Skip This
काठमाडौंको स्थानीय पाठ्यपुस्तक तयार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १८:१४:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

काठमाडौंको स्थानीय पाठ्यपुस्तक तयार

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १८:१४:oo

काठमाडौं महानगरपालिकाले आफूमातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा पढाउने स्थानीय विषयको पाठ्यपुस्तक तयार गरेको छ । महानगरपालिकाले कक्षा एकदेखि कक्षा आठसम्म अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक उक्त पाठ्यपुस्तकको अध्यापन थालेको हो ।

नेपालको संविधानको भाग–३ मौलिक हकअन्तर्गत धारा–३२ को उपधारा (२) वा (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफूमातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय पाठ्यक्रमका रूपमा आफैँले एक विषय अध्ययन–अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । महानगरपालिकाले सोही व्यवस्थाअन्तर्गत यो पाठ्यपुस्तक तयार गरेको हो । 

महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै संस्थागत र सामुदायिक विद्यालयहरूमा कक्षा १ देखि ८ सम्म उक्त पठन–पाठन प्रक्रिया अघि बढाएको जानकारी दिएको छ । ‘काठमाडौं महानगरपालिकाको ५१औँ कार्यपालिका बैठकले यही चालू शैक्षिक शत्रबाटै पठन–पाठन सुरु गर्ने निर्णय गरिसकेको छ,’ काठमाडौं महानगरपालिकाका शिक्षा विभागका अधिकृत मोती खनालले भने, ‘हामीले गत वैशाख–जेठबाटै तयारी गरेका हौँ । तर, कोभिड र त्यसको असरले उत्पन्न परिस्थितिका कारण पाठ्यपुस्तक छपाइलगायतका काममा केही ढिलाइ भएको छ । यद्यपि, हामीले काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको एफएम र विभिन्न माध्यममार्फत पठनपाठन अघि बढाएका छौँ,’ उनले भने । 

उनले काठमाडौं महानगरपालिकाभित्र ९२ वटा सामुदायिक विद्यालयमध्ये ८६ वटा साधारण विद्यालय, तीनवटा विशेष र तीनवटा विद्यालय बन्दीहरूका लागि रहेको र संस्थागत विद्यालयको संख्या करिब ६ सय ४० रहेको भन्दै यी सबै विद्यालयमा १०० पूर्णांकको स्थानीय विषयको पठनपाठन हुने जानकारी दिए । 

‘काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक  स्वरूप, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपिजस्ता विषयबारे परिचित गराउने उद्देश्यले यो विषयको पठनपाठन सुरु गरेका हौँ,’ उनले भने । 

काठमाडौं महानगर ऐतिहासिककालदेखि  नेपाल भाषाभाषीहरूको बसोवास रहँदै आएको स्थान भएका कारणले महानगरपालिकाले यो पाठ्यपुस्तक पनि नेपाल भाषामै तयार गरेको जानकारी पनि दिएको छ ।  

काठमाडौं महानगरको परिचय दिँदा प्रयोग गरिने धेरै शब्दहरू नेपाल भाषाकै हुने र यहाँको स्थानीय भाषामै पठनपाठन हुँदा नगरलाई अझ नजिकबाट बुझ्न सकिने भएकाले यो पाठ्यपुस्तक नेपाल भाषामा तयार गरिएको हो ।

पाठ्यपुस्तक र पाठ्यक्रम लेखनमा सुरुदेखि सहभागी हुँदै आउनुभएका वरिष्ठ संस्कृतिविद् डा. चुन्दा बज्राचार्यका अनुसार पाठ्यपुस्तक नेपाल भाषामा लेखिएको भए पनि यो भाषा सिकाउने पुस्तक  नभएको जानकारी दिए । पाठ्यपुस्तकमा काठमाडौं महानगरभित्र रहेका विभिन्न जात्रा, पर्व, ढुंगेधारा, पाटी, सत्तल, व्यक्ति आदिसम्बन्धी पाठहरू मात्र समावेश गरिएको पनि उनले बताइन् । 

‘पाठ्यपुस्तकमा काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेलजस्ता विषय समेटिएका छन्,’ उनले भनिन्, ‘बालबालिकालाई नेवार भाषा लाद्ने गरी होइन, परम्परागत ज्ञानसीपबारे जानकारी दिने गरी पाठ्यक्रम विकास गरिएको छ यो पुस्तकको अध्ययनले काठमाडौं महानगरलाई नजिकै रहेर हार्दिकतापूर्वक बुझ्न सकिन्छ । यसको उद्देश्य पनि यही नै हो ।’

बज्राचार्यले बालबालिकालाई सिक्न सजिलो होस भन्ने उद्देश्यले १ देखि ३ सम्म १०० पूर्णांकमा १०० नै अभ्यासगत पठनपाठन हुने जानकारी दिए । ‘कक्षा चार र पाँचमा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठनपाठन हुनेछ,’ उनले भने, ‘कक्षा ६, सात र आठमा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठनपाठन हुने व्यवस्था गरेका छौँ ।’

महानगरपालिकाको सातौँ नगरसभाले स्थानीय पाठ्यक्रमअन्तर्गत स्थानीय महत्वका विषयहरूबारे महानगरवासीलाई परिचित गराउने उद्देश्यले स्थानीय भाषाबाटै पठनपाठन गर्ने निर्णय गरिसकेको छ । ‘यःमरि, मरुहिटी, क्वहिटी, थँहिटी आदिजस्ता रैथाने शब्दहरू अरू भाषामा बुझाउन सकिँदैन, ती कुराहरूलाई बुझ्ने मात्र होइन विद्यार्थीले त्यसलाई आत्मसात्समेत गर्न सकून् भन्ने उद्देश्यले त्यस्ता स्थानहरूको अवलोकन भ्रमणसहित स्थानीय भाषामै पढाउने तयारी भएको छ,’ डा. बज्राचार्यले भने । 

काठमाडौं महानगरपालिकाले हाल कक्षा एकका लागि पाठ्यपुस्तक तयार गरिसकेको छ भने कक्षा दुईदेखि कक्षा आठसम्मका पाठ्यपुस्तकहरू डिजाइनमा गइसकेको छ । पूर्णरूपमा रंगीन ८० पृष्ठ रहेको यो पुस्तक नेपाल भाषा नजान्नेहरूले पनि सजिलै बुझ्न सकिने शैलीमा लेखिएको छ । पुस्तकमा नेपाल भाषाका शब्द र पदावलीहरूको अर्थ नेपाली भाषामै लेखिएको छ ।

नयाँ संविधानमा व्यवस्था गरिएअनुरूप मुलुकको कुनै पनि स्थानीय तहले स्थानीय भाषामै स्थानीय पाठ्यपुस्तक तयार गरेको यो नै पहिलो हो । यसले विद्यार्थीलाई सानै उमेरदेखि मुलुकको ढुंगामाटोसँग परिचित गराई भोलि मुलुकका लागि आवश्यक जनशक्ति तयार गर्नसमेत टेवा दिने विश्वास महानगरपालिकाले लिएको छ ।

ad
ad