मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १६ बिहीबार
  • Thursday, 30 March, 2023
२०७७ मङ्सिर ५ शुक्रबार १०:०२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

न्यादीको उत्पादन ५ महिना पछाडि धकेलियो

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर ५ शुक्रबार १०:०२:००

लमजुङमा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन मिति पाँच महिनापछाडि सरेको छ । मर्स्याङ्दी गाउँपालिका–६ बाहुनडाँडास्थित ङादी खोलामा निर्माणाधीन आयोजनाको ९५ प्रतिशत काम सकिए पनि कोरोना महामारीका कारण आयोजनामा जडान हुने हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आयात हुन बाँकी रहेकाले विद्युत् उत्पादन मिति पछाडि सरेको हो ।  

आयोजनाको बाँधको गेटमा जडान हुने उपकरण आउन बाँकी रहेको न्यादी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । उनका अनुसार विद्युत्गृह र स्विचयार्डमा जडान हुने केही उपकरण पनि आयात हुन बाँकी छ । आयोजनाको बाँध र विद्युत्गृहको ९५ प्रतिशत काम सकिएको छ । सुरुङको काम यसअघि नै पूरा भइसकेको छ । सुरुङमा ढलान भइसकेको अमात्यले जानकारी दिए । 

उपकरण आयात गरी जडान सम्पन्न गरेपछि आयोजनाको परीक्षण सुरु गरिने कम्पनीले जनाएको छ । आयोजनाको विद्युत् प्रवाह हुुने ९ किलोमिटर प्रसारण लाइनको १५ वटा टावरको उपकरण आयात भइसकेको छ । प्रसारण लाइनका ५ वटा टावर खडा गरिएको छ । १० वटाको पनि जग खन्न सुरु गरिएको छ । आयोजनाको विद्युत् २ सय २० केभी मस्र्याङ्दी करिडोरको खुदी सबस्टेसनमा लगेर जोड्ने तय भए पनि नेपाल विद्युत् प्राधिकरणले निर्माण गरी नसकेकाले वैकल्पिक रूपमा माथिल्लो मर्स्याङ्दी ‘ए’को विद्युत्गृहभन्दा केही तल १ सय ३२ केभी भुलभुले–मर्स्याङ्दी प्रसारण लाइनमा जोड्ने गरी ९ किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्ने भएको छ ।

आयोजनाको निर्माण ०७३ चैतबाट सुरु भएको हो । ३० मेगावाटको यो आयोजना सम्पन्न गर्न करिब ६ अर्ब ४ करोड २८ लाख रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनाको निर्माण चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले गरेको छ । नदीको वहाबमा आधारित यो आयोजनाबाट वार्षिक १ सय ६८ गिगावाट आवर विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरिनेछ ।

आयोजनाले विद्युत् प्राधिकरणसँग प्रचलित ‘पोस्टेड’ दरअनुसार वर्षायाममा ४ रुपैयाँ ८० पैसा र सुक्खायामका लागि ८ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ । उक्त दर वार्षिक ३ प्रतिशतका दरले सामान्य वृद्धि भई आठ वर्षसम्म र सम्झौता अवधि ३० वर्षसम्म कायम रहने बताइएको छ । साना जलविद्युत् गुरुयोजनाअन्तर्गत सन् १९९३ मा पहिचान भएको ङादीको सुरुको क्षमता २.८ मेगावाट थियो । पछि यसलाई २० मेगावाट हुँदै ३० पु‍र्‍याइएको हो ।