१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o६:४८:oo
Read Time : > 2 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कोरोनाको नयाँ स्वरूप : बेलायतमा डेढ महिना लकडाउन

मध्यफेब्रुअरीसम्म सबै स्कुल बन्द रहने, स्वास्थ्य र फिटनेस कायम राख्न हप्तामा एक दिन मात्र बाहिर आउन पाउने अनुमति

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:४८:oo

कोरोना भाइरसको नयाँ स्वरूप अनियन्त्रित ढंगले फैलिएपछि बेलायतमा सोमबारदेखि डेढ महिना लकडाउनको घोषणा भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले २०२१ मार्चसम्म कडा लकडाउन भएको घोषणा गरेका हुन् । उनले सबैलाई लकडाउन अवधिमा कडा नियम पालना गर्नुपर्ने निर्देशन दिएका छन् । कोरोनाबाट मृत्युदर नबढोस् भनी लकडाउन गर्नुपरेको जोनसनको भनाइ छ । बेलायतमा अहिलेसम्म कोरोनाबाट २७ लाख १३ हजार संक्रमित भइसकेका छन् । ज्यान गुमाउनेको संख्या ७५ हजार ३४१ पुगेको छ ।

बेलायतमा मध्यफेब्रुअरीसम्म सबै स्कुल बन्द हुनेछन् । तर, प्रधानमन्त्री जोनसनले ग्रामीण भेगका स्कुल तथा कलेजका विद्यार्थीहरूलाई पठनपाठन गराउन सकिने अनुमति दिएका छन् । यस्तो अवस्थामा विद्यार्थीको संख्या आधा मात्र हुनुपर्नेछ । स्वदेशी तथा विदेशी नागरिकलाई घरभित्र रहनुपर्ने निर्देशन जारी भएको छ ।

७० वर्षमाथिका व्यक्तिलाई घरबाट बाहिर ननिस्कन भनिएको छ । फ्रन्टलाइनमा काम गर्ने सबैलाई आपत्कालीन अवस्थामा रहन निर्देशन दिइएको छ । फेब्रुअरीको मध्यसम्म सबैले भ्याक्सिन पाउन सक्ने उनको भनाइ छ । स्वास्थ्य र फिटनेस कायम राख्न हप्तामा एक दिन मात्र बाहिर आउन पाउनेछन् । बिहान र साँझ मात्र एक्सरसाइज गर्न मिल्नेछ । ४ जनवरीदेखि नै रात्रिकालीन पसल बन्द भइसकेका छन् ।

बेलायतमा सोमबार ५८ हजार ७८४ जना संक्रमित भएका थिए । पछिल्लो २८ दिनमा ४०७ जना व्यक्तिको निधन भएको छ । ‘हामीलाई कोरोना नियन्त्रण गर्न निकै दबाब बढेको छ,’ जोनसनले भने, ‘पहिलेभन्दा अहिले संक्रमित संख्या बढी छ, यसैकारण सरकारमाथि दबाब बढेको हो ।’ 

सोमबार नै स्कट्ल्यान्डका फस्ट मिनिस्टर निकोला स्टुगनले सबैलाई घरमै बस्न आग्रह गरेका छन् । स्कटिस सरकारले लकडाउनको घोषणा गर्दै जनतालाई कम्तीमा जनवरी महिनासम्म बाहिर ननिस्कन भनिएको छ । स्कट्ल्यान्डमा स्कुल, सार्वजनिक, धार्मिक तथा डिस्को बार बन्द भएका छन् । ‘यो अवस्था जटिल छ, हामी सबै समाधानको बाटोतर्फ लागिरहेका छौँ, गत वर्ष मार्च महिनामा लकडाउन गरिएको थियो,’ मन्त्री स्टुगनले भने, ‘गत वर्षभन्दा यसपटक फैलिरहेको कोरोना भाइरसको नयाँ स्वरूप अलि फरक पाएका छौँ ।’ वेल्समा भने २९ डिसेम्बरमै लकडाउन भइसकेको थियो । यहाँ १८ जनवरीसम्म कलेज तथा स्कुल बन्द छन् । उत्तरी आयरल्यान्डमा २६ डिसेम्बरबाट ६ साता लकडाउन घोषणा भएको थियो । 

न्युयोर्कमा पनि देखियो नयाँ भाइरस
न्युयोर्कमा नयाँ भाइरस देखिएको बिबिसीले जनाएको छ । न्युयोर्कका गभर्नर एन्ड्रयु क्युमोले नयाँ संक्रमित देखिएको स्पष्ट पारेका छन् । यसअघि अमेरिकाका कोलोराडो तथा क्यालिफोर्नियामा पनि नयाँ भाइरस देखिएको थियो । विश्वभरि अहिलेसम्म आठ करोड ६१ लाख संक्रमित भएका छन् । कोरोना भाइरसका कारण १८ लाख ६० हजार चार सयजनाले ज्यान गुमाइसकेका छन् ।

जर्मनी तथा डेनमार्कमा खोपको दोस्रो डोज
बेलायतले कोरोना तथा नयाँ स्वरूपको भाइरसविरुद्ध लड्न लकडाउन घोषणा गरेको छ । कोभिडविरुद्धको भ्याक्सिन खोप लगाउने अभियान पनि जारी छ । अर्कोतर्फ, युरोपका अन्य विकसित राष्ट्र पनि कोरोनाबाट धेरै प्रभावित बनेका छन् ।

जर्मनी तथा डेनमार्कमा भ्याक्सिनको दोस्रो डोज दिन थालिएको छ । जर्मनीमा अहिलेसम्म १७ लाख ९६ हजार २१६ र डेनमार्कमा एक लाख सात हजार ८७ नागरिकले खोप लिएको एजेन्सीहरूले जनाएका छन् । दुवै देशमा एस्ट्राजेनेका तथा फाइजर खोप दिइएको छ । बेलायत, डेनमार्क तथा जर्मनीमा तेस्रो डोज पूरा हुन १२ साता लाग्नेछ । अमेरिकाले भने युरोपले अपनाएको खोप विधि नअपनाउने जनाएको छ । 

क्यानेडियन सरकारले कोरोना भाइरस नियन्त्रण नहुँदासम्म बिदामा रहेका कर्मचारीलाई मनोरञ्जन गर्न प्रतिबन्ध लगाएको छ । सरकारको अनुमतिविना यस्तो कार्य गर्नेविरुद्ध कारबाहीको तयारी भइरहेको छ । यसैबीच, सरकारका केही पदाधिकारी छुट्टी मनाउन निस्कँदा बर्खास्त भएका छन् । एल्बर्टो राज्यका मुख्यमन्त्री जेनसन केनीले आफ्ना राज्यका सबै मन्त्री तथा सरकारी पदाधिकारीलाई छुट्टी नमनाउन आग्रह गरेका छन् ।

दक्षिण कोरियामा कोरोना नियन्त्रण
गत वर्ष कोरोना भाइरसविरुद्ध एसियन राष्ट्र दक्षिण कोरियाले उत्कृष्ट रणनीति अपनाएको थियो । यसैकारण, दक्षिण कोरियामा कोरोना भाइरस त्यति फैलन पाएन । अहिले दक्षिण कोरियामा कोरोनाको दोस्रो लहर चलिरहेको छ । सोल, इन्चोन र बुसानजस्ता सहरका अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई विशेष जाँचपछि मात्र प्रवेश दिइएको छ ।

दक्षिण कोरियाको जनसंख्या साढे पाँच करोड छ । अहिलेसम्म १० लाख कोरियन संक्रमित भइसकेका छन् । जसमध्ये दोस्रो चरणमा केवल १२ सय ५३ जनामात्र संक्रमित भएका छन् । कोरियन सरकारले विमानस्थलबाट बाहिरिने यात्रुहरूलाई अनिवार्य रूपमा केएफ ९४ मास्क लगाउन निर्देशन जारी गरेको छ । 
 एजेन्सीहरूको सहयोगमा 
 

ad
ad