मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ पौष २९ बुधबार १५:२४:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

अल्जाइमरको औषधि परीक्षण सकारात्मक

Read Time : > 1 मिनेट
२०७७ पौष २९ बुधबार १५:२४:००

अल्जाइमरको औषधिबारे भइरहेको परीक्षणको सकारात्मक प्रभाव देखिएको छ । दोस्रो चरणमा रहेको क्लिनिकल ट्रायलबाट औषधिले बिरामीको सोच्ने र आफ्नो हेरचाह गर्ने क्षमतामा केही सुधार ल्याएको छ ।

अमेरिकामा अल्जाइमरको औषधिमा भइरहेका विभिन्न ट्रायलमध्ये यसलाई उपलब्धिपूर्ण मानिएको छ । अनुसन्धानकर्ताहरूले यसबारे विस्तृत विवरण नदिए पनि औषधिले बिरामीमा सकारात्मक प्रभाव देखिएको उल्लेख गरेका छन् । परीक्षणको दोस्रो चरणमै राम्रो नतिजा देखिएको क्यालिफोर्निया विश्वविद्यालयका मनोचिकित्सक, न्युरोलोजी एन्ड जिरोन्टोजी प्रोफेसर डा. लोन स्नाइडरले बताएका छन् । यसभन्दा अगाडिका अल्जाइमरको औषधिमाथि दोस्रो चरणको परीक्षण गरिएको पाइँदैन । 

दुई वर्षसम्म अल्जाइमरको सामान्य र मध्यम लक्षण देखिएका दुई सय ७२ जनामा क्लिनिकल ट्रायल गरिएको थियो । डोनेनेब नामक मोनोक्नोलन एन्टिबडी मस्तिष्कको एक भागमा काम गर्छ, जुन प्रोटिन र एमालोइडबाट बनेको हुन्छ । बिरामीहरूमा यो औषधि प्रत्येक चार सातामा दिएको थियो । सहभागीमध्ये प्लेसबो दिएकाहरूको तुलनामा ३२ प्रतिशतमा औषधिले सकारात्मक लक्षण देखाएको छ । अध्ययनको दायरा सानो भए पनि औषधिको प्रभाव राम्रो देखिनु उपलब्धिपूर्ण भएको क्यालिफोर्निया विश्वविद्यालयको न्युरोलोजी विभागले जनाएको छ । अध्ययन गरिरहेको इली लिली कम्पनीले केही दिनमा अध्ययनको पूर्ण जानकारी प्रकाशित गर्ने जनाएको छ । 

यसअघि बायोजोन नामक औषधि कम्पनीले बनाएको अल्जाइमरको औषधिले बिरामीमा कुनै प्रभाव नपारेको भन्दै सो औषधि (एडुकनुमब) लाई एफडिएले स्वीकृत गर्न असहमति जनाएको थियो । हालसम्म अल्जाइमरको संज्ञानात्मक र मेमोरी लक्षणको उपचारका लागि पाँचवटा औषधि अनुमोदन गरिएका छन् । जसमध्ये कुनै पनि औषधि बिरामीको पूर्ण उपचारका लागि प्रमाणित गरिएका छैनन् ।

एडुकनुमब औषधि एक मानोकोनल एन्टिबडी हो जुन अल्जाइमर रोगका कारण हुने बिटा एमाइलोइड प्रोटिनलाई लक्षित गर्छ । एमाइलोइड सञ्चयलाई कम गर्न हालसम्म औषधि पत्ता लागेका छैनन् । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वभर ३० मिलियन मानिस अल्जाइमरबाट पीडित छन् । सन् २०५० सम्म यो संख्या दोब्बर पुग्ने अनुमान छ ।

स्मृति क्षय हुने रोगलाई अल्जाइमर भनिन्छ । अल्जाइमर रोग मस्तिष्कका विकृतिहरूको समूहगत रोग हो, जसले सोच, व्यक्तिको व्यवहार तथा व्यक्तित्वमा परिवर्तन गर्ने, बिर्सने, अरुलाई विश्वास गर्न नसक्ने, शङ्का गर्ने, हिँडडुल गर्न नसक्ने बनाउँछ ।
–एजेन्सीको सहयोगमा