प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिन पनि तलमाथि नगरी निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन हुने बताएका छन् । राष्ट्रिय युवा संघले शनिबार काठमाडौंमा आयोजना गरेको ताजा जनादेशका लागि घोषित मध्यावधि निर्वाचनको स्वागतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आगामी वर्ष १७ र २७ वैशाखमा नै निर्वाचन हुने बताए । एक दिन पनि निर्वाचन तलमाथि नहुने भन्दै उनले कार्यकर्ताहरूलाई निर्वाचनको वातावरण सिर्जना गर्न आग्रह गरे । ओलीले देश र संविधानमाथि संकट नपरी स्वार्थी तŒवहरूको स्वार्थमा संकट परेको टिप्पणी उनको छ । उनले सरकारलाई काम गर्न नदिने, संविधानको कार्यान्वयन हुन नदिने, संवैधानिक आयोगहरूलाई पूर्णता दिन नचाहनेलगायतका विभिन्न अवरोध सिर्जना गरिएका कारण देशमा बाँकी रहेको अवधिलाई खेर नफाल्न निर्वाचनमा जानुपर्छ भनि निर्वाचन घोषणा गरेको बताए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जुलुसको आधारमा अदालतले निर्णय गर्नु नहुने बताएका छन् । ‘अदालतले जे निर्णय गर्छ, त्यो मान्नुपर्छ । अदालतलाई प्रभावित गर्नुहुँदैन । जुलुसको भरमा अदालतले निर्णय गर्नुहुँदैन । अदालतले विवेक पुर्याउने हो,’ देउवाले भने, ‘संवैधानिक मूल्य र मान्यतालाई पालना गर्ने हो । यही गर, ऊ गर भन्न मिल्दैन । संसद् पुनर्स्थापना भएन भने चुनाव हुने अवस्था आउँछ । चुनाव गराउन दबाब दिनुपर्छ । चुनाव लड्नका लागि तयार हुनुपर्छ ।’
प्रधानमन्त्रीले जनताको विश्वासमाथि कुठाराघात गरे : महन्थ ठाकुर
जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको विश्वासमाथि कुठाराघात गरेको बताएका छन् । जसपाले भैरहवामा शनिबार आयोजना गरेको विरोधसभामा ठाकुरले जनताले पाँच वर्षका लागि बनाएको प्रतिनिधिसभा विघटन गरेर ओलीले जनभावनामाथि कुठाराघात गरेको बताएका हुन् । ठाकुरले कोरोना महामारीका कारण देश थलिएको अवस्थामा जनताको सेवा गर्न छोडेर प्रधानमन्त्रीले देशलाई संकटग्रस्त अवस्थामा पु¥याएको दाबी गरे । ओलीको कदमका कारण संघीय सरकारदेखि प्रदेश सरकारसम्म संकट सिर्जना भएको उनले बताए ।
ओली प्रवृत्तिको विरोधमा उत्रिन नेता–कार्यकर्तालाई माधव नेपालको आह्वान
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको मुटु र मन सानो भएका कारण व्यवस्था नै खतम पार्न असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको दाबी गरेका छन् । सिराहाको कर्जन्हामा जय गोविन्द साहको ३१औँ स्मृतिसभालाई सम्बोधन गर्दै नेपालले ओलीले संविधान, कानुन, नीतिको विरुद्धमा गएर जे मन लाग्छ त्यही गर्न खोजेको बताए ।
झलनाथ खनालको दाबी– ओली हिटलरजस्तै बने, केही वर्षमै ओलीको अस्तित्व सकिन्छ (भिडियोसहित)
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली हिटलरजस्तै तानाशाह भएको टिप्पणी गरेका छन् । नेकपा सम्पर्क समन्वय कमिटीद्वारा शनिबार काठमाडौंमा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रममा वरिष्ठ नेता खनालले जर्मनीमा समाजवादी पार्टीबाट हिटलर जन्मिएजस्तै नेपालमा कम्युनिस्ट पार्टीबाट केपी ओली जन्मिएको बताए ।
चिनियाँ नागरिक अपहरण प्रकरण : अपहरणकारीले अपहरितलाई अस्पताल लगेपछि खुल्यो अपहरणको भेद
अपहरणपछि घाइते भएका दुईजना चिनियाँलाई अस्पताल भर्ना गरेपछि मात्रै अपहरणको भेद खुलेको पाइएको छ । अपहरित दुईजना चिनियाँलाई अपहरणकारीले नै उपचारका लागि काभ्रेस्थित धुलिखेल अस्पताल लगेका थिए । घाइते अवस्थामा अस्पताल लगिएका चिनियाँ नागरिकको सम्बन्धमा अस्पताल प्रशासनले प्रहरी कार्यालयमा खबर गरेपछि मात्रै उनीहरू अपहरणमा परेको रहस्य खुलेको थियो । त्यसलगत्तै अनुसन्धानमा खटिएका प्रहरीले घटनामा संलग्न दुई चिनियाँ नागरिकसहित चार अभियुक्तललाई ठमेलबाट पक्राउ गर्न सफल भएको थियो । अनुसन्धनमा संलग्न महानगरीय प्रहरी परिसर काठमाडौंबाट प्रवक्ता डिएसपी प्रमेश विष्टले अपहरणपछि घाइते भएका दुई चिनियालाई धुलिखेल अस्पताल भर्ना गरिएको र त्यसपछि घटनाको अनुसन्धान अघि बढेको बताए ।
आर्थिक अनियमितताको आशंकामा एन्फाको कारोबार हेर्न फिफाले आफ्नै अडिटर पठायो
विभिन्न शीर्षकमा पठाएको रकममा अनियमितता भएको आशंकामा विश्व फुटबल महासंघ (फिफा)ले एक्स्टर्नल अडिटर क्रोललाई अखिल नेपाल फुटबल संघ (एन्फा)को कारोबार हेर्न नेपाल पठाएको छ । फिफाको निर्देशनअनुसार क्रोलका दुई अडिटर बुधबार नै नेपाल आइपुगेका छन् । अमेरिकी फार्म क्रोल फिफाको एक्स्टर्नल अडिटर हो । फिफाले आफ्नो अनुदान लिने सदस्य संस्थाहरूको अडिट गराउनु परेको अवस्थामा क्रोलको सहायता लिने गरेको छ । एन्फाको सातदोबाटोस्थित मुख्यालय र एकेडेमी भवन मर्मत (रिनोभेसन) गर्दा, कर्मचारी नियुक्तीलगायतमा आर्थिक अनियमितता भएको आशंका फिफाले गरेको छ । फिफाले एन्फा मुख्यालय र एकेडेमी भवन मर्मतका लागी एन्फालाई तीन लाख २५ हजार अमेरिकी डलर पठाएको थियो । यसको नेपाली मूल्य अहिले ३८ करोडभन्दा बढी हुन्छ ।
इन्डोनेशियामा ६२ जना यात्रु लिएर उडेको विमान केही बेरमै सम्पर्कविहीन
इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको श्रीविजया एयरवेजको बोइङ ७३७ विमान उडेको केहीबेरमै विमानस्थलसँग सम्पर्कविहीन भएको छ । यस विमानमा ६२ जना यात्रु यात्रारत थिए । फ्लाइट ट्रेकिङ वेबसाइट फ्लाइट राडर २४ डटकमका अनुसार यो विमान एक मिनेटभित्रै दस हजार फुट तल झरेको थियो । इन्डोनेसियाको उड्डयन मन्त्रालयका अनुसार विमान सम्पर्कविहीन भएलगत्तै खोजी तथा उद्धार प्रक्रिया सुरु गरिएको छ । यो विमान स्थानीय समयअनुसार शनिबार दिउँसो २ः४० बजेबाट सम्पर्कविहीन भएको छ ।
कोरोना संक्रमण भएका वेला भेटेको व्यक्तिबारे जानकारी लुकाउने महिलालाई जेल सजाय
सिंगापुरमा कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको समय आफूले भेटेको एकजना व्यक्तिबारे जानकारी लुकाएकी एक महिलालाई जेल सजाय सुनाइएको छ । सिंगापुरका सञ्चारमाध्यमहरूले जनाएअनुसार ६५ वर्षीया ओबी हिवकलाई जेल सजाय सुनाइएको हो ।उनले कोरोना संक्रमित भएको समयमा भेटेको एकजना केटा साथीबारेको जानकारी लुकाएकी थिइन् । सिंगापुरका अधिकारीहरूले सिसिटिभी फुटेज र अरू माध्यममार्फत ती महिलाले केटा साथीलाई भेटेको सूचना लुकाएको पुष्टि गरेका हुन् । ती महिलाले आफ्नो परिवारले पुरुष साथीसँग भेटेको थाहा पाए गतल सोच्ने डरले जानकारी लुकाएको बताएकी छिन् । सिंगापुरले संक्रमण फैलन नदिन कठिन प्रयास गरिरहेको छ । त्यसमा उसले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरूको निगरानीलाई महŒवका साथ लिने गरेको छ । सरकारको यो प्रयासमा असहयोग गर्ने नागरिकमाथि सिंगापुरले जेल सजायसम्म दिने निर्णय गरेको छ ।
चीनले कोभिड १९ बारे अनुसन्धान गर्न डब्ल्युएचओका अनुसन्धानकर्तालाई अनुमति दियो
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसन्धानकर्ताहररूलाई चीनमा अनुसन्धानको अनुमति दिनका लागि चीन तयार भएको चीनले बताएको छ । विश्व स्वास्थ्य संगठनले कोभिड १९ भाइरसको उत्पत्तिको विषयमा चीनमा अनुसन्धान गर्ने इच्छा देखाएको थियो । तर, विगतमा भने चीनले विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरूलाई प्रवेश गर्न दिए पनि अनुसन्धान गर्न नदिने बताउँदै आएको थियो । तर, शनिबार चीनले ती अनुसन्धानकर्ताहरूलाई चीनमा अनुसन्धानका लागि अनुमति दिइएको बताएको छ । चीनको वुहान सहरमा कोभिड भाइरस उत्पत्ति भएको बताइएको छ । त्यस विषयमा विश्व स्वास्थ्य संगठनले अनुसन्धान गर्न चाहेको थियो । तर, चीन सरकारले दिएको थिएन । शनिबार चीनका एकजना वरिष्ठ स्वास्थ्य अधिकारीले यो जानकारी दिएका छन् । उनले भनेका छन् कि चीनले विश्व स्वास्थ्य संगठनका अनुसन्धान अधिकारीहरूलाई यस विषयमा अनुसन्धान गर्न अनुमति दिएको छ र आगामी केही दिनमा उनीहरूको आगमन हुने बताइएको छ ।
ट्रम्पले तत्काल राजीनामा नदिए संसदबाट उनीविरुद्ध महाअभियोग लगाइन्छ : पोलोसी
अमेरिकाको प्रतिनिधि सभाकी अध्यक्ष न्यान्सी पोलोसीले अझै पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले राजीनामा नदिए संसद्मा उनलाई हटाउन महाअभियोग प्रस्ताव पेससम्बन्धी प्रक्रिया सुरु हुने चेतावनी दिएकी छिन् । राष्ट्रपति ट्रम्पले आफ्ना समर्थकलाई क्यापिटोल भवन (संसद्) तोडफोड मच्चाउन उकासेको आरोप छ । ३ नोभेम्बरमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले हार व्यहोरे पनि उनले अझै हार स्वीकार गरेका छैनन् । राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आगामी २० जनवरीमा राष्ट्रपतिको शपथ तथा पदभार ग्रहण गर्दै छन् । यही क्रममा गत बुधबार क्यापिटोल भवनमा आयोजित संसद् बैठकमा ट्रम्पका समर्थकले वितण्डा मच्चाएका थिए । यसकारण पनि उनलाई तत्काल हटाउनुपर्ने पोलोसीको भनाइ छ । उनले भनिन्, ‘संसद्को अपेक्षा छ कि उनले तत्काल राजीनामा दिऊन् । यदि उनले यसो गरेनन् भने मैले उनीविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउन निर्देशन दिएको छु ।’
प्रधानमन्त्रीको सनकले जनताको अधिकार कुण्ठित गर्ने दुष्प्रयास : कांग्रेस प्रवक्ता शर्मा
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीको सनकले जनताको अधिकार कुण्ठित गर्ने दुष्प्रयास भएको बताएका छन् । उनले शासकको सनक र जनताको सपनाको बीचमा द्वन्द्व भइरहेको बताएका छन् । उनले अमेरिकी राष्ट्रपति ट्रम्प र ओलीका समानता केलाए । भने,-ट्रम्प बिदाइ भए, अब ओलीलीको पालो आएको छ । पल्लो कुनामा ट्रम्पवादले बिदाइ लिएको छ र वल्लो कुनामा भ्रमवादको अन्त्यको सुरुवात भएको छ ।
सुवास नेम्वाङ र अग्नि खरेललाई लिएर आउनुस्, खुलामञ्चमा सँगै बसेर संविधान पढौँ : गगन थापा
नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सँगै बसेर संविधान पढ्ने प्रस्ताव गरेका छन् । ‘प्रधानमन्त्री ओलीले हिजो धनगढीमा गएर संविधान पढ भन्नुभएको रहेछ । कमरेड ओली, आउनुस् ! पढौँ संविधान । तपाईं मैदान छाडेर भागेर लुकेर बस्नुभएको सुुवास नेम्वाङलाई लिएर आउनुस्, म संविधान ढोगेर जारी गर्ने पूर्वराष्ट्रपति डा.रामवरण यादवलाई लिएर आउँछु, खुलामञ्चमा सँगै बसेर संविधान पढौँ,’ काठमाडौं क्षेत्र नं. ४ ले कपनमा गरेको कार्यक्रममा नेता थापाले भने । उनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक मात्रै नभएर चरम गैरजिम्मेवारीपूर्ण काम भएको बताए । ‘संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छ भनेर अदालतले फैसला ग¥यो भने प्रधानमन्त्रीज्यू, अदालत पनि विघटन गरिदिए हुन्छ,’ उनले भने, ‘किनभने संविधानमा नलेखिएको कुरा गर्न पाइन्छ भनेपछि त त्यो पनि पाइन्छ ।’
निजी तथा गैरसरकारी अस्पतालले बनाए गर्भवतीको बिचल्ली, परोपकार बन्यो सारथि
राति १२ बजे सुत्केरी बेथा लागेपछि काठमाडौंको हात्तीगौँडाकी ३४ वर्षीया दिलु घिमिरेलाई २२ असोज राति नै परिवारजनले थापाथलीस्थित नर्भिक अस्पताल पु¥याए । ३४ हप्ताकी गर्भवती दिलुलाई केही जटिलता देखियो कि भनेर आत्तिँदै नर्भिक पुर्याए, तर चिकित्सकले हेरेनन् । यसअघि नर्भिक नै जाने उनलाई त्यहाँ कार्यरत डा. नूतन शर्माले नियमित हेर्दै आएकी थिइन् । राति आठ घन्टा कुर्दा पनि कुनै चिकित्सक नआएको उनकी बहिनी तुलसा घिमिरे बताउँछिन् । दिलुलाई नियमित हेर्दै आएकी डा. शर्माले फोनमा भनेकी थिइन्, ‘तुरुन्तै अस्पताल ल्याएर भर्ना गर्नू, म अस्पतालमा भनेर व्यवस्थापन गर्छु र भोलि अप्रेसन गर्छु ।’ त्यसबीचमा नर्भिकले निकै महँगा परीक्षण गराइसकेको थियो ।
प्रधानमन्त्रीको गृहजिल्लामा पूर्वराजाको सक्रियता (फोटोफिचर)
देशमा राजावादीहरूले राजसंस्था पुनस्र्थापनाको माग गर्दै आन्दोलन गरिरहेका वेला पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय भएका छन् । सार्वजनिक कार्यक्रममा विरलै देखिने पूर्वराजा प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाको एक सार्वजनिक कार्यक्रममा शनिबार सहभागी भए । यद्यपि, उनले भाषण भने गरेनन् । भद्रपुर–२ स्थित गौरीशंकरमा रहेको सिंहदेवी आधारभूत विद्यालयमा हिमानी ट्रस्टले आयोजना गरेको राहत वितरण कार्यक्रममा उनी सहभागी भएका हुन् । कार्यक्रमस्थलमा उनी करिब एक घन्टा रहे । उक्त कार्यक्रममा शाहसँगै पूर्वयुवराज्ञी हिमानी र छोरा हृदयेन्द्र पनि सहभागी भएका थिए । कार्यक्रममा सहभागी पूर्वराजाले जातीय पहिरनमा सजिएका बालिकाहरूलाई स्टेजमै बोलाएर केहीबेर सँगै बसे ।