कुशल नेतृत्व चयनको सुनिश्चितता हुन सके हिमालको हावा, पानी, उचाइ र योग बेचेर देशलाई धनी बनाउने सपना बोलीमा होइन, व्यवहारमा पूरा हुन सक्छ
राष्ट्रिय झन्डाले जहाँ पनि नेपाल र नेपालीलाई प्रतिनिधित्व गरिराखेको हुन्छ, तर यसको महत्व र विज्ञान कतिलाई थाहा होला ? यो अरू देशको झन्डा जस्तो होइन, यसको इतिहास खोज्न हाम्रा हजारौँ वर्ष पुराना मन्दिर र सम्पदाहरूको गहिरो अध्ययन चाहिन्छ । राष्ट्रिय झन्डाको हाम्रो देशभन्दा पनि निकै पुरानो इतिहास छ ।
अधिकांश मानिसले जीवनभर आफ्नो शरीर नै सूक्ष्म रूपमा नियालेका हुँदैनन् । तपाईंले यो लेख पढ्दै गर्दा आफ्नो श्वासप्रश्वास हेर्नुभयो भने एउटा नाक बढी खुलेको र अर्को कम खुलेको पाउनुहुन्छ । घरी देब्रेले बढी काम गर्छ, घरी दाहिनेले । यही श्वासप्रश्वासलाई सन्तुलित र अधीनस्थ राख्नका लागि पनि निकै ठूलो मिहिनेत र तपस्या चाहिन्छ । हाम्रो राष्ट्रिय झन्डाले सिकाउने र प्रतिनिधित्व गर्ने अनेक विज्ञानमध्ये यो पनि एक हो । यस लेखमा यिनै विषयलाई आधुनिक सन्दर्भमा विस्तारपूर्वक राख्ने प्रयास गरिएको छ ।
सदियौँदेखि स्वतन्त्र र आर्थिक तथा प्राकृतिक रूपमा सम्पन्न देश नेपाल विश्वलाई सही दिशाबोध गर्न सक्ने क्षमता भएका योगीहरूको योगभूमि हो । यो देश वा क्षेत्रमा विश्वका चिरपरिचित विश्वविद्यालय थिए । यो भूमि विभिन्न कालखण्डमा प्रतिष्ठित ऋषि र योगीहरूको साधनाको केन्द्रका रूपमा रहँदै आएको छ, जसको विश्वबजारमा निकै ठूलो माग थियो । नेपालमा करिब ९४ प्रतिशतभन्दा बढी जनसंख्या यही विज्ञानमा टेकेको सनातन आस्थाको छहारीमा बस्दै आएको ठूलो प्रमाण सनातनदेखिको विज्ञानमा आधारित राष्ट्रिय झन्डा नै हो ।
हठ योगका जन्मदाता गुरु मत्स्येन्द्रनाथ (जसको आराधना काठमाडौंका जात्राहरूमा गरिन्छ), उनका शिष्य गोरखनाथ, ऋषि पतञ्जलि, स्वयं भगवान् शिवले रूप धारण गरी स्थापित रहेको पशुपतिनाथ र पछिल्लो समय गौतम बुद्धले जन्म लिएको देवभूमि हो, नेपाल । प्राचीन कालमा नेपालमा राजा–महाराजा वा प्रधानमन्त्रीहरूको पनि गुरु वा सल्लाहकार यिनै विश्वविख्यात वैज्ञानिक तथा प्रोफेसर अर्थात् ऋषि तथा योगी थिए । ती पूजनीय थिए । कृष्ण मन्दिर र त्यसको वरपरको जलस्रोतको व्यवस्थापन, पशुपतिनाथ वा न्यातपोलका संरचना, यस्तै प्राचीन (अरनिकोजस्तै) प्राविधिक वा इन्जिनियरले बनाएका थिए । हजारौँ वर्षसम्म हाम्रो हिमालय क्षेत्रमा विश्वको अर्थतन्त्र केन्द्रित थियो । तर, जम्मा २०० देखि ३०० वर्ष पुरानो इतिहास बोकेको पश्चिमा विज्ञान र अर्थतन्त्रको प्रकोप कति शक्तिशाली भएको छ भन्ने त कोरोना भाइरस, जलवायु परिवर्तन तथा डरलाग्दो जीव तथा वनस्पति प्रजातिको नाशले जगजाहेर गर्छ । विश्वले प्रकृतिसँग जुध्ने विज्ञान होइन, प्रकृतिलाई आत्मसात् गर्ने हाम्रै योगीहरूको विज्ञान अनुसरण गर्नुको विकल्प छैन।
सुन्दा अनौठो लाग्ला, चीन र माइक्रोसफ्टको आफ्नो नेतृत्व छान्ने व्यवस्थामा धेरै समानता छ । यी दुवै व्यवस्थाले विज्ञान, क्षमता, पसिना र सोचलाई अनुसरण गर्छन् । बिल गेट्स वा चीनले जस्तै हामीले पनि नेपाल चलाउने हो भने हामी १५–२० वर्षमै कायापलट गर्न सक्छौँ ।
योग विद्या स्वयं भगवान् शिवबाट विभिन्न ऋषिहरू हुँदै आएको मानिन्छ । यसै क्रममा गुरु मत्स्येन्द्रनाथले यस विद्यालाई ग्रहण गरी हठ योगको रूपमा स्थापित गरे । यस विद्याले नेपाल तथा एसियाका अन्य देशहरूमा प्रभाव परेको भएता पनि हाल नेपालको झन्डाले मात्र योग वा विज्ञानको प्रतिनिधित्व गरिरहेको छ ।
चन्द्र–सूर्य र रातो–निलो रङको विज्ञान : सुरुमा माथि भनिएजस्तै हाम्रो श्वासप्रश्वास असन्तुलित छ । नेपालको झन्डाको चन्द्रमा इडा नाडी वा देब्रे नाकको प्रतीक हो भने झन्डाको सूर्य पिंगला नाडी वा दाहिने नाकको प्रतीक हो । हठ योगमा उल्लेख भएअनुसार चन्द्र र सूर्यबीचको मिलनलाई वा सजिलो भाषामा देब्रे र दाहिने नाकको श्वासप्रश्वास नियन्त्रणलाई योग भनिन्छ । यो नियन्त्रण गर्ने अवस्थामा पुग्न सहज छैन । तर, विभिन्न योगीले अष्ठांग योग विधि अपनाएर कपालभाँती, नाडीशुद्धि, भ्रामरी, भष्त्रिका जस्ता विभिन्न प्रकारका प्राणायामका माध्यमबाट दुई नाडीबीच सन्तुलन कायम गर्छन् । इडा नाडीलाई झन्डाको निलो रङले जनाउँछ भने पिंगला नाडीलाई झन्डाको रातो रङले जनाउँछ । योगको मूल उद्देश्य भनेकै यी दुई नाडीबीचको श्वासप्रश्वास सन्तुलन कायम गर्नु हो । जसको कारणले सुषुम्ना नाडीमा प्राण प्रतिष्ठान भई योगको अवस्थामा पुग्छन् ।
उदाहरणका लागि, कछुवाको श्वासप्रश्वासको गति निकै ढिलो हुन्छ र यसको उमेर करिब ३०० वर्ष हुन्छ । कुकुरको श्वासप्रश्वासको गति चाँडो हुने हुनाले उसको उमेर पनि कम अर्थात् करिब १२ वर्षजति हुन्छ । मानव शरीरमा पनि श्वासप्रश्वासको गति जति वेगमा हुन्छ, दिमागमा त्यति नै धेरै विचार प्रवाह हुने गर्छन्, जसले गर्दा विभिन्न प्रकारका रोगका लक्षणहरू स्थूल शरीरमा देखा पर्छन् र हाम्रो आयु घटाउँछ । तसर्थ, श्वासप्रश्वासमा नियन्त्रण गर्न सक्यौँ भने हामी निरोगी आयु बाँच्न सक्छौँ ।
त्रिभुजको विज्ञान र प्रकृतिसँगको सम्बन्ध : नेपालको झन्डाको तीनकुने आकृतिले अध्यात्मलाई जनाउँछ । दुईवटा भिन्न आकारका त्रिभुजले नेपालको अस्तित्वको अनन्तता (इन्फिनिटी)लाई जनाउँछ । नेपालमा सदियौँदेखि शक्तिपीठको पूजन हुँदै आएको छ र सोही शक्तिपीठलाई सूर्यले जनाउँछ, चन्द्रमालाई शिवको प्रतीक मानिन्छ । शिव र शक्तिको मिलनलाई नै योग मानिएको छ, तन्त्र विद्याअनुसार । नेपालमा यही तन्त्र विद्याको अभ्यास सदियौँ कालदेखि हुँदै आएको छ । योगमा दैवी शक्ति विभिन्न प्रकारका मठ–मन्दिरमा गएर प्राप्त नभई स्वयं आफूभित्र रहेको कुण्डलिनी शक्तिलाई आफ्नै चेतनाले जगाई प्राप्त गरिन्छ । यसरी आफ्नो कुण्डलिनी शक्ति जगाउन हिमालय नै सबभन्दा उपयुक्त ठाउँ हो । किनभने, समुद्र सतहको नजिक गुरुत्वाकर्षण र हावाको चाप बढी हुन्छ, हिमालमा कम हुन्छ । कहिलेकाहीँ भक्तिको मार्गबाट पनि आफ्ना गुरुलाई खुसी बनाई यस विद्याको शक्तिपात गरिन्छ । यसको मूल स्रोत हाम्रो शरीरमा भएको मूलाधार चक्र हो, जसलाई पनि रातो रङले नै जनाउँछ ।
अर्काे अर्थमा यी दुई भिन्न आकारका त्रिभुजले नेपालका हिमालय र उँचा पहाडलाई जनाई हामी नेपाली कृत्रिम मानवनिर्मित वस्तुभन्दा पनि प्रकृतिपूजक हौँ भन्ने सन्देश पनि दिन्छन् । हामीले हाम्रा मन्दिरहरू हेर्ने हो भने प्राय मन्दिर (पशुपतिनाथ वा मुक्तिनाथ)ले आस्थाका हिसाबले अर्बौं मानिसको प्रतिनिधित्व गरे पनि मन्दिरभित्र पाँचदेखि १० जना मानिस मात्र अटाउँछन् । हिमाल वा नदीको सामु जानु र पूजा गर्नुको अर्थ आफूलाई प्रकृतिसँग घुलमिल गराउनु र प्रकृतिमार्फत आफैँलाई बुझ्नु हो । विडम्बना नै भनौँ, अहिले विज्ञान र प्रकृतिलाई बिर्सिएर नेपालमा पनि ठूला–ठूला कंक्रिटका भवन वा मूर्ति बनाई त्यही कंक्रिटलाई पूजा गरिरहेका छन्, जुन हाम्रो सनातन आस्थाको विपरीत हो।
पृथ्वीनारायण शाह र ग्रेटा थनबर्ग : केही दशकअघिसम्म मानिस हप्ताको ७० देखि ८० घन्टा काम गरिरहेका थिए र निकै व्यस्त थिए । अहिले हप्तामा केवल ३० देखि ४० घन्टा मात्र काम गर्छन् । अहिलेको विज्ञान (रोबोटिक्स) र कृत्रिम बौद्धिकताले आउने केही दशकमै काम गर्ने समय निकै कम हुनेछ । यसरी फुर्सदिलो भएका मनिसको समयलाई कतै व्यवस्थित गर्न सकिएन भने आत्महत्या, डिप्रेसन र चरम असन्तुष्टिलगायतका मानवीय संकट यसैबाट निम्तिनेछ । आधुनिक भौतिक विकासले ल्याएको यो संकट पार लगाउने अचुक उपाय आध्यात्मिक योग र ध्यान नै हो । तसर्थ, विश्वव्यापी रूपमा यसको माग निकै छिटो अपत्यारिलो तरिकाले बढिरहेको छ । पश्चिमा मुलुकमा योग तथा ध्यान डढेलोको आगोसरी सल्किएको छ ।
यो आगोले आफ्नो संस्कार, संस्कृति बिर्सिएर पश्चिमा हावामा रमेका युवापुस्तालाई पनि आफ्नो जरामा फर्कन झकझकाइरहेको छ । विडम्बना ! आफ्नो संस्कारमा फर्किने यो प्रेरणा हामी युवाहरू आफैँले ल्याएको होइन, विदेशीले ल्याइदिएको हो । हामी युवाले आफ्नो संस्कार जोगाउन अब पनि पश्चिमाबाट नै अनुमति लिनुपर्ने हो ? पक्कै होइन । पृथ्वीनारायण शाहले भनेजस्तै विभिन्न जातजातिको यो साझा फूलबारीको हरेक संस्कार र संस्कृति जोगाउन हामीले पहलकदमी लिनुपर्नेछ । हामी समृद्धिको उदाहरणीय पथमा लम्किने हो भने पृथ्वीनारायण शाहको सोचभन्दा पनि निकै माथि उठ्न सक्नुपर्छ । मानवनिर्मित रेखाहरूले लडाइँ झैझगडा बढी नै उत्पन्न गराउँछन् । तसर्थ, प्राकृतिक रेखाहरूलाई प्राथमिकता दिँदै नेपाल देश मात्र नसोचेर सम्पूर्ण हिमालय क्षेत्रबारे नै सोच्नुपर्छ । हाम्रो राजनीतिक दिशा प्रकृतिले निर्धारण गर्ने हो भने अहिले विश्वभरि चलिरहेको राजनीतिले नै बाटो फेर्न सक्छ । मानवले प्रकृतिलाई जित्ने होइन, सहकार्य गर्ने हो । दुवैले दुवैलाई जोगाउने हो ।
अबको विश्वको बाटो यही नै हो भन्ने उदाहरण नोबेल पुरस्कारकी प्रतिस्पर्धी जलवायु परिवर्तनकी नेतृत्वकर्ता स्विडेनकी १७ वर्षीया गे्रटा थनबर्ग हुन् । उनले हाम्रो युवापुस्ताको नेतृत्व गर्छिन् । गे्रटा पूर्ण शाकाहारी हुन्, उनको लवाइखवाइ प्रकृतिलाई असर नगर्ने खालको छ, कतिसम्म भने वातावरण प्रदूषणको सन्देश विश्वलाई दिन उनी प्लेन पनि चढ्दिनन् । टाढा जानुपर्यो भने हप्तौँ लाग्ने कम प्रदूषणयुक्त ट्रेन वा पानीजहाजको प्रयोग गर्छिन् । यतिसम्म हुँदा पनि गे्रटालगायतको सोचसमेत हाम्रो सनातन आस्थाभन्दा केही कदम पछाडि छ । उनले प्रकृतिलाई जोगाउने त भन्छिन्, तर प्रकृतिलाई भावनात्मक रूपमा मानवसँग जोड्ने कुरा उनका पाइला र बोलीहरूमा कहीँ कतै भेटिँदैन । सायद यो उनको भन्दा पनि पश्चिमा विज्ञान र विश्वदृष्टिको कमजोरी हो । हाम्रा प्राचीन योग तथा दर्शनमा प्रकृतिमैत्री विश्वदृष्टिकोण र विज्ञान त छ, तर दुःखको कुरा, हिमालको पुस्ता अहिले स्विडेनकी गे्रटाजस्तो दिमागबाट विश्व सोच्ने स्थितिमा छैन, भोको पेटले खाना सोचिरहेको छ ।
नेपाल, झन्डा र ब्रान्ड : आउने दशकहरूमा हिमालको पानी, योग, ध्यान र संस्कृतिले विश्वमा निकै ठूलो बजार बनाउनेछ । हामी जलविद्युत् बेचेर धनी हुन्छौँ भन्दै गर्दा देशलाई आँखा देखाउने वैज्ञानिक र प्रोफेसरहरूलाई पनि वैदेशिक राजनीतिक वादका खोल ओढाएर अन्धो बनाई हामी सबै अन्धकारमा नै बस्यौँ । अब जलविद्युत्का दिन पनि ओरालो लाग्ने क्रममा छन् । ७० वर्षको हाम्रो सपना कहिल्यै बिपना नभएर तुहिने क्रममा छ । भाग्यवश फेरि हामीलाई हाम्रो विश्वकै फरक, गणितीय र वैज्ञानिक राष्ट्रिय झन्डामुनि हिमालको पानी, योग, ध्यान, ऋषि र संस्कृति संसारभरि ब्रान्ड बनाई फैलाउने अर्काे ठूलो सुअवसर आएको छ । यो मौकालाई अब हामीले कुनै पनि बहानामा गुमाउनु हुँदैन ।
दक्षिण एसियाको कुनै पनि तन्त्रमा कहिल्यै पनि योग्यहरूलाई स्वतन्त्र रूपले काम गर्नै दिइएन । प्रजातन्त्र, धर्म या वंशजको नाममा जहिले पनि कमसलले नै शासन गरे । हाम्रो ७० वर्षको समस्या नै यही हो र अहिले गणतन्त्रमा यो झन् पहिलेका व्यवस्थाभन्दा पनि विकराल रूप लिएर हरेक क्षेत्रमा फैलिएको छ ।
एप्पल, सामसङ, माइक्रोसफ्टजस्ता ब्रान्ड पूर्ण रूपमा आर्थिक स्थितिले निर्धारण गरेका हुन् । लसएन्जलस, न्युयोर्क, लन्डन, पेरिस, टोकियो वा सांघाई जानुस्, तपाईंले तात्विक फरक पाउनुहुन्न । यी सहर पूर्ण रूपमा भौतिक सुखसुविधाका लागि मात्र हुन्, भावनासँग जोडिएका हुँदैनन् । भौतिक वस्तु, चाहे जति विशाल होस्, त्यसले क्षणिक सन्तुष्टि मात्रै दिने हो । यता, हाम्रो हिमालको ब्रान्ड अर्थतन्त्रसँग होइन, प्रकृतिसँग जोडिएको छ र यो विश्वस्तरीय ब्रान्डको कुनै प्रतिस्पर्धी पनि छैन । हामीलाई चाहिएको सुविधासहितको मौलिक सभ्यता र संस्कार झल्कने स्थानीय सहरहरू हुन् । जसले हिमाल र योगलाई भौतिक शरीरसँग मात्र होइन, भावनासँग पनि जोड्न सकून् । न्युयोर्क र मनिलाभन्दा पूर्ण रूपमा हरेक हिसाबले फरक हुन् । जसरी एउटा आस्थावान् मानिस एकपटक होइन, बारम्बार मन्दिर जान्छ, त्यसैगरी यहाँको हिमालय क्षेत्र टेकेको मानिस पनि यो क्षेत्रमा बारम्बार फर्किएर आओस् ।
अबको शताब्दी एसियाको हुँदै छ । यसलाई हामीले अवसरमा ढाल्न सक्नुपर्छ । जसरी अमेरिकाले विश्व नेतृत्व गर्दा बेलायत र युरोपलाई कम्तीमा भावनात्मक लाभ भयो, त्यस्तै भारत र चीनले विश्वको नेतृत्व गर्दा नेपाललाई केही नभए पनि कम्तीमा आफ्नै पूर्वीय संस्कारको छहारी हुन्छ । पश्चिमा संस्कृतिभन्दा चिनियाँ वा भारतीय संस्कृतिले हामीलाई माथि उठ्न निकै सजिलो हुनेछ । जसरी अमेजन, गुगल, अलिबाबाले विश्वलाई नै आफ्नो बजार मान्छन् र यी कम्पनीको सबैभन्दा तल्लो तहका कर्मचारी पनि कम्पनीको जागिरे भएकोमा निकै खुसी हुन्छन् । हामीले पनि नेपाललाई एक कम्पनीजसरी चलाउन सक्छौँ र यहाँका तीन करोड जनता यसका जागिरे र यो कम्पनीको भिजन वा ग्राहकमा विश्वका आठ अर्ब मानिस मात्र होइन, सम्पूर्ण प्रकृति नै मान्न सक्छौँ । हामीले चाहेको आर्थिक समृद्धि त दुई अर्ब हिन्दू र बौद्धमा आस्तिकहरूलाई मात्र जोड्दा पनि पाउन सकिन्छ ।
ब्रान्ड निर्माण गर्ने व्यवस्था : विश्वका वा नेपालका कुनै पनि सफल कम्पनी हेरौँ, त्यहाँका सबै कर्मचारी निकै कडा प्रतिस्पर्धाबाट लिइएका हुन्छन्, जे काम गर्न लिइएका हुन्छन्, त्यही काम गर्छन्, त्यसमै पोख्त हुन्छन् । कतिसम्म भने बिल गेट्सले आफैँ स्थापना गरेको कम्पनी माइक्रोसफ्टको प्रमुख कार्यकारी आफैँ छान्दैनन्, न त त्यहाँका लाखौँ कर्मचारीले नै छान्छन् । यो काम विज्ञ समितिले गर्छ । खर्बाैं डलरको यो कम्पनी भारतका सत्य नाडेलाले हाँकिराखेका छन् । हामीले पनि हाम्रो देशका सम्पूर्ण मन्त्री बिल गेट्सले जस्तै छान्ने हो भने हामी पनि मेरो पुस्ताले साचेको खर्बाैं डलरको अर्थतन्त्र हाम्रै पुस्तामा निर्माण गर्न सक्छौँ । सुन्दा अनौठो लाग्ला, चीन र माइक्रोसफ्टको आफ्नो नेतृत्व छान्ने व्यवस्थामा धेरै समानता छ । यी दुवै व्यवस्थाले विज्ञान, क्षमता, पसिना र सोचलाई अनुसरण गर्छन् । बिल गेट्स वा चीनले जस्तै हामीले पनि नेपाल चलाउने हो भने हामी १५–२० वर्षमै कायापलट गर्न सक्छौँ ।
गाउँमा एउटा नजानेको मानिस रोपाइँमा गएर हलो समाउन खोज्यो भने हलीले हलो छुन पनि दिँदैन । तर, दोस्रो विश्वयुद्धपछिको ७० वर्षका हाम्रा मन्त्रीलाई हली वा गाडीको ड्राइभरको बुद्धिले पनि विश्वास गर्दैन, यो वातावरण विकास हुनुमा दोषी को ? यस्ता कमसल मन्त्रीहरूले इतिहास नै गाँजेर बसेका छन् । अनि हामी देश नबनेको दोष राणा, राजा, पञ्चायत, गणतन्त्र व्यवस्थालाई दिन्छौँ । हामीले गाउँको हली वा सामान्य कम्पनीको मोडेलमा मात्र पनि देश चलाउन सक्यौँ भने भविष्य उज्ज्वल छ । झन्डाले विश्वस्तरीय ब्रान्डको प्रतिनिधित्व गर्न सक्छ । महाभारतको युद्ध, राणाशाहीका भाइ–भारदारको खुलेआम हत्या, वीरेन्द्रको वंशनाश, १७ हजार मानिसको लासमाथि खडा पार्टीवाद, यी सबैमा समानता एउटा छ– रगत, वंशज वा पार्टीको अन्धभक्तिमा आधारित व्यवस्था । हाम्रो मूल समस्या राजतन्त्र वा गणतन्त्रमा होइन, नेतृत्व छनोटमा छ । राजाले रगत, पुरुषवाद र वंशजलाई प्राथमिकता दिन्छ, अहिलेको नेतृत्व चयनमा पनि त्यसको झल्को छँदैछ ।
बेलायतले भारतमा ल्याएको र भारतले नेपालमा ल्याएको प्रजातन्त्रको वा कम्युनिस्टले ल्याएको जर्मनको माक्र्सवाद वा समाजवादको नाममा हामीले हाम्रो देशलाई गिजोलेर अझै नपुगेकै हो त ? केही सय वर्षअगाडि हाम्रो क्षेत्रले कसरी विश्व हाँकेको थियो, एकपटक फर्केर समीक्षा गर्ने वेला भएको छ । पश्चिमाले चीनमा कम्युनिजम वा क्यापिटालिजम कुन व्यवस्था हो भनेर प्रश्न सोधिरहँदा उसले आफ्नै मोडेलमा विकास ग¥यो । सिंगापुरमा प्रजातन्त्र छैन भन्न पनि सकिँदैन, छ भन्न पनि सकिँदैन । उसले पनि आफ्नै मोडेलमा कायापलट गर्यो । भारतमा मोदीको पहिलो कार्यकालमा केही आशा गरिएको थियो, अहिले आएर देखावटी प्रजातन्त्र र धर्मको भुमरीमा फसेको छ, जहाँबाट अब सजिलै निस्कन उसलाई गाह्रो छ ।
निचोड के हो भने दक्षिण एसियाको कुनै पनि तन्त्रमा कहिल्यै पनि योग्यहरूलाई स्वतन्त्र रूपले काम गर्नै दिइएन । प्रजातन्त्र, धर्म या वंशजको नाममा जहिले पनि कमसलले नै शासन गरे । हाम्रो ७० वर्षको समस्या नै यही हो र अहिले गणतन्त्रमा यो झन् पहिलेका व्यवस्थाभन्दा पनि विकराल रूप लिएर हरेक क्षेत्रमा फैलिएको छ । नेपाली भएर नेपालमा बाँच्न गाह्रो भएको छ । ५० लाखभन्दा बढी पसिना बगाउन सक्ने नेपाली खाडीमा छन् । पढेलेखेका बौद्धिक अमेरिका–युरोप छिरेका छन् । जनसंख्याको अनुपातमा मुलुकभित्र पसिना बगाउने र पढेलेखेका बौद्धिक दुवैको यस्तो चरम अभाव नेपालमा मात्र हो । यी समस्या दक्षिण एसियाकै समस्या हुन् र यो क्षेत्रलाई एउटा सफल मोडेलको निकै ठूलो खाँचो छ । दक्षिण एसिया अझै पनि बेलायतले बनाएको भुमरीमा फसेको छ । त्यो भुमरीबाट निस्कन नेपालले ठूलो भूमिका खेल्न सक्छ ।
नेपालमा आशालाग्दा थोरै नेता छन्, तर तीनमा पनि सपनालाई बिपना बनाउने क्षमता छैन । ती कि त सांस्कृतिक छन्, तर वैज्ञानिक छैनन् । कि पढेलेखेका आधुनिक वैज्ञानिक छन्, तर आफ्नो धरातल र संस्कार नै बिर्सिएर पश्चिमा तन्त्रमा पूरै डुबेका छन् । यो हिमालको हावा, पानी, उचाइ र योग बेचेर देशलाई धनी बनाउने सपना बोलीमा होइन, व्यवहारमा पूरा हुन सक्छ । तर, यसका लागि हामीले हाम्रा कृष्ण मन्दिर, पशुपतिनाथ वा हाम्रो यो महान् झन्डा बनाउने क्षमता भएका हजारौँ प्रबुद्ध, इमानदार, सनातन वैज्ञानिकलाई अघि सारेर नेतृत्व दिन जनता जगाउनुपर्छ । जनता जाग्नु नै एक मात्र विकल्प हो ।
(बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट जल नीति तथा व्यवस्थापनमा स्नातकोत्तर ढकाल योगका सहायक प्रशिक्षक हुन् । पोख्रेल स्वामी विवेकानन्द योग विश्वविद्यालयबाट योगमा स्नातकोत्तर हुन्)