१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नवीन प्यासी काठमाडाैं
२०७७ कार्तिक २१ शुक्रबार ०७:३६:००
Read Time : > 3 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

सिनेमा सुटिङमा जानुअघिका सकस

Read Time : > 3 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ कार्तिक २१ शुक्रबार ०७:३६:००

अचेल निर्देशक मीनबहादुर भाम उस्तो बोल्न चाहँदैनन् । उनलाई लाग्दोरहेछ, काम गरिएको छैन । चलचित्रको सुटिङ भएको छैन । कामै नगरी बोल्दा त गफै गरेको जस्तो हुने हो कि भन्ने । दसैँअघि भाम मुगु गएका थिए । नयाँ चलचित्र ‘चिसो वर्ष’को चटारो छ उनलाई । आउँदो चैत वैशाखमा सुटिङ सक्ने योजनामा छन् । त्यसैको दौडधुपमा कहिले मुगु–काठमाडौैं, काठमाडौं–मुगु लुकामारी चलिरहन्छ उनको ।

भाम कतिपय अवस्थामा स्क्रिप्टमा लेखिएको लोकेसन मुगुका स्वप्निल गाउँ र भित्ताहरूमा भेट्दैनन् । त्यसले एकपछि अर्को सकस थपिन्छ । कहिले भनेजस्तो पात्र भेटाउँदैनन् । पात्रकै खोजीमा समयको लामो घडी सिध्याइदिन्छन् । तर, अहिले भामको पात्र मुगुमा बसिरहेका छन् । तिब्बतीयन भाषामार्फत जीवनलाई सम्बोधन गरिबस्छन् । भामले आफ्नो चलचित्रका लागि पात्र भेट्टाइसकेका छन् । करिब डेढ वर्षको मिसनपछि भामले चलचित्रको मुख्य कलाकार फेला पारेका हुन्, जो अहिले म्यामेराको फ्रेमभित्र आफूलाई खोजिहिँड्न तम्तयार छन् । 

निर्देशक भामले ‘चिसो वर्ष’को स्क्रिप्टबाट कान्स फिल्म फेस्टिभलमा नर्वेजियन सरफन्डमार्फत करिब ६७ लाख नेपाली रुपैयाँ जितेका छन् । एसियन सिनेमा फन्डमार्फत १० हजार अमेरिकी डलर जितेका छन् । टर्कीमा टी आर टी १२ पुन्टो स्क्रिप्ट ल्याब अवार्डमार्फत नेपाली एक करोडभन्दा बढी रकम जितेका छन् । नयाँ चलचित्रका लागि भामले दुई करोड रुपैयाँको अवार्ड जितिसकेका छन् । यो रकम ‘चिसो वर्ष’ निर्माणमा खर्च हुनेछ ।
०००
काठमाडौंको बौद्धमा छ भामको डेरा । एक्लै बस्छन् । भुइँतलामा डेरा अर्थात् फ्ल्याट छ । डेराभित्र केही थान पेन्टिङ, केही जोडा कुर्सी, भामले बनाउन लागेको चलचित्रको स्क्रिप्ट स्वयं भाम अनि एउटा जिउँदो सपना । भामको डेरामा महँगो कुनै चिज छ भने त्यो ‘चिसो वर्ष’को स्क्रिप्ट नै हो । ठूलो कुनै सपना छ भने त्यो भामले मुगुमा खिच्ने चलचित्र नै हो । र, निरन्तर केही छ भने उनले गरिरहेको मिहिनेत नै हो । चलचित्रको स्क्रिप्ट २१औँपटक सम्पादन गर्दै छन् उनी ।

‘चिसो वर्ष’ चलचित्रका लागि विभिन्न फिल्म फेस्टिभलबाट दुई करोड रुपैयाँको अवार्ड जितिसकेका निर्देशक मीनबहादुर भाम भन्छन्, ‘सुटिङमा जानुअघि २१औँपटक स्क्रिप्ट सम्पादन गर्दै छु

स्क्रिप्टमा अझै कति केरमेट गर्नुपर्ने हो, ठ्याक्क भन्न सक्दैनन् भाम । स्क्रिप्टमै यति धेरैपटक सम्पादन नौलो नै हो । विशेष गरेर नेपाली चलचित्रको स्क्रिप्ट यति धेरै सम्पादन गरेर तयार हुँदैनन् । कलाकारहरू स्क्रिप्ट चित्त नबुझेको र राम्रो स्क्रिप्ट नआइरहेको बताउँछन् । निर्माता, निर्देशक राम्रो स्क्रिप्ट आए गतिलै रकम दिने ठोकुवा गर्छन् । तर, भाम राम्रो स्क्रिप्टको परिभाषा ठ्याक्क दिन सक्दैनन् । झनै नेपाली चलचित्र क्षेत्रमा खोजिने राम्र्रो स्क्रिप्ट भामको अभिरुचिभन्दा दूरको कुरा भइगयो । 

भाम स्क्रिप्ट त लेख्छन्, तर बजेटको हिसाबले नधान्ने बनिदिन सक्छ । फेरि लेख्छन्, तर लोकेसनको हिसाबले नपाउने बनिदिन सक्छ । फेरि लेख्छन्, पात्रको हिसाबले नपाउने हुन सक्छ । लेख्छन्, नक्सा तयार हुन्छ । ‘स्वभावैले समय लाग्छ । कालोपोथी स्क्रिप्ट लेखेँ । काम पनि गरेँ । तर, यो प्रोजेक्ट पाँच वर्षको थियो । यस हिसाबले समय जाने नै भयो ।

साथै स्क्रिप्ट लेखनले समयको माग गर्छ नै,’ चियाको चुस्की लिँदै बिस्तारै सुनाउँछन् भाम । भामसँग स्क्रिप्टको बीसवटा थाक छन् । अहिले २१औँ थपिएको छ । आफ्नो कोठामा चुपचाप रहेर लेख्छन् । उनको विश्वास छ– सर्जक कालकोठरीमा गुम्सिएपछि मात्र उसले सिर्जना बोकेर आउन सक्छ । कहिलेकाहीँ त भामको मन र मस्तिष्कको बाटो भएर एउटा कुरा दगुरिरहन्छ, ‘म अलि बढी सामाजिक भएँ कि !’

सामूहिकता चाहिन्छ । त्यो आवश्यक पर्छ । तर, सर्जक सामूहिकता नभएर व्यक्तिवादी हुनैपर्ने मान्छन् भाम । व्यक्तिवादी नभईकन सिर्जनाले आफ्नो उचाइ र गहिराइ निर्माण गर्न नसक्ने धारणामा अडिग छन् । जब उनी स्क्रिप्ट लेखनमा बस्छन्, उनको सम्पर्क स्क्रिप्टभित्र चलमलाई हिँड्ने अक्षरहरूसँग मात्र हुने गर्छ । साथीहरूदेखि टाढा, सम्बन्धहरूदेखि टाढा, भर्चुअल दुनियाँदेखि टाढा, भिडदेखि टाढा । त्यहीँ बसेर भाम स्क्रिप्ट लेख्छन्, केर्छन्, मेट्छन्, थप्छन् । भामका साथीहरू थुप्रै भए पनि स्क्रिप्ट लेखनमा लागेपछि सबैलाई छाडिदिन्छन् । 

स्वभावैले समय लाग्छ । ‘कालोपोथी’ स्क्रिप्ट लेखेँ । काम पनि गरेँ । तर, यो प्रोजेक्ट (चिसो वर्ष) पाँच वर्षको थियो । यस हिसाबले समय जाने नै भयो । साथै स्क्रिप्ट लेखनले समयको माग गर्छ नै ।

भामलाई लाग्छ, समूह पनि चाहिन्छ । तर, सिर्जनाको क्रममा होइन । त्यो सिर्जनालाई आकार दिनचाहिँ चाहिन्छ समूह । तर, समूहले नै सबथोक गर्छ भनेर भ्रममा असल सर्जक कहिल्यै नबाँच्ने दाबी पनि छ उनको । सेलाउन लागेका चियाको कप टेबलबाट हातमा उठाउँदै भन्छन्, ‘सिनेमा, कला भनेको त्यस्तो फूलका थुंगाहरू होइनन्, जसलाई माला बनाउन सियोले घोचिरहनुपर्छ । कला भनेको तर्साएर र धम्काएर जितिने तासको फलाँस खेलजस्तो पनि होइन । थर्काएर खाने, समूह ठूलो बनाए सबथोक पाइन्छ भन्नेले दुई दिन खाला । तर, जीवन दुई दिनका लागि मात्र होइन ।’

०००
भामको आउँदो चलचित्रको लोकेसन छ, मुगु । कथा पनि त्यतैको । साथमा भामले तिब्बतीयन भाषा प्रयोग गरेका छन् चलचित्रमा । भाषाकै कारण पनि चलचित्र निर्माणमा भामलाई समय लाग्यो । तिब्बतीयन भाषा बोल्ने मान्छे कम छन् । त्यसमा पनि त्यही भाषामाथि पोख्त मान्छे कलाकार चाहियो । जसका लागि डेढ वर्ष चहारे । पात्रको मात्र समस्या भने होइन । लोकेसनको पनि उस्तै समस्या आइपर्‍यो । स्क्रिप्टमा एउटा लेकेसन तयार पार्थे, हेर्न जाँदा त्यस्तो लोकेसन भेट्दैन थिए । अहिले यी यावत् समस्या बिस्तारै समाधानमा रूपान्तरित गरिरहेका छन् । तिब्बतीयन भाषा सिकिरहेका छन् । स्क्रिप्टलाई अंग्रेजीबाट तिब्बतीयन भाषामा अनुवाद गर्ने योजनामा लागेका छन् । तर, तिब्बतीयन भाषा नै किन ? 

यसका लागि भामसँग सजिलो उत्तर छ । आफूले जुन ठाउँको कथा टिपेको हो, त्यो कथाले मूर्तता र सार्थकता पाउनका लागि तिब्बतीयन भाषा नै चाहिन्छ । नेपालमा भने सबटाइटलमा नेपाली भाषा राख्दै छन् । भाषागत हिसाबले आफू यति जोखिम मोल्न तयार छन् भाम । व्यावसायिक हिसाबले अलि जोखिम भए पनि त्यो आफ्ना लागि उत्ति महत्वपूर्ण नभएको दाबा गर्छन् । ‘म जुन ठाउँको कथामा काम गरिरहेको छु, त्यो भाषा चाहिन्छ नै ।

हामी ठुल्ठूला सांस्कृतिक क्रान्तिको कुरा गर्छौँ, पहिचानको कुरा गर्छौँ । यो सबैबीचमा भाषा मुख्य कुरा हो,’ भाम भन्छन्, ‘संसारमा भाषाकै कारण केही देशले शासन गरिरहेका छन् । साम्राज्यवाद या अधिनायकवाद फैलाउन भाषाले नै ठूलो काम गर्‍यो । यदि भाषालाई मारेर बनाउनु छ भने त अंग्रेजीमा बनाए भइगयो नि, अझ बढी दर्शक पाउँछु होला । कलाकार खोज्न गाह्रो नहोला । अभिनय पनि राम्रो होला । काम छिटो होला । तर, सानातिना लोभलालच राखेर काम गरेमा सर्जक खुम्चँदै जान्छ ।’