनको कार्यक्रमअन्तर्गत शनिबार ललितपुर महानगरपालिकामा कांग्रेसले गरेको विरोधसभामा बोल्दै सहमहामन्त्री डा. महतले यदि सर्वोच्च अदालतले ओलीको निर्णयलाई सदर गर्‍याे भने कांग्रेसले सबै ध्यान चुनावमा लगाउने बताए । 

प्रचण्ड–नेपालको राजनीति बाँचुञ्जेल अध्यक्ष हुने राजनीति मात्र हो : प्रधानमन्त्री (भिडियोसहित)

प्रधानमन्त्री केपी ओलीले निर्वाचन आयोगलाई आफ्नो काम गर्न नदिएर प्रचण्ड–नेपाल पक्षले गैरराजनीतिक र अमर्यादित काम गरेको बताएका छन् । आयोग सधैँ निर्वाचनको तयारीमा रहने संस्था भएको र निर्वाचन घोषणा भइसकेको सन्दर्भमा उसले आफ्नो काम गरिरहेकाले उक्त काम रोक्ने भन्ने कुरा हुनै नसक्ने उनको भनाइ छ । प्रदेश १ का अगुवा कार्यकर्तालाई राजधानी काठमाडौंमा सम्बोधन गर्दै प्रतिनिधिसभा विघटन भइसकेको र निर्वाचन घोषणा भइसकेको सन्दर्भमा निर्वाचन गर्न हुँदैन भनेर के गर्न खोजेको ? भनी उनले प्रश्न गरे । उनले पुष्कमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बाँचुञ्जेल अध्यक्ष हुनका लागि मरिहत्ते गरेको आरोप लगाए । उनीहरूको राजनीतिक उद्देश्य  सधैँ आफू मात्र केन्द्रमा रहनेमा मात्र सीमित बन्ने गरेको उनकाे ठहर छ । 

सरकार संविधानअनुरूप नै चलिरहेको छ : नेता नेम्वाङ (भिडियोसहित)

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले वर्तमान सरकार संविधानअनुरूप नै काम गरिरहेको बताएका छन् । शनिबार नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रदेश नम्बर १ को प्रदेश सम्पर्क कमिटीद्वारा काठमाडौंमा आयोजित कार्यकर्ता भेलामा बोल्दै स्थायी कमिटी सदस्य नेम्वाङले वर्तमान सरकारले संविधानअनुसार नै काम गरिरहेको बताएका हुन् । संसद् विघटन भइसकेपछि सरकारले गरेका विभिन्न काममा प्रश्न उठाइएको भन्दै उनले सरकार संविधानअनुसार नै कार्यरत रहेको दाबी गरे ।

बाघले झम्टनका लागि तम्तयार भएर आएको देखेपछि बाध्य भएर फायर खोलिएको हो : कानुनमन्त्री श्रेष्ठ

कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले संसद् विघटनको निर्णय विकल्पको कदम चाल्नु परेको बताएका छन् । तराई–मधेस समृद्धि कार्यक्रमअन्तर्गत सिराहा नगरपालिका १६ माडरमा सामुदायिक भवन शिलान्यास गर्दै मन्त्री श्रेष्ठले प्रधानमन्त्रीले संसद् विघटनको निर्णय ‘विकल्पक रूपमा फायर खोले’जस्तो भएको बताएका छन् ।  ‘बाघले तपाईंलाई खान आयाे भने तपाईं फायर खोल्ने कि नखोल्ने ?’ मन्त्री श्रेष्ठले भने, ‘प्रधानमन्त्रीलाई यस्तै अवस्था आइपर्‍याे । फायर खोल्नुभएको छ । अब जनताबीच नयाँ जनादेशका लागि जानुभएको छ ।’

पौडेलको दाबी– ओलीले चुनाव गर्न प्रतिनिधिसभा विघटन गरेका हैनन्, चुनावविनै देउवा प्रधानमन्त्री बन्न सक्छन्

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले चुनाव गर्न प्रतिनिधिसभा विघटन नगरेको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा भरतपुरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले भने– ‘आफ्नो दुईतिहाइनजिकको बहुमत हुँदाहुँदै चुनाव गर्छु भन्नु, आफ्नो पार्टी टुक्राएर प्रतिनिधिसभा भंग गर्नु, आफँैलाई प्रधानमन्त्री बनाउने र सत्ताको शिखरमा पु¥याउने प्रतिनिधिसभा विघटन गरेर चुनाव गर्छु अनि आफ्नै बहुमत आउँछ भन्नु चुनाव गर्दिनँ भनेको हो ।’ 

गगन थापाको प्रश्न : राष्ट्रपति देशको राष्ट्रपति हो कि नेकपाको एउटा गुटको ?

नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले बडामहारानी बन्न खोजेको आरोप लगाएका छन् । ‘म यो देशमा राष्ट्रपति संस्था ल्याउन लागेको सदस्य हुँ । तर, आज मलाई आफ्नो राष्ट्रपतिको भूमिकाले लज्जित बनाउँछ । हामीले नेपालको राष्ट्रपतिलाई हाम्रो अभिभावकभन्दा माथि राखेका छौँ । तर, उहाँको भूमिकाले के देखाउँछ ? उहाँ नेपालको राष्ट्रपति हो कि नेकपाको एउटा गुटको गुटपति ?’ थापाले प्रश्न गरे । नेता थापाले प्रधानमन्त्री ओलीले किर्ते काम गरेकाले उनको नाम किर्तेप्रसाद ओली भएको टिप्पणी गरे । ‘अध्यादेश सिफारिस गर्दा किर्ते, संसद् विघटनको सिफारिस गर्दा किर्ते, अरू के–के काममा किर्ते भएको छ ? अब केपी ओलीको नाम खड्गप्रसाद ओली होइन, किर्तेप्रसाद ओली राख्यो भने उपयुक्त हुन्छ,’ उनले भने । 

कोरोना महामारीका कारण विश्वमा आप्रवासनको संख्या घट्यो

कोभिड १९ महामारीका कारण विश्वमा आप्रवासनको अवस्थामा कमी आएको छ । महामारीका कारण विश्वव्यापी रूपमा नै कम्तीमा पनि ३० प्रतिशतले मानिसको बसाइसराइ घटेको पाइएको हो । यो अघिल्लो वर्ष सन् २०१९ को भन्दा धेरै नै कमी हो । संयुक्त राष्ट्रसंघीय निकायले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० मा जम्मा विश्वका २८ करोड १० लाख नागरिक आफ्ना देशबाहिर बसेका थिए । उनीहरूलाई आप्रवासीका रूपमा राष्ट्रसंघीय सो निकायले परिभाषित गरेको छ । शुक्रबार सार्वजनिक गरिएको विश्व आप्रवासन प्रतिवेदन सन् २०२० प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो । प्रतिवेदनमा विश्वमा आप्रवासीका रूपमा बस्न थालेका नागरिकमध्ये २० देशमा सबैभन्दा बढी रहेका छन् । यसमध्ये आप्रवासीहरू सबैभन्दा बढी अमेरिकामा बस्ने गरेका छन् । 

भारतमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान

भारतमा आजदेखि कोरोना भाइरसविरुद्धको राष्ट्रिय खोप अभियान सुरु भएको छ । शनिवार विहान साढे १० बजे भारतका प्रधानमन्त्रीले भिडियो शन्देशमार्फत अभियानको सुभारम्भ गरेका हुन् । खोप अभियान सुरु हुनुअघि नै देशभरका निर्धारित सबै स्थानमा खोप पुगिसकेको थियो । सरकारले बनाएको मापदण्ड अनुसार पहिलो चरणमा करिब तीन कारोड फ्रन्ट लाइनरहरूलाई खोप दिइने छ । खोप अभियानको पहिलो दिनमै करिब तीन लाख स्वास्थ्यकर्मीलाई दिइने सरकारको योजना छ । यो अभियनालाई भारत सरकारले संसारकै सबैभन्दा ठूलो खोप अभियान भन्दै प्रचार गरेको छ । केन्द्र सरकार र प्रदेश सरकारहरूले खोप अभियानका लागि तीन हजार ६ खोप केन्द्र स्थापना गरेका छन् ।

फाइजर भ्याक्सिनमाथि शंका : नर्वेमा भ्याक्सिन लगाएका स्याहार केन्द्रका २३ जना वृद्धवृद्धाको निधन

विश्वका विभिन्न राष्ट्रमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन वितरण सुरु भइसकेको छ । केही राष्ट्रमा भ्याक्सिनेसन सुरु हुनैलागेको छ भने केही राष्ट्रमा भ्याक्सिन लैजाने प्रक्रिया सुरु भएको छ । विश्वभरनै भ्याक्सिनको माग उच्च छ । भ्याक्सिन पाएका मानिसमा कोरोना भाइरसविरुद्ध लड्ने हिम्मत बढेको छ भने भ्याक्सिन पाउने पक्रियामा रहेकामा पनि मनोबल बढेको छ । तर, कोरोना विरुद्धको भ्याक्सिन लगाएका केही व्यक्तिले मृत्युवरण गरेका कारण यसप्रति शंका पनि उब्जिएको छ । नर्वेमा भ्याक्सिन लगाएका  स्याहार केन्द्रका २३  जना वृद्धवृद्धाको निधन भएको समाचार चीनबाट प्रकाशित हुने ग्लोबल टाइम्सले उल्लेख गरेपछि यो विषयले अझै त्रसित बनाएको छ । समाचारअनुसार अमेरिकाद्वारा निर्मित फाइजर भ्याक्सिन लगाएका वृद्धवृद्धाको मृत्यु भएको हो । नर्वेमा नयाँ वर्ष मनाएको चार दिनपछि कोरोना भ्याक्सिन खोप वितरण भएको थियो । त्यस दिन ३३ हजार नर्वेजियनले भ्याक्सिन लगाएका थिए । समाचार एजेन्सीहरूका अनुसार भ्याक्सिन लगाएपछि २९ जनामा साइडइफेक्ट देखिएको थियो । नर्वेमा अहिलेसम्म ५७ हजार सात सय ३६ व्यक्तिमा संक्रमण पुष्टि भएको छ । ग्लोबल टाइम्सका अनुसार नर्वेमा मृत्यु हुने अधिकांश ८० वर्षभन्दा माथिका हुन् ।

निर्वाचन परिणामको पर्खाइ : युगान्डामा ३५ वर्षदेखि शासन गरिरहेका राष्ट्रपति मुसेभेनीविरुद्ध ३८ वर्षे पपस्टार

अफ्रिकी देश युगान्डामा लामो समयदेखि शासन गर्दै आइरहेका राष्ट्रपति योवेरी मुसेभेनी अर्काे कार्यकालका लागि पनि निर्वाचित हुने सम्भावना छ । बिहीबार सम्पन्न आमनिर्वाचनको प्रारम्भिक परिणाममा उनले स्पष्ट अग्रता लिए पनि उनको सम्भावना उच्च देखिएको हो । मुसेभेनीले स्पष्ट अग्रता लिएपछि प्रतिद्वन्द्वी उम्मेदवारले निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् । तर, युगान्डाको निर्वाचन आयोगले आरोपको खण्डन गरेको छ । राष्ट्रपति पदका अर्का उमेदवार बोबी वाइनले यस्तो आरोप लगाएका हुन । उनी यहाँका पपस्टार पनि हुन् । उनलाई राष्ट्रपति पदका लागि बलियो दाबेदारका रूपमा हेरिएको थियो । निर्वाचन पर्यवेक्षकहरूले भने धाँधलीको आशंका गरेका छन् । तीन दिनसम्म सबै इन्टरनेट सेवा बन्द गरिएकाले यकिन गर्न नसकिए पनि धाँधली भएको आशंका उब्जाएको पर्यवेक्षकहरूको भनाइ छ । निर्वाचनको अन्तिम नतिजा आइबारसम्म आइसक्ने अपेक्षा गरिएको छ । निर्वाचनको क्रममा विभिन्न ठाउँमा भएको झडपमा परी एक दर्जनको हाराहारीमा मृत्यु भएको छ ।

अब संस्कृत विश्वविद्यालयमा वैदिक कृषि र इन्जिनियरिङको पढाइ

नेपाल संस्कृत विश्वविद्यालयले वैदिक कृषि तथा वास्तु इन्जिनियरिङका कक्षा सञ्चालन गर्ने भएको छ । विद्यार्थीलाई आकर्षित गर्न परम्परागत ज्ञानलाई आधुनिकतासँग जोडेर स्नातक (शास्त्री) तहमा कृषि र इन्जिनियरिङलगायतका कार्यक्रम सञ्चालन गर्न लागेको हो । संस्कृत विश्वविद्यालय सभाले स्नातक तहमा वैदिक कृषि, वास्तु इन्जिनियरिङ, योग तथा प्राकृतिक चिकित्साको पढाइ गर्ने निर्णय गरी प्रक्रिया अघि बढाएको हो । यससँगै औषधि उत्पादन विज्ञानमा पनि कार्यक्रम सञ्चालनको तयारी गरेको विश्वविद्यालयले जनाएको छ । जुनसुकै विधाबाट आएका विद्यार्थीलाई पनि उपयुक्त हुने गरी जीवनशैली व्यवस्थापन विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. यादवप्रकाश लामिछानेले बताए । ‘विषयको प्रारूप तयार भएको छ, कोर्स तयार गरी कार्यान्वयन गर्छौँ,’ उपकुलपति प्रा. लामिछानेले भने ।

राजेन्द्र महतोको दाबी– प्रधानमन्त्री ओलीले संविधानको चिरहरण, लोकतन्त्र र गणतन्त्रको अपहरण गरे

जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी ओलीले संविधानको चिरहरण गरेको दाबी गरेका छन् । जसपाले शनिबार मलंगवामा आयोजना गरेको विरोधसभामा महतोले तानाशाही बन्दै संविधानमा हुँदै नभएको धारा प्रयोग गरेर ठूलो बलिदानीबाट प्राप्त लोकतन्त्र र गणतन्त्रको अपहरण गरेको आरोप लगाए । ओली सरकारलाई संविधान नचाहिएको र ओली संविधानको भक्षक बनेको महतोको जिकिर छ । महतोले प्रधानमन्त्री ओलीले मधेसी जनताको अधिकार प्राप्त गरेको देख्न नचाएको समेत बताए । आफूहरूले पहिलेदेखिनै ओलीले गोली चलाएर ल्याएको संविधान धेरै समय नटिक्ने बताउँदै उनले तीन वर्षमै संविधानको घाँटी निमोठ्ने काम गरेको उनको भनाइ छ । महतोले भारतसँग जोडिएको सिमानाका यथाशीघ्र सञ्चालनमा ल्याउन पनि आग्रह गरे । भारतसँगको रोटीबेटीको सम्बन्धमा खलल पुगेको भन्दै उनले सीमानाका खुला गर्न पटक–पटक आग्रह गरेका थिए ।

संविधानलाई सही बाटोमा ल्याउन प्रतिनिधिसभा पुनर्स्थापना अनिवार्य : कांग्रेस महामन्त्री कोइराला 

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले संविधानलाई सही बाटोमा ल्याउन पनि प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्ने बताएका छन् । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा कांग्रेसले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् ।

ad
ad
ad
ad