मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७७ कार्तिक २७ बिहीबार १९:४१:००
Read Time : > 1 मिनेट
फिचर

चिनियाँ भ्याक्सिन सिनोभ्याकको ब्राजिलमा परीक्षण फुकुवा

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ कार्तिक २७ बिहीबार १९:४१:००

ब्राजिलले कोरोना उपचारसम्बन्धी चिनियाँ भ्याक्सिन सिनोभ्याक पुनः परीक्षण गर्न अनुमति दिएको छ । सिनोभ्याक लगाएका बिरामीमा प्रतिकूल प्रभाव परेको भन्दै दुई दिनअघि ब्राजिलले तत्काल परीक्षण रोक्ने गरी प्रतिबन्ध लगाएको थियो ।

गत महिना पनि एक भोलेन्टियर भ्याक्सिन प्रयोगकर्ताको मृत्यु भएको समाचार आएको थियो । त्यसयता भ्याक्सिनले विभिन्न किसिमको गम्भीर समस्या देखाएको आरोप लाग्दै आएको थियो । यसकारण दुई दिनअघि स्वास्थ्यसम्बन्धी निकाय अन्भिसाले तत्काल परीक्षण रोक्न निर्देशन दिएको थियो । ‘गत महिना सिनोभ्याकको परीक्षणका क्रममा एक भोलेन्टियरको मृत्यु भएको रिपोर्ट आएको थियो, तर अहिले उनको मृत्यु र भ्याक्सिनसँग केही सम्बन्ध नभएको देखिएको छ,’ अन्भिसाले बुधबार जारी गरेको विज्ञप्ति उल्लेख छ, ‘अहिले भ्याक्सिन परीक्षण गर्न मिल्ने सबै प्रमाण र आधार पाएका छौँ ।’

उत्पादक कम्पनी र अनुसन्धानकर्ताहरूले भ्याक्सिनको सुरक्षा प्रत्याभूति दिएका कारण ब्राजिलमा सिनोभ्याक फेरि तेस्रो चरणमै परीक्षण प्रक्रिया अगाडि बढाइने अन्भिसाले जनाएको छ । ‘अहिले एउटा पक्ष स्पष्ट पार्न चाहन्छौँ, प्रतिबन्ध किन गर्नुप¥यो भनी त्यसको पछि लाग्न आवश्यक छैन, कम्पनीले यसको सुरक्षा दिएको छ,’ अन्भिसाले भ्याक्सिन पुनः परीक्षण गर्न अनुमति दिनुको कारण देखाएको छ । 

यसअघि ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले भ्याक्सिनमाथिको प्रतिबन्धलार्ई जितको संज्ञा दिएका थिए । ‘एउटा जित प्राप्त भएको छ,’ राष्ट्रपति कार्यालयद्वारा दुई दिनअघि जारी विज्ञप्तिमा भनिएको थियो । ब्राजिलको स्वास्थ्य निकायले सिनोभ्याक भ्याक्सिन सुरुमै परीक्षण गर्न अनुमति दिँदा राष्ट्रपति बोल्सोनारोले त्यसको विरोध गरेका थिए । 

उनले धेरैपटक सिनोभ्याकको आलोचना मात्र गरेनन्, यसलाई पूर्णतः चिनियाँ भ्याक्सिनको नाम दिएका थिए । राष्ट्रपति बोल्सोनारोले चिनियाँ भ्याक्सिन सर्वसाधारणलाई नकिन्न पनि आग्रह गर्दै आइरहेका छन् । सिनोभ्याक परीक्षण सम्बन्धमा साओपालोका गभर्नर जाओ डारियासँग राष्ट्रपतिको विवाद परेको थियो । यद्यपि अन्भिसाले सिनोभ्याक सुचारु गर्न अनुमति दिए पनि राष्ट्रपति बोल्सोनारोले केही प्रतिक्रिया दिएका छैनन् । तर, उनी अझै पनि चिनियाँ भ्याक्सिन नाम दिँदै यो ब्राजिलको बजारसम्म पु¥याउन नहुने पक्षमै छन् । सरकार पनि चिनियाँ भ्याक्सिन किन्ने पक्षमा नरहेको उनले स्पष्ट पारेका छन् । चीनको सिनोभ्याक बायोटक कम्पनीले यो भ्याक्सिन बनाएको हो । 

अहिले यो भ्याक्सिन विभिन्न राष्ट्रमा अन्तिम चरणको परीक्षणमा पुगेको छ । भ्याक्सिनको परीक्षण लगभग अन्तिम चरणमा पुगेकाले सिनोभ्याक बायोटेक कम्पनीले यसको विश्वनीयतामाथि शंका नगर्न आग्रह गरेको छ । ‘हामीले भ्याक्सिनको सफलता र सुरक्षाप्रति विश्वास राखेका छौँ,’ सिनोभ्याक कम्पनीले जनाएको छ । चीनमा हजाराँैले सिनोभ्याकको खोप लिएका छन् । त्यहाँ यसको नतिजा सकारात्मक रहेको कम्पनीको दाबी छ । गत जुलाईमा चीनले आपतकालीन अवस्थामा परीक्षण गर्न सिनोभ्याक भ्याक्सिनलाई अनुमति दिएको थियो । सिनोभ्याक बायोटेकले सुरुमा यो भ्याक्सिन मुसामाथि प्रयोग गरेको थियो । त्यसको सफलतापछि पहिलो चरणमा तीन व्यक्तिमाथि परीक्षण भयो । दोस्रो चरणको सफलतापछि चीनले बिस्तारै अन्य देशमा यसको विस्तार गरेको हो । 

सिनोभ्याक भ्याक्सिन बाज्रिलबाहेक टर्की र इन्डोनेसियामा समेत परीक्षण भइरहेको छ । यी दुवै राष्ट्रले भ्याक्सिनसम्बन्धी कुनै रिपोर्ट सार्वजनिक गरेका छैनन् । उनीहरू भ्याक्सिनको परीक्षणबाट सन्तुष्ट देखिएको बताइन्छ । इन्डोनेसियाले सिनोभ्याक भ्याक्सिनको परीक्षण सहज तरिकाले अगाडि बढिरहेको जनाएको छ । ब्राजिलमा अहिले अमेरिकापछि सबैभन्दा धेरै कोरोना संक्रमित छन् । अहिलेसम्म ब्राजिलमा ५६ लाख व्यक्ति संक्रमित भएका छन् । कोरोना भाइरसका कारण यहाँ एक लाख ६३ हजारले ज्यान गुमाइसकेका छन् ।