मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी नयाँ दिल्ली
२०७७ पौष २७ सोमबार १३:४२:००
Read Time : > 1 मिनेट
विश्व

भारतका नौ राज्यमा फैलियो बर्ड फ्लु,  अन्य राज्य पनि जोखिममा

Read Time : > 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
२०७७ पौष २७ सोमबार १३:४२:००

भारतका विभिन्न राज्यमा एभियन इन्फुएन्जा अर्थात् बर्ड फ्लु फैलिएको छ । यो संक्रमण कम्तीमा पनि नौ राज्यमा पुगिसकेको सरकारी अधिकारी तथा समाचार एजेन्सीहरूले जनाएका छन् ।

पछिल्लोपटक भारतको केन्द्रीय राजधानी नयाँदिल्ली र महाराष्ट्रको पश्चिमी भेगमा पनि बर्ड फ्लु देखिएको सञ्चारमाध्यमहरूले दाबी गरेका छन् । यसैबीच दिल्ली आसपासमा दुई सयभन्दा बढी चरा ( धेरैजसो काग) मृत अवस्थामा भेटिएपछि नयाँदिल्लीस्थित घाजीपुर होलसेल पोल्ट्री मार्केट प्रशासनले बन्द गरेको छ । यो बजार यस क्षेत्रको सबैभन्दा ठूलो हो । 
संक्रमणको जोखिमलाई ख्याल गर्दै प्रशासनले पार्क, तालतलैयालगायत क्षेत्रमा भ्रमण गर्न रोक लगाएको छ । मुम्बईबाट करिब पाँच सय किलोमिटर टाढाको परवानी जिल्लाका कलेक्टर मधुकर मुग्लिकरले भने, ‘मृत भेटिएका पन्छीहरूको नमुना परीक्षणका लागि पठाइएको थियो । परीक्षण नतिजाले बर्ड फ्लु नै भएको पुष्टि गरेको छ ।’ यसकारण यो क्षेत्रमा रहेका आठवटा पोल्ट्री फर्मका आठ हजार कुखुरा नष्ट गर्न निर्देशन दिएको उनले बताए ।   

यसैगरी आइतबार मात्रै उत्तर प्रदेश सरकारले कानपुरमा रहेको चिडियाखाना बन्द गर्न निर्देशन दिएको थियो । चिडियाखानाका जंगली कुखुरा र दुईवटा सुगा मृत अवस्थामा फेला परेपछि नमुना परीक्षण गराउँदा बर्ड फ्लु पुष्टि भएको थियो । कानपुर जिल्ला पशु कार्यालय प्रमुख आरपी मिश्राका अनुसार चिडियाखानानजिकै रहेको पोल्ट्री फार्मका कुखुराहरू पनि मार्ने प्रक्रिया सुरु भएको छ । चिडियाखाना आसपासका १० किलोमिटर क्षेत्रमा पन्छी बिक्रीमा रोक लगाइएको छ । उत्तर प्रदेशका अन्य क्षेत्रमा भेटिएका मृत पन्छीको पनि नमुना परीक्षण भइरहेको भोपालस्थित केन्द्रीय प्रयोगशालाले जनाएको छ ।   

यसबाहेक केरला, राजस्थान, मध्यप्रदेश, हिमाञ्चल प्रदेश, हरियाणा र गुजरातमा पनि बर्ड फ्लु संक्रमण पुष्टि भएको छ । यी क्षेत्रमा मृत अवस्थामा भेटिएका ब्राेइलर कुखुरा, काग, परेवा, मयुर र अन्य बसाइँसराइबाट आएका पन्छीको नमुना परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको हो ।  

बर्ड फ्लुले विशेषतः घरपालुवा पन्छी र जंगली पन्छीमा असर गर्ने भए पनि उनीहरूको प्रत्यक्ष संसर्गमा रहने मानिसलाई पनि यसको उच्च जोखिम हुन्छ । यसकारण बर्ड फ्लु देखिएका राज्यहरूमा सतर्कता अपनाउनुका साथै जोखिमयुक्त क्षेत्र बन्द गरिएको छ ।