बोइङको ७३७ म्याक्सलाई ब्राजिलमा उडान अनुमति
बोइङ कम्पनीको ७३७ म्याक्स शृंखलाको यात्रुवाहक विमानले बुधबारदेखि ब्राजिलमा व्यावसायिक उडान सुरु गरेको छ । बोइङ ७३७ म्याक्स मोडेलका दुईवटा विमान लगातार दुर्घटनाग्रस्त भएपछि झन्डै २० महिनाअघि यी विमानको उडान विश्वभर स्थगित गरिएको थियो ।
ब्राजिलको सस्तो विमान सेवा गोलले सञ्चालन गरेको यो विमानले ब्राजिलको साओ पाउलोबाट पोर्टो अलेग्री सहरको उडान गरेको छ । तर, यसबारे अन्य विवरण दिन विमान कम्पनीले अस्वीकार गरेको छ ।
सन् २०१९ को मार्चमा गोल विमान कम्पनीले अर्को सूचना जारी नहुँदासम्म बोइङ ७३७ म्याक्स ८ शृंखलाका विमानहरू नउडाउने घोषणा गरेको थियो । इन्डोनेसिया र इथियोपियामा भएका दुईवटा दुर्घटनामा ३४६ जना यात्रुको मृत्यु भएपछि विश्वभर बोइङ ७३७ म्याक्स विमान थन्किएका थिए ।
यसै महिनाको सुरुमा अमेरिकन एयरलाइन्सले सञ्चालन गरेको ७३७ म्याक्स विमानले अमेरिकी सहर टेक्सासबाट ओक्लाहोमाको ४५ मिनेटको यात्रा गरेको थियो । गत महिना अमेरिकी नागरिक उड्डयन प्रशासनले ७३७ म्याक्स विमानको व्यवसायिक उडान सञ्चालन गर्न सक्ने गरी यसअघि लगाइएका प्रतिबन्ध फुकुवा गरेको थियो ।