मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
तस्बिर : विनोद विष्ट
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक १९ बुधबार २१:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाह संस्कारमा ‘नो डिस्काउन्ट’ समाचार प्रभाव : लक्ष्मीले अब कक्षा १२ सम्म नि: शुल्क अध्ययन गर्न पाउने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक १९ बुधबार २१:२३:००

रकम अभावका कारण श्रीमानको दाह संस्कारसमेत गर्न नसकेकी भक्तपुर नगरकोट– ३ का रिना श्रेष्ठकी छोरी १२ वर्षीया लक्ष्मी श्रेष्ठको पठनपाठनमा सहयोग जुटेको छ । 

क्यानडास्थित गैरसरकारी संस्था सीमाविहीन सहयोग हातहरू र हाँडीगाउँस्थित टंगाल उच्च माध्यमिक विद्यालयको संयुक्त प्रयासपछि श्रेष्ठले कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्न पाउने भएकी हुन् । पशुपतिनाथ मन्दिरस्थित भष्मेश्वर घाटमा भएको उनको वेदनायुक्त स्टोरी गत १५ चैतमा नयाँ पत्रिकामा प्रकाशित भएको थियो । 

सहयोग रकम (५० हजार) संस्थाका नेपाल प्रतिनिधि माधवराज घिमिरेले बुधबार विद्यालयका प्रधानाध्यापक राजेन्द्र अधिकारीलाई हस्तान्तरण गरेका छन् । उक्त रकमबाट विद्यालयले कमलपोखरीस्थित कृषि विकास बैंकमा मुद्दती खाता खोल्नेछ । खाता लक्ष्मीकै नाममा रहनेछ । कक्षा १२ पास गरेपछि खाताको रकम लक्ष्मीले झिक्न पाउनेछिन् । बैंकबाट आउने ब्याज भने प्रत्येक वर्ष झिक्न सकिनेछ । सोही रकमबाट लक्ष्मीका लागि अध्ययन सामग्री र पोसाक खरिद गरिनेछ । 

‘क्यानडामा गैरआवासीय नेपालीले सीमाविहीन सहयोगी हातहरू नामक संस्था बनाएका छन् । पत्रिकामा छापिएको समाचार उहाँहरूले पढ्नुभयो । घटनाले उहाँहरूलाई निक्कै पिरोल्यो,’ सहयोग रकम हस्तान्तरणपछि संस्थाका नेपाल प्रतिनिधि घिमिरेले भने, ‘त्यसकैको प्रभावस्वरूप लक्ष्मीलाई पढाउन उहाँहरू राजी हुनुभयो । यो सुरुवात हो । सहयोग जारी रहनेछ ।’

सहयोग रकम बुझेपछि विद्यालयका प्रधानाध्यापक अधिकारीले लक्ष्मीको शिक्षामा कुनै कसर बाँकी नराख्ने बताए । उनले भने, ‘विद्यालयले लक्ष्मीलाई कक्षा १२ सम्म निःशुल्क पढाउनेछ । सहयोग रकम भने पाठ्यपुस्तक र पोसाकमा खर्च गरिनेछ । लक्ष्मीको थप अध्ययनमा विद्यालयले अब कुनै कसर बाँकी राख्ने छैन । विद्यालयले  सहयोगी हातहरूको उद्देश्य पूरा गर्ने कोसिस गर्नेछ ।’