१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ६ शनिबार ०७:२१:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपालगन्ज  म्याराथन आज

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ६ शनिबार ०७:२१:००

१३औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता गत वर्ष मंसिरमा काठमाडौंमा भएको थियो । सागमा एथलेटिक्स विधामा नेपालले इतिहासमै उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । नेपाललाई ऐतिहासिक रूपमा किरण सिंह बोगटी र गोपीचन्द्र पार्कीले स्वर्णपदक दिलाएका थिए । त्यसयता एथलेटिक्सका खेलाडीहरू ट्र्याकमा दौडन पाएका छैनन् । कोरोना भाइरस महामारीका रूपमा फैलिएपछि खेलकुद गतिविधि ठप्प नै भयो । आठ महिना खेलाडी प्रतियोगिता र अभ्यासविहीन भए । यसैबीच शनिबार हुने नेपालगन्ज म्याराथन दौडले खेलाडीलाई खुसी प्रदान गर्ने विश्वास छ । 

क्रिएटिभ ह्यान्ड्सको आयोजनामा छैटौँ संस्करणको नेपालगन्ज म्याराथनमा सागका स्वर्ण विजेता बोगटी र पार्कीजस्ता खेलाडीको उपस्थितिले खेलाडी प्रतिस्पर्धामा सहभागी हुन कति व्यग्रका साथ प्रतीक्षा गरिरहेको बुझिन्छ । यद्यपि विभिन्न खेलका खेलाडी प्रशिक्षणमा रहे पनि उनीहरूले आधिकारिक रूपमा घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाएका छैनन् । कोरोना महामारीबीच मुलुकमा राष्ट्रिय स्तरको प्रतियोतिगा आयोजना हुन लागेको यो नै पहिलो हो । 

यो प्रतियोगिता विशेष हुनेछ । किनभने नेपाल ओलम्पिक कमिटीले यसै प्रतियोगितालाई ओलम्पिक छनोटका रूपमा लिएको छ । म्याराथन विजेताले सीधै अर्को वर्ष २०२१ मा जापानको टोकियोमा हुने ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । यसकारण साग विजेता खेलाडी नेपालगन्ज म्याराथनमा आकर्षित भएका देखिन्छन् । ओलम्पिकमा नेपालबाट प्रतिनिधित्व गर्ने भएकाले नै म्याराथन विशेष रहने आयोजक क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष टिएस ठकुरीले बताएका छन् । 

प्रतियोगितालाई एनओसीले ओलम्पिक छनोटको आधिकारिक प्रतियोगिताका रूपमा मान्यता दिएको छ । गत वर्षका विजेता नवराज साउदले साग स्वर्ण विजेताद्वयलाई चुनौती दिने अपेक्षा छ । उनी आफ्नो उपाधि रक्षा गर्न मिहिनेत गरिरहेका छन् । प्रतियोगितामा २० भन्दा बढी पुरुष र महिलातर्फ १० धावकको सहभागिता रहने ठकुरीले बताए । गत वर्षको तुलनामा योपटक विजेता धनराशि पनि वृद्धि भएको छ ।

योपटकको म्याराथन विजेताले ७५ हजार रुपैयाँ पाउनेछ । महिलातर्फकी विजेताले ३० हजार रुपैयाँ पाउनेछिन् । पुरुषतर्फको म्याराथन उपविजेताले ३० हजार, तेस्रोले २० हजार तथा चौथोले १० हजार रुपैयाँ पाउनेछन् । महिलामा उपविजेताले १५ हजार तथा तेस्रोले १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । कोरोना भाइरसबाट सुरक्षित रहन प्रतिस्पर्धामा निश्चित प्रोटोकल अपनाइएको छ ।