मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर २० सोमबार
  • Monday, 06 December, 2021
नयाँ पत्रिका काठमाडाैं
२०७७ कार्तिक २७ बिहीबार ०७:२६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कीर्तिपुरमा यस्तो  बन्दै छ ‘युद्ध स्मारक पार्क’

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ कार्तिक २७ बिहीबार ०७:२६:००

गोर्खाली र कीर्तिपुरे फौजबीच युद्ध भएको ऐतिहासिक स्थान कीर्तिपुरमा ‘युद्ध स्मारक पार्क’ निर्माण भइरहेको छ । दुई सय ६२ वर्षअघि भएका युद्धको झल्को दिने गरी कीर्तिपुर नगरपालिकाले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा करिब ५४ रोपनी क्षेत्रफलमा पार्क निर्माणको काम अघि बढाएको छ । 

नेपाल एकीकरणको अभियानका क्रममा पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि पटक–पटक आक्रमण गर्दा वि.सं. १८१४ देखि १८२२ सम्म तीनपटक युद्ध भएको थियो । ‘ढाल र तरबारसहित पृथ्वीनारायण शाह, कालु पाण्डेसहितका गोर्खाली सेनाले कीर्तिपुरमाथि तीनपटक आक्रमण गरे, घमासान युद्ध भयो । त्यही युद्ध कीर्तिपुरवासीका लागि गर्विलो इतिहास बन्यो,’ कीर्तिपुर नागरपालिकाका मेयर रमेश महर्जन भन्छन्, ‘यो युद्ध पार्कमा इतिहास मात्र होइन, नेवारी कला र संस्कृति झल्काउने मूर्ति र संग्रहालय पनि निर्माण गर्ने योजना छ ।’ 

मेयर महर्जनले युद्धको झल्को दिने गरी युद्ध स्मारक पार्कमा मूर्त–अमूर्त स्मारक राख्ने जानकारी दिए । अहिले त्यसका लागि ३० भन्दा बढी त्यस्ता मूर्ति र स्मारक निर्माण भइसकेका छन् । 

पृथ्वीनारायण शाहले आक्रमणको कमान्डर भई गोर्खा राज्यका तर्फबाट करिब एक हजार दुई सय सैनिक लिएर कीर्तिपुरमाथि आक्रमण गरेको इतिहास छ । तर, दुईपटकको प्रयासलाई कीर्तिपुरका करिब तीन सय सेनाले प्रतिकार गरेका थिए । ‘त्यही युद्धमा गोर्खाली सेनाका कालु पाण्डे मारिए भने पृथ्वीनारायण शाह पनि कीर्तिपुरे फौजको कब्जामा परेका थिए,’ गोर्खाली फौजबाट त्यही युद्धमा कब्जा गरी बाघभैरव मन्दिरमा सबैले देख्ने गरी राखिएका ढाल, तरबार देखाउँदै मेयर महर्जनले भने, ‘पहिला कीर्तिपुर कृषिमा आधारित थियो । घरेलु उत्पादनमा प्रख्याति कमाएको थियो । सहरीकरणसँगै अब कीर्तिपुरको त्यो पहिचान हरायो ।’ 

महर्जनले इतिहासको जगेर्ना गर्दै पर्यटन व्यवसायका रूपमा जोड्ने योजनासहित नगरपालिका अघि बढेको जानकारी दिए । ‘युद्ध स्मारक पार्कमार्फत कीर्तिपुरको इतिहास जीवन्त बनाउने योजना बनाएका छौँ,’ महर्जनले भने, ‘निर्माणाधीन पार्क त्यसैको एक आधार हो ।’ बुधबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहितको टोली निर्माणाधीन पार्क अनुगमनका लागि कीर्तिपुर पुगेको थियो । टोलीलाई कालु पाण्डेको शिर छेदन गरेको खस्रेढुंगा भएको ठाउँमा पु¥याएर जानकारी दिइएको थियो । 

काठमाडौंका मेयर शाक्यले ऐतिहासिक पार्क निर्माणका लागि महानगरले आगामी बजेटमा पनि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘काठमाडौं महानगरपालिका आफू मात्रै होइन, छिमेकी नगरसँग पनि साझेदारी गरी अघि बढ्नुपर्छ भन्ने योजनामा छ,’ शाक्यले भने, ‘हरियाली विकास, खुला क्षेत्रको संरक्षण, सांस्कृतिक सम्पदाको संरक्षण र ऐतिहासिक–धार्मिक तथा पर्यटकीय स्थानको विकासजस्ता परियोजनामा हामीले सहयोग गर्दै आएका छौँ ।’ उनले काठमाडौंका १० वटा र भक्तपुरको मध्यपुर थिमी नगरपालिकालाई यस्ता परियोजनाका लागि सहयोग गरेको पनि स्मरण गरे । 

अनुगमन टोलीमै सहभागी कीर्तिपुर नगरपालिकाकी उपमेयर सरस्वती रिजाल खड्काले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगकै कारण युद्ध पार्क निर्माणको योजना अघि बढेको बताइन् । कीर्तिपुरका वडा नं. १, २ र १० लाई समेटेर पहिलो चरणमा १४ रोपनी र बिस्तारै पूरै ५४ रोपनीमै पार्क निर्माण गर्ने नगरपालिकाको योजना छ । 

कीर्तिपुर–२ का वडाध्यक्ष रमेशमान डंगोलले गोर्खाली र कीर्तिपुरे फौजबीच तीनपटक युद्ध भएको र त्यही बाघभैरव आसपासको ढिस्को चढ्न नसकेर पृथ्वीनारायण शाहले दुईपटकसम्म कीर्तिपुरसँग हार्नुपरेको इतिहासको झल्को दिने गरी पार्क निर्माणको काम अघि बढाएको बताए । ‘वि.सं १८२१ को भदौमा शूरप्रताप शाह, दलजित शाह र श्रीहर्ष पन्तको नेतृत्वमा कीर्तिपुरमाथि दोस्रो आक्रमण भयो । त्यस आक्रमणमा कीर्तिपुरे फौजले गोर्खाली सैनिकका कमान्डर (पृथ्वीनारायण शाहका भाइ) शूरप्रताप शाहको आँखा फुटाएको इतिहास छ । शूरप्रतापको आँखा फुटेपछि फौज त्योपटक पनि फर्किन बाध्य भएको थियो,’ डंगोलले इतिहास स्मरण गराउँदै भने, ‘त्यही इतिहासअनुसार पार्कमा कालु पाण्डे र शूरप्रतापहरूको सम्झनामा स्मारकसमेत निर्माण गर्ने तयारी छ ।’ 

उनले युद्धसँग सम्बन्धित मूर्तिका साथै सामाजिक, सांस्कृतिक र धार्मिक महत्वलाई झल्काउने सामग्री राख्ने र पार्कमा संग्रहालयसमेत बनाउने योजना नगरपालिकाको रहेको जानकारी दिए ।