
पुराना सिएलाई मात्रै योग्यता पुग्ने गरी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स एसोसिएसन (आइक्यान)ले पुनः नियमावली परिवर्तन गरेको छ । आइक्यान परिषद्को गत सोमबार बसेको बैठकले आगामी जेठमा हुने निर्वाचनका लागि १५ वर्ष पूरा गरेका सिएले मात्र उम्मेदवारी दिन पाउने गरी नियमावली परिवर्तन गरेको हो ।
पाँच वर्षअघि पनि यस्तै निर्णय गर्दै ५ वर्षे अनुभवीबाट १० वर्षे हुनुपर्ने नियम बनाइएको थियो । आइक्यानले हरेक काउन्सिल निर्वाचनपछि पुराना सिए मात्रको निर्वाचनमा योग्यता पुग्ने गरी नियमावली परिवर्तन गर्दै आइरहेको भन्दै परिषद्का केही पार्षद्ले एजेन्डाको विरोध गरेका थिए । तर, विरोधबीच पनि अध्यक्ष मदन शर्माले एजेन्डा पारित भएको घोषणा गरेको एक पार्षद्ले बताए । आइक्यानका कार्यकारी निर्देशक सञ्जय सिन्हाले परिषद् बैठकले एजेन्डालाई पारित गरेको र नियम संशोधनका लागि अर्थ मन्त्रालय पठाउने तयारी भइरहेको जानकारी दिए ।
आइक्यान परिषद्मा १७ जना सदस्य रहने व्यवस्था छ । त्यसमध्ये चार सदस्य दर्तावाल लेखा व्यवसायी (आरए) बाट चुनिन्छन् भने तीनजना सरकारले मनोनयन गर्छ । बाँकी १० जना सिएहरूबाट चुनिने व्यवस्था छ । एजेन्डा पारित हुन ९ मतको आवश्यक पर्छ । त्यसमध्ये चारजना आरए निर्णयको समर्थनमा छन् । किनकि, सबै आरएहरू २० वर्ष पुराना छन् । तीनजना मनोनयन सदस्यले पनि विरोध जनाउने सम्भावना छैन । बाँकी रहेका दुई जनामध्ये अध्यक्ष र उपाध्यक्षको मत पुगे एजेन्डा पारित हुनेछ । अहिलेको परिषद्मा १० सिए पार्षद्मध्ये ५ जना १५ वर्षभन्दा कम अनुभवी छन् । नियम संशोधन भए उनीहरू पनि आगामी निर्वाचनमा उम्मेदवार हुन पाउनेछैनन् ।
०६२ सालदेखि अनुभवको योग्यता थप्दै आएको आइक्यान परिषद्ले पाँचाँैपटक संशोधन गरेको हो । यसअघि १ वर्षेबाट ३ वर्षे अनुभवी हुनुपर्ने नियम बनाइएको थियो । ०६६ मा ३ वर्षेबाट ५ वर्षे अनुभवी हुनुपर्ने नियम बनाइयो । ०७१ सालमा ५ वर्षेबाट १० वर्षे अनुभवी हुनुपर्ने एजेन्डा पारित गरिएको थियो ।
आइक्यानले ०६२ सालदेखि सिएलाई मात्रै आइक्यान परिषद्को निर्वाचनमा उम्मेदवार हुन पाउने गरी नियम संशोधन गरिरहेको छ । ‘आइक्यानका १५ भन्दा बढी सिएमध्ये अढाई सय सिए मात्र १५ वर्ष पुराना छन् । पुराना सिएहरू जनसम्पर्कबाट बाहिरिँदै छन्,’ एक पार्षद्ले भने, ‘नयाँ सिएसँग प्रतिपस्र्धा गर्ने साहस नै छैन, त्यसैलाई अध्यक्षले सजिलो पारिदिन लागेका हुन् । तर, हाम्रो विरोध हुनेछ ।’