मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सुनसरीको रिलायन्स स्पिनिङ मिल
नवीन अर्याल काठमाडौं
२०७७ पौष १७ शुक्रबार १०:१२:००
Read Time : > 5 मिनेट
अर्थ प्रिन्ट संस्करण

लकडाउनपछि लय पक्रँदै निर्यातजन्य उद्योग

Read Time : > 5 मिनेट
नवीन अर्याल, काठमाडौं
२०७७ पौष १७ शुक्रबार १०:१२:००

लकडाउनका चार महिना ठप्प उद्योग अब पुरानै लयमा फर्किएका मात्रै छैनन्, लगानी विस्तारसमेत गरिरहेका छन् धागो, पस्मिना, वायर, जुत्ता, गलैँचा, तयारी पोशाकलगायतको निर्यात गत वर्षभन्दा पनि बढ्यो

कोरोना महामारीका कारण लकडाउनको अवधिमा उत्पादन र निर्यात न्यून रहेको सुनसरीको रिलायन्स स्पिनिङ मिल अहिले पूर्ण क्षमतामा सञ्चालनमा आइसकेको छ । उद्योगमा अहिले मासिक २२ सय मेट्रिकटन धागो उत्पादन भइरहेको सञ्चालक पवन गोल्यानले बताए ।

यो कोभिड सुरु हुनुअघिको तुलनामा १० प्रतिशत बढी हो । रिलायन्सले चालू आर्थिक वर्ष ०७७÷७८ को पाँच महिना (साउन–मंसिर)मा २ अर्ब २३ करोड १७ लाखको धागो निर्यात गरिसकेको छ । साथै, आन्तरिक बजारमा पनि ८३ करोड ८६ लाखको धागो बिक्री गरेको छ । 

बाराको त्रिवेणी स्पिनिङ मिल पनि ७० प्रतिशतभन्दा बढी क्षमतामा सञ्चालनमा आइसकेको छ । मासिक १२ सय मेट्रिकटन धागो उत्पादन क्षमता भएको उद्योगबाट ९ सय मेट्रिकटन धागो उत्पादन भइरहेको सञ्चालक रामचन्द्र संघाईले बताए । भैरहवास्थित जगदम्बा स्पिनिङ मिल पनि ८० प्रतिशत क्षमतामा चलिरहेको छ ।

दैनिक ३० मेट्रिकटन धागो उत्पादन क्षमता रहेकोमा अहिले २४–२५ मेट्रिकटन उत्पादन भइरहेको सञ्चालक विष्णु न्यौपानेले बताए । निर्यातको अवस्था राम्रो हुँदाहुँदै पनि कामदार अभावले उद्योग पूर्ण क्षमतामा चलाउन नसकिएको उनको भनाइ छ । 

नेपालमा रिलायन्स, त्रिवेणी, जगदम्बा र जय स्पिनिङ गरी चारवटा धागो उद्योग सञ्चालनमा छन् । यी उद्योगको उत्पादनमध्ये करिब ७० प्रतिशत निर्यात हुन्छ । ‘लकडाउनको अवधिमा उद्योगहरू प्रभावित भए पनि अहिले राम्रोसँग चल्न थालिसकेका छन्,’ रिलायन्सका सञ्चालक गोल्यान भन्छन्, ‘अहिले विदेशबाट पनि राम्रो माग आउन थालेको छ ।’

ठूलो परिमाणमा धागो उत्पादन हुने भारतमा अझै कोरोनाको प्रभाव कायम रहेकाले त्यहाँ राम्रोसँग उद्योग सञ्चालनमा आउन सकेका छैनन् । त्यही कारण पनि भारतीय बजारमा नेपाली धागोको माग बढेको उनको भनाइ छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार कोभिड महामारीबीच चालू आर्थिक वर्ष ०७७/७८ को चार महिनामा २ अर्ब ४२ करोड ८८ लाखको धागो निर्यात भएको छ ।

गत वर्षको सोही अवधिमा २ अर्ब ५६ करोड ९४ लाखको धागो निर्यात भएको थियो । चालू आवको पहिलो चार महिनामा भारततर्फ १ अर्ब ९४ करोड १६ लाखको धागो निर्यात भएको देखिन्छ । गत आवको चैतदेखि असारसम्म धागो उत्पादन र निर्यात प्रभावित भएपछि कारोबार रकम पनि करिब डेढ अर्ब घट्न पुगेको हो ।

 चार महिनामा दुई अर्बको जुत्ता निर्यात
भैरहवा–भुमही करिडोरमा रहेको जुत्ता–चप्पल फ्याक्ट्री एक्सन पोलिमर्स प्रालि कोभिडको सुरुवाती पाँच महिना करिब बन्द नै भयो । लकडाउनले विदेशबाट कच्चा पदार्थ आयात गर्न सकेन । तर, पछिल्लो समय उद्योग राम्रोसँग चल्न थालिसकेको कम्पनीका अध्यक्ष राजेश अग्रवाल बताउँछन् । अहिले मासिक १ लाख जोर सोल तथा जुत्ता–चप्पल निर्यात भइरहेको छ । जबकि कोभिडअघि ५०–६० हजार जोर मात्र निर्यात हुन्थ्यो । उनी भन्छन्, ‘कोभिडले भारतमा अझै उद्योग प्रभावित भएको तथा ५–६ महिना बन्दको प्रभावले पनि निर्यात बढेको छ ।’  

बहुचर्चित ब्रान्ड गोल्डस्टारको उद्योगले पनि कोभिडले प्रभावित भएपछि मास्क, पिपिईलगायत सुरक्षा सामग्री उत्पादन गर्‍यो । तर, अहिले जुत्ता–चप्पल उत्पादन सुरु भइसकेको र निर्यात पनि बढेको सञ्चालक अमिर राणा बताउँछन् । ‘अझै पनि उद्योग आधा क्षमतामा चलिरहेको छ, कोभिडपछि दक्ष जनशक्तिको अभाव भइदिँदा उद्योग पूर्ण क्षमतामा चलाउन सकिएको छैन,’ उनी भन्छन्, ‘अहिले उत्पादन गर्न सकेमा भारतमा निर्यातको राम्रो सम्भवना छ ।’

भारतीय बजारमा असोजदेखि फागुनसम्म जुत्ताको राम्रो सिजन मानिन्छ । ठण्डा मौसममा त्यहाँ जुत्ता धेरै बिक्री हुन्छन् । त्यसपछि प्रायः गर्मी चढ्ने हुनाले चप्पल बढी बिक्री हुने राणा बताउँछन् । राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आवको पहिलो चार महिना २ अर्ब १० करोड १६ लाखको जुत्ता–चप्पल र सोल निर्यात भएको देखिन्छ । गत वर्षको चार महिनामा १ अर्ब ७१ करोड ७८ लाखको मात्र जुत्ता–चप्पल निर्यात भएको देखिन्छ । गत आवभरिमा ५ अर्ब २६ करोड २२ लाखको जुत्ता–चप्पल र सोल निर्यात भएको राष्ट्र बैंकको तथ्यांक छ ।

 वायर निर्यात बढ्यो
मुलुककै सबैभन्दा ठूलो वायर उत्पादक तथा निर्यातकर्ता कम्पनी हुलास वायरले निर्यात सुरु गरिसकेको छ । राष्ट्र बैंकको तथ्यांकले भन्छ, ‘चालू आवको पहिलो चार महिनामा २१ करोड ३४ लाख मूल्यबराबरको वायर भारतमा निर्यात भएको छ ।’ यो निर्यात गत वर्षको सोही अवधिको तुलनामा ०.४ प्रतिशतले बढी हो ।

गत वर्षको पहिलो चार महिनामा २१ करोड २५ लाखको वायर निर्यात भएको थियो । पछिल्लो समय वायरको निर्यात घट्दै गइरहेको थियो । अघिल्लो आव ०७५÷७६ मा २ अर्ब १५ करोडको वायर निर्यात भएकोमा गत आव ०६६÷७७ मा ६१ करोड ७६ लाखको वायर निर्यात भएको देखिन्छ । जुन ६३.४ प्रतिशत कम हो । गत आवमा कोभिडका कारण तीन महिना उत्पादन तथा निर्यात अवरुद्ध भएको थियो । 

डाबर नेपाल पनि सबैभन्दा ठूलो निर्यातकर्ता बहुराष्ट्रिय कम्पनी हो । यो कम्पनीले सबैभन्दा बढी निर्यात गरेर सिआइपी सम्मान पाउँदै आइरहेको छ । कुनै समय वार्षिक ४ अर्ब भारतीय रुपैयाँसम्मको जस्तापाता निकासी गर्ने आरती स्ट्रिप्स पछिल्ला वर्षहरूमा समस्यामा परेको छ ।

यो उद्योगको कारोबार निरन्तर ओरालो लाग्दै ६५ करोड ७९ लाखमा खुम्चिएको छ । यो उद्योगले भूकम्पपछि जस्तपातासँगै जिआई पाइप, एमएस ब्ल्याक पाइम, आरपिजी क्वायल, पिपिजिआई क्वायलजस्ता निर्माण सामग्री उत्पादन गरेर निर्यात गर्न थालेको थियो । कारोबार खस्किन थालेपछि उद्योगका भारतीय लगानीकर्ता उद्योग बन्द गर्ने मनस्थितिमा पुगिसकेको बताइन्छ । उद्योगको लगानीकर्ता भारतीय बहुराष्ट्रिय कम्पनी भूषण ग्रुप टाट पल्टिएसँगै आरती स्ट्रिप्सको पनि दुर्दिन सुरु हुन थालेको हो ।

 पस्मिना निर्यात २६ प्रतिशतले वृद्धि
नेपालमा ठूलो परिमाणमा निर्यात हुने पस्मिना पनि हो । यतिवेला युरोप, अमेरिका, अस्ट्रेलियालगायत मुलुक नयाँ वर्षको पूर्वसन्ध्यामा छन् । यो समय उनीहरू किनमेलमा ठूलो खर्च पनि गर्छन् । पस्मिना उद्योग संघका निवर्तमान अध्यक्ष दुर्गाविक्रम थापाका अनुसार अहिले पस्मिनाको उत्पादन निर्यात राम्रै भइरहेको छ ।

‘पहिलाको पनि अर्डर थियो, लकडाउन खुकुलो भएसँगै निर्यात बढिरहेको छ,’ उनी भन्छन्, ‘गत आवको पहिलो चार महिनाको तुलनामा यस वर्षको सोही अवधिमा पस्मिना निर्यात २६ प्रतिशतले बढेको छ ।’ राष्ट्र बैंकको तथ्यांकअनुसार कोभिडको कहरबीच चालू आवको मंसिरसम्म १ अर्ब रुपैयाँबराबरको पस्मिना निर्यात भएको छ, जबकि गत वर्षको सोही अवधिमा ७९ करोड ४९ लाख रुपैयाँको पस्मिना निर्यात भएको थियो ।

गत आवभरि भने अघिल्लो आवको तुलनामा पस्मिना निर्यात घटेको देखिन्छ । आव ०७५÷७६ मा १ अर्ब ९० करोड ९७ लाखको पस्मिना निर्यात भएको थियो भने आव ०७६÷७७ मा घटेर १ अर्ब ७६ करोड ३६ लाखको पस्मिना निर्यात भएको देखिन्छ । ‘कोभिडले धेरै समय अवरोध हुँदा एक्कासि अर्डर बढेको हो कि साँच्चिकै अर्डर बढ्न थालेको हो, जनवरी र फेबुअरीको अर्डरले थाहा हुनेछ,’ उनी सुनाउँछन् । पस्मिना निर्यात बढे पनि अझै उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आइसकेका छैनन् ।

 कार्पेट निर्यात बढ्न थाल्यो
प्रमुख निर्यातयोग्य वस्तु गलैँचा पनि कोभिडबाट त्यति प्रभावित भएको छैन । नेपाल निर्यात व्यवसायी महासंघका अध्यक्ष रामबहादुर गुरुङका अनुसार निर्यात पुनः बढ्न थालेको छ । कोभिडका कारण कार्पेटको उत्पादन र निर्यातमा २५–३० प्रतिशत हाराहारी ह्रास आएको थियो । ‘लकडाउनको सुरुवाती चार महिना निर्यात हुन सकेन,’ उनी भन्छन्, ‘साउनदेखि भने निर्यात बिस्तारै बढ्दै गइरहेको छ ।’ उनका अनुसार अब निर्यात बढ्छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आवको पहिलो चार महिनामा १.५ प्रतिशतले बढेर २ अर्ब ६० करोड ७० लाखको उलन कार्पेट निर्यात भएको छ । गत वर्षको सोही अवधिमा २ अर्ब ५६ करोड ९४ लाख रुपैयाँको उलन कार्पेट निर्यात भएको थियो । गत वर्षभरिको कुरा गर्दा कोभिडले निर्यातमा प्रभाव पारेको देखिन्छ । आव ०७५/७६ मा ७ अर्ब ३५ करोड ९८ लाखको कार्पेट निर्यात भएको थियो । आव ०७६/७७ मा तीन महिना लकडाउन हुँदा कार्पेटको निर्यात घटेर ६ अर्ब १५ करोड ५० लाखमा खुम्चिएको छ ।

 लगानी थप्दै व्यवसायी
 

 

लकडाउनको सुरुवातमा केही महिना उत्पादन र निर्यातमा प्रभाव परे पनि नयाँ वर्ष नजिकिएसँगै निर्यात बढ्न थालेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । रिलायन्स मिलमा डेढ अर्ब लगानी थपेर एक्स्पान्सको काम पूरा भइसकेको छ । गोल्यानका अनुसार आगामी १५ माघसम्म उद्योगबाट मासिक २६ सय मेट्रिकटन धागो उत्पादन सुरु भइसक्नेछ । यस्तै, अर्को डेढ अर्ब लगानी थपेर कटन धागो पनि उत्पादन गर्न लागेको उनले बताए ।

‘डेढ–दुई वर्षभित्र कटन धागो पनि उत्पादन गरिसक्छौँ,’ उनी भन्छन्, ‘भारत, टर्की, कोरिया, खाडीलगायत मुलुकमा नेपाली धागोको माग उच्च छ, अझ बंगलादेशमा पनि निर्यात सुरु हुन बाँकी छ ।’ रिलायन्सले आव ०७५÷७६ मा आन्तरिक र बाह्य बजारमा ७ अर्ब ४० करोड र आव ०७६/७७ मा ६ अर्ब ११ करोडको धागो बिक्री गरेको थियो । कटन धागो उत्पादन हुँदा रिलायन्स मिलमा लगानी १० अर्ब रुपैयाँ पुगिसकेको हुनेछ । 

लकडाउनसँगै बोर्डरमा पनि कडाइ हुँदा चोरी–पैठारी र न्यून बिजकीकरण गरेर मालसामान भित्रिन नपाउँदा नेपाली उद्योगहरू राम्रोसँग चल्न थालेको गोल्यानको तर्क छ । ‘हामीले वर्षौँदेखि सरकारलाई भनिरहेको कुरा कोभिडले प्रमाणित गरिदियो,’ उनी भन्छन्, ‘यदि बोर्डर टाइट भएमा नेपाली उत्पादनले पक्कै पनि फड्को मार्छ ।’ अहिले नेपाली गार्मेन्ट उद्योगलाई कपडा बनाउन भ्याइनभ्याई छ ।

यसअघि चिनियाँ र भारतीय कपडा राख्ने होलसेल र खुद्रा पसलमा अहिले नेपाली कपडा देखिन्छ । ‘अहिले आन्तरिक बजारमा पनि उत्पादनभन्दा माग बढी छ, कपडा र गार्मेन्ट उद्योग व्यस्त छन्,’ उनी थप्छन्, ‘धेरै वर्षपछि गार्मेन्ट उद्योग पूर्ण क्षमतामा चलिरहेका छन् ।’ अहिले आन्तरिक बजारमा पनि धागोको माग बढेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आवको चार महिनामा १ अर्ब ३१ करोड ८१ लाखको रेडिमेड गार्मेन्ट निर्यात भएको छ, जबकि गत वर्षको सोही अवधिमा १ अर्ब २७ करोड ६१ लाखको रेडिमेड गार्मेन्ट निर्यात भएको थियो । यस्तै, यस चार महिनामा १ अर्ब २ करोडको टेक्सटायल निर्यात भएको छ । नेपालबाट निर्यात हुने मुख्य वस्तुहरूमा धागो, वायर, कार्पेट, अलैँची, पस्मिना, गार्मेन्ट, जुत्ता–चप्पल, जुट, गेडागुडी, आयुर्वेदिक औषधिलगायत पर्छन् । राष्ट्र बैंकका अनुसार चार महिनामा २ अर्ब १० करोडको जुट आइटम, १ अर्ब ५३ करोडको अलैँची, १ अर्ब ३३ करोड ९० लाखको जुस निर्यात भएको देखिन्छ ।