मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ मङ्सिर ५ शुक्रबार १८:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोना कहरको त्रासमा छठ पूजा, अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर ५ शुक्रबार १८:१०:००

कोरोना कहरका बीच सामान्य अवस्थामा झैँ शुक्रबार साँझ छठ पूजाको अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । माटोको घैला, दियो, ढकनी, सर्वी, हात्ती, पानालगायतका सामग्रीसहित बाँसको कोनिया, ढक्की, नाङ्लोमा केरा, ठकुवा, भुसवा, खजुरीलगायतका परिकार राखेर जलाशयमा शरीर डुबाउँदै अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ ।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि राति जलाशय, नदी, तलाउ–किनारमा अर्घ्य दिइएका सामग्रीहरू कतिपयले घरमै ल्याएर पुनः भोलिपल्ट झिसमिसमै घाटमा पुऱ्याउँछन् भने कतिपयले त्यहीँ राखेर रातभर नाचगान र रमाइलो गर्छन् । कात्तिक शुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पूजा समापन भएको मानिन्छ । 

कात्तिक शुक्ल षष्ठीको साँझ अस्ताउँदो र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्यसहित गरिने छठ पूजाले निरोगी हुने, निःसन्तान दम्पतीले सन्तान प्राप्ति गर्ने, सन्तान अकाल मृत्युबाट जोगिने, छालाजन्य रोगव्याधि नलाग्ने धार्मिक मान्यता रहेको छ । 

कोरोना महामारीलाई मध्यनजर गर्दै घरघरमै बसेर छठ बनाउन आग्रह गरेको भए पनि नदी, पोखरी, तलाउमा सामान्य अवस्थामा झैँ भिडभाड भएपछि प्रहरी परिचालन गरिएको छ । सूर्यको पूजाअर्चना गरी मनाइने छठ पर्वको तेस्रो दिन शुक्रबार कात्तिक शुक्ल षष्ठी तिथिको साँझ लहान क्षेत्रको खुट्टी, बलान नदी, रघुनाथपुर पोखरी, मटियर्वा पोखरीलगायतका ठाउँमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको हो ।

सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शालिग्राम शर्मा पौडेलले पौराणिक आस्थासँग जोडिएको पर्व हुनाले सुरक्षाका लागि प्रहरी परिचालन गरिएको बताए । प्रहरी नायव उपरीक्षक पौडेलका अनुसार छठ पर्वलाई लक्षित गरी छठको घाट बनाइएका पोखरी, तलाउ, जलाशय क्षेत्रमा सादा र पोसाक लगाइएका प्रहरी परिचालन गरिएको छ । सूर्यलाई अर्घ्य दिन सिराहाको लहान, सिराहा, गोलबजार, मिर्चैया, बन्दीपुरको कमला, गागनलगायतका ठाउँका पोखरी, नदी, तलाउमा जमघट बढी हुने घाटहरूमा प्रहरी परिचालन गरिएको उनले बताए ।