मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७७ मङ्सिर ४ बिहीबार ०७:२३:००
Read Time : > 3 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

निमोनिया : कोभिड मृत्युदर बढ्नुको मुख्य कारक

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७७ मङ्सिर ४ बिहीबार ०७:२३:००

चीनमा हालै गरिएको एक अध्ययनमा कोभिड संक्रमितमा २४ प्रकारका अन्य संक्रमण पनि भेटियो

नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या दुई लाख १४ हजार चार सय ७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा ३० हजार नौ सय ४६ जना सक्रिय संक्रमित रहेको उल्लेख छ । बुधबारसम्म मृत्यु हुनेको संख्या १२ सय ५९ पुगेको छ । पछिल्लो समय मृत्यु हुनेको संख्या बढ्दोक्रममा छ । कोभिडका कारण मृत्यु हुनेहरूमध्ये अधिकांश दीर्घरोगी र वृद्धवृद्धा छन् । चिकित्सकहरूले कोभिड मृत्युदर बढ्दै जानुुलाई जाडो मौसम र चिसोसँगै हुने अन्य संक्रमणलाई मुख्य कारण मानेका छन् । 

हालै चीनमा को–इन्फेक्सन अर्थात् कोभिडसँगै हुन सक्ने अन्य संक्रमणबारे अध्ययन अनुसन्धान गरिएको थियो । संक्रमितमा करिब ३९ अन्य संक्रमणको खोजी गरिएको थियो, जसमध्ये कोभिड बिरामीमा २४ प्रकारका अन्य संक्रमण भएको पाइएको थियो । कोभिडका बिरामीमा सबैभन्दा बढी न्युमोकोकल निमोनिया ब्याक्टेरियाको संक्रमण पाइएको थियो ।

नेपालमा कोभिडका कारण मृत्यु भएका अधिकांशमा निमोनियाको पनि समस्या देखिएको चिकित्सकहरूले बताउने गरेका छन् । चिसो बढ्दै जाँदा अन्य ब्याक्टेरियल इन्फेक्सन पनि बढ्दै जाने भएकाले बिरामीमा कोभिडबाट अन्य संक्रमण पनि मृत्युको कारण बन्ने गरेको बताउँछन्, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा.शेरबहादुर पुन ।

भन्छन्, यसभन्दा अगाडि देखिएका महामारी र गरिएका विभिन्न अध्ययन हेर्दा पनि मुख्य भाइरससँगै अन्य भाइरसको संक्रमण पनि मृत्युको कारण देखिएको छ । जस्तै, सन् २००९ मा देखिएको स्वाइनफ्लुको महामारीमा पनि अन्य संक्रमणका कारण करिब ५५ प्रतिशत बिरामीको मृत्यु भएको अनुसन्धानले देखाएको छ । १९१८ को स्पेनिस फ्लुमा ९० प्रतिशत संक्रमितको मृत्यु अन्य संक्रमणका कारण भएको अनुसन्धानले देखाउँछ ।’ 

डा.शेरबहादुर पुन, संयोजक, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, क्लिनिकल रिसर्च युनिट

विभिन्न अनुसन्धानले महामारीको समयमा सेकेन्डरी इन्फेक्सनका कारण अत्यधिक मृत्यु हुने गरेको देखाएको छ । कोभिड संक्रमणमा अन्य भाइरसको जोखिम कति छ भन्नेबारे अध्ययन भइरहे पनि यकिन तथ्यांक भने उपलब्ध छैन । तर पनि बिरामीमा निमोनिया देखिनु, विभिन्न फ्लु देखिनु, दीर्घरोगी र प्रतिरोधी कमजोर भएका व्यक्तिहरूको मृत्यु बढी हुनुले अन्य ब्याक्टेरियाले निम्त्याउने जोखिम स्पष्ट हुन्छ ।

महामारीमा अन्य भाइरसको जोखिम
सरुवा रोग विशेषज्ञ डा. पुनका अनुसार फ्लु लागेका झन्डै ७५ प्रतिशत बिरामीमा निमोनिया हुनुको प्रमुख कारण सेकेन्डरी ब्याक्टेरियल इन्फेक्सन पाइएको छ । सामान्यतः भाइरल इन्फेक्सन हुँदा सेकेन्डरी ब्याक्टेरियल इन्फेक्सनको सम्भावना बढेर जान्छ । पुन भन्छन्, ‘अनुसन्धानले महामारीको समयमा सेकेन्डरी इन्फेक्सनका कारण अत्यधिक मृत्यु हुने गरेको देखाएको छ । कोभिड संक्रमणमा अन्य भाइरसको जोखिम कति छ भन्नेबारे अध्ययन भइरहे पनि यकिन तथ्यांक भने दिइएको पाइँदैन । तर पनि बिरामीमा निमोनिया देखिनु, विभिन्न फ्लु देखिनु, दीर्घरोगी र प्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिहरूको मृत्यु बढी हुनुले अन्य ब्याक्टेरियाले निम्त्याउने जोखिम स्पष्ट हुन्छ ।’

जाडो मौसम सुरु भएसँगै मृत्युदर पनि बढ्दै गएको छ । तर पनि निमोनिया र अन्य संक्रमणको जोखिमलाई त्यति ध्यान नदिइएको पुन बताउँछन् । ‘सामान्यतः कोभिडले सबैभन्दा बढी फोक्सो र श्वासप्रश्वासमा समस्या निम्त्याउँछ, सँगै निमोनियाले पनि फोक्सोमै समस्या निम्त्याइरहेको हुन्छ । आजसम्म कोभिडका कारण भएका मृत्यु हुनेको अध्ययन गर्दा अन्य स्वास्थ्य समस्या पनि धेरै भएको पाइयो । त्यसैले कोभिड संक्रमण न्यूनीकरणका लागि सेकेन्डरी ब्याक्टेरियल इन्फेक्सन नियन्त्रणमा ध्यान दिन आवश्यक देखिन्छ,’ उनी भन्छन् ।

निमोनियाविरुद्धको खोप लगाउँदा फाइदा
कोभिडका बिरामीलाई खोकी र ज्वरो आउँदा श्वासनलीमा संक्रमण हुन्छ । श्वासनलीको सतहमा चोट लाग्दा जलन हुन्छ, जसले हावा आउने–जाने मार्गको सतहमा भएमा नशा प्रभावित हुन्छ, धुलोको कण मात्रले पनि खोकी लाग्छ । समस्या बल्झिँदै जाँदा फोक्सोको पिँधमा रहेको हावाको थैलीमा जलन हुने सामग्री भरिन थाल्छ, जुन बिस्तारै बग्न थालेपछि निमोनियाको समस्या हुन्छ । फोक्सोले पर्याप्त मात्रामा अक्सिजन रगतमा पु¥याउन सक्दैन । डा.असरफ हुसेनका अनुसार निमोनिया हुनुमा ढुसी, ब्याक्टेरियाजस्ता संक्रमण मुख्य मानिन्छ । यस्तो हुँदा खोकी लाग्ने, ज्वरो आउने, श्वासप्रश्वास छिटोछिटो हुने, मुटुको धड्कन तीव्र हुने, छाती दुख्ने, थकान महसुस हुनेजस्ता लक्षण देखिन्छन् । 

कोभिड संक्रमण नियन्त्रणका लागि निमोनियाविरुद्धको खोप महत्वपूर्ण हुन सक्ने चिकित्सकको बुझाइ छ । सामान्यतः निमोनियाविरुद्धको खोप बालबालिकामा लगाइने गरे पनि महामारीको समयमा जुनसुकै उमेर समूहका व्यक्तिले पनि लगाउन सक्ने बताउँछन्, नेसनल मेडिकल कलेजमा कोभिड हेरिरहेका डा.असरफ हुसेन । उनका अनुसार निमोनियाविरुद्धका खोपहरू बजारमा सर्वसुलभ छन् । यस्ता खोप एन्फ्लुएन्जा र निमोकोकल गरी दुई किसिमका हुने गर्छन् । निमोकोकल प्रत्येक पाँच वर्षमा र एन्फ्लुएन्जा भ्याक्सिन एक–एक वर्षमा लगाउनुपर्ने हुन्छ । 

हुसेन भन्छन्, ‘यो भ्याक्सिन स्वस्थ व्यक्तिले पनि लगाउन सक्छन्, तर संक्रमणको उच्च जोखिममा रहेका व्यक्ति जस्तै, दमको बिरामी, सिओपिडी, क्षयरोग, डायलाइसिस भइरहेका व्यक्तिहरूले निमोनियाको भ्याक्सिन लगाउन सक्छन् । योबाहेक प्रतिरोधी क्षमता कम हुने औषधि प्रयोग गरिरहेका व्यक्ति, क्यान्सरका बिरामीले भ्याक्सिनको प्रयोग गर्दा उपयुक्त हुन्छ । कोभिड निमोनिया पनि भाइरल निमोनियाको प्रकार भएका कारण यो समयमा निमोनियाको भ्याक्सिन निकै महत्वपूर्ण हुन सक्छ ।’ 

यस्ता खोपले निमोनियाबाट हुने जटिलता र मानवीय क्षति धेरै हदसम्म सीमित गर्न सकिने डा. पुन बताउँछन् । उनी भन्छन्, ‘न्युमोकोकल भ्याक्सिन बजारमा सजिलै उपलब्ध हुन सक्ने भएकाले जोखिम समूहमा पर्ने ज्येष्ठ नागरिक तथा दीर्घरोग भएकाहरूलाई दिन सके निमोनियाबाट हुने जटिलता र मानवीय क्षति धेरै हदसम्म सीमित गर्न सकिन्छ ।’