सिराहाको दक्षिणी सीमावर्ती लगडीगोठबाट स्रोत नखुलेको ३१ लाख ८९ हजार नेपाली रुपैयाँसहित प्रहरीले एकजनालाई शनिबार राति पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा पुगेको नेपाल प्रहरीकाे टोलीले सीमावर्ती भारतीय बजार जोगियाबाट आउँदै गरेका सिराहा नगरपालिका– २२ घर भई सिराहा नगरपालिका- ७ मा बस्दै आएका ४३ वर्षीय शिवनाथ यादवलाई जाँचका क्रममा स्रोत नखुलेको नेपाली रुपैयाँसहित पक्राउ गरेको हो।
स्रोत नखुलेका पाँच सय र एक हजार दरका नेपाली नोट ३१ लाख ८९ हजार बरामद भएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी उमाशंकर पञ्जियारले जानकारी दिए । पक्राउ परेका यादवलाई स्रोत नखुलेका रकमसहित थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ललितपुर पठाइएको एसपी पञ्जियारले बताए ।
भारतीय बजारमा सटहीको कारोबार गर्नेहरू नेपाली रुपैयाँ नेपाल पठाउन जिल्लाको विभिन्न ग्रामीण रुटको प्रयोग गर्छन् । भारतीय बजारमा एक हजार नेपाली रुपैयाँबराबर ६ सय १० रुपैयाँ भारुमा सटही गरिन्छ । एक हजारमा भारु १५ रुपैयाँ (२४ रुपैयाँ नेपाली) सटही गरेबापत कमिसन लिने गर्छन् ।