मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नवराज मैनाली काठमाडौं
२०७७ कार्तिक १८ मंगलबार १८:००:००
Read Time : > 5 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आवरणमा पसल, कारोबार हुन्डीको : कामदारको रेमिट्यान्स भित्र्याउने हुन्डी कारोबारीको सञ्जाल जिल्ला तहसम्म

Read Time : > 5 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७७ कार्तिक १८ मंगलबार १८:००:००

झापाका ३१ वर्षीय विकास मित्तलको काठमाडौं भोटेबहालमा मोबाइल पसल छ । व्यापार सामान्य छ, कारोबार भने असामान्य । सातामै करोडौँको कारोबार गर्छन् । ठूलो कारोबार मोबाइलसम्बन्धी होइन, त्यसको आवरणमा हुन्डीको धन्दा चलाउँदै आएका छन् ।

उनै मित्तल सोमबार ओमबहालस्थित गोल्डन लिफ होटेलबाट ९९ लाख ८४ रुपैयाँ र नौ सय अमेरिकी डलरसहित पक्राउ परे । एक ग्राहकलाई दिन जम्मा गरेको रकम थियो त्यो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सुराकीका आधारमा उनलाई नियन्त्रणमा लिएको हो ।

मित्तलसहित उनका भाइ नाताका कमल मित्तल र भोटेबहालमा कपडा पसल चलाउने गणेश पौडेललाई पनि प्रहरीले पक्राउ गरेको छ । ‘उनले ठूलो परिमाणमा हुन्डी कारोबार गर्ने सूचना थियो,’ सिआइबीका निर्देशक डिआइजी सहकुल थापा भन्छन्, ‘सोही सूचनाका आधारमा पछ्याउने क्रममा स्रोत नखुलेको रकमसहित उनलाई पक्राउ गरेका हौँ ।’

प्रहरीका अनुसार कोरोना संकट सुरु भएलगत्तै हुन्डी कारोबार पनि कम भएको थियो । तर, लकडाउन खुकुलो बन्दै गएपछि पछिल्ला महिना ह्वात्तै बढेको सूचना प्रहरीले प्राप्त गरेको छ । ‘त्यही भएर निगरानी बढाएका छौँ,’ डिआइजी थापा भन्छन् । चाडपर्वका वेला अझै कारोबार बढेको सूचना प्राप्त भएको प्रहरी अधिकारीहरू बताउँछन् ।

कामदारको रेमिट्यान्सदेखि सुन तस्करीसम्म
अन्तरदेशीय आर्थिक कारोबारमा बैंकिङ माध्यमको प्रयोग अनिवार्य छ । तर, अवैध कारोबार लुकाउन तथा औपचारिक माध्यमबाट गर्दा तिर्नुपर्ने शुल्क जोगाउन हुन्डीमार्फत रकम लेनदेन हुने गर्छ ।

प्रहरी र राजस्व अनुसन्धान विभागका अधिकारीहरूका अनुसार हुन्डी कारोबारका तीनवटा प्रकार छन् । पहिलो– विदेशमा कार्यरत नेपाली कामदारको कमाइ स्वदेश पठाउँदा पनि अनौपचारिक च्यानल प्रयोग हुन्छ । मनी ट्रान्सफरबाट भन्दा हुन्डीमार्फत पठाउँदा सस्तो हुने भएकाले कामदारले यस्तो माध्यम रोज्ने गर्छन् । केही वर्षयता रेमिट्यान्स कारोबार सहज र सुलभ भएसँगै खाडी मुलुकबाट रकम पठाउँदा औपचारिक माध्यम नै प्रयोग हुन्छ ।

दक्षिण कोरिया र जापानजस्ता मुलुकमा काम गर्ने नेपालीको रोजाइमा भने अझै हुन्डी नै देखिन्छ । अमेरिका र युरोपेली मुलुकमा रहेका नेपालीले पनि धेरैजसो अनौपचारिक माध्यम रोज्छन् ।

दोस्रो– विदेशबाट सामान आयातबापत हुने भुक्तानीमा अनौपचारिक माध्यम प्रयोग गर्ने चलन अद्यापि छँदै छ । यो न्यून बिजकीकरणको समस्यासँग जोडिएको छ । सामान आयात गर्दा भन्सार छल्न सस्तोमा खरिद गरेको देखाइन्छ । बिलमा उल्लेखित रकम मात्र बैंकिङ माध्यमबाट जान्छ । बाँकी रकम हुन्डीमार्फत पठाइन्छ ।

यस्तो कारोबार ठूलो रहेको जानकार बताउँछन् । राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली भने पछिल्ला वर्ष भन्सारछली नियन्त्रण हुँदै गएसँगै विगतको तुलनामा यस्तो कारोबार कम भएको दाबी गर्छन् ।

हुन्डीको तेस्रो प्रकृति भने आपराधिक कामको लेनदेनसँग जोडिएको छ । सुन, अवैध डलर, वन्यजन्तुका आखेटोपहार र लागुऔषध तस्करले पनि हुन्डीमार्फत कारोबार गर्छन् । जस्तो– सरकारद्वारा गठित विशेष छानबिन समितिले पनि नेपालमा सुन तस्करी गर्नेहरूले हुन्डीमार्फत नै कारोबार गर्ने गरेको औँल्याएको थियो । साढे ३३ किलो सुन तस्करी प्रकरणमा केही हुन्डी कारोबारीलाई पनि प्रहरीले पक्राउ गरेर मुद्दा दायर गरेको छ ।

पत्ता लाग्दैन नेटवर्क
सोमबार पक्राउ परेका मित्तलद्वय र पौडेलको कारोबारबारे विस्तृत अनुसन्धान नगरी प्रहरीले राजस्व अनुसन्धान विभागमा बुझाइसकेको छ । यससम्बन्धी अनुसन्धान र अभियोजन गर्ने जिम्मा आफूलाई नभएको प्रहरीको भनाइ छ ।

हुन्डी कारोबारमा अन्तरदेशीय सञ्जाल हुन्छ र त्यो संगठित पनि हुन्छ । जानकारहरूका अनुसार कम्तीमा दुई देशमा एजेन्ट नभई यस्तो कारोबार सम्भव हुँदैन । तर, पक्राउ परेका व्यक्तिबाहेक गिरोहका अन्य व्यक्ति तानिने गरेका छैनन् । सोहीकारण कहिलेकाहीँ मारिने छापाबाट हुन्डी कारोबार नियन्त्रण हुन सकेको छैन । यस्तो कारोबारमा भर्चुअल माध्यम प्रयोग हुने भएकाले पनि गिरोह पत्ता लगाउन समस्या भएको राजस्व अनुसन्धान विभागका महानिर्देशक मैनाली बताउँछन् ।

तर, चाहेमा प्रहरीले पनि यस्तो अपराधमा अनुसन्धान गर्न सक्ने अवस्था छ । संगठित अपराध ऐन र नेपाल राष्ट्र बैंक ऐनअनुसार केही महिनाअघि काठमाडौं परिसर आफैँले मुद्दासमेत चलाएको थियो । तर, सामान्यतया राजस्व अनुसन्धान विभागमै बुझाएर थप अनुसन्धानबाट प्रहरी पन्छिने गरेको छ ।

न्युरोड क्षेत्र मुख्य अखडा, फैलिँदै सञ्जाल
उपत्यकामा न्युरोड क्षेत्रमा अत्यधिक हुन्डी कारोबार हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । सोही क्षेत्रबाट प्रहरीले पटक–पटक कारोबारीलाई पक्राउ गरेको छ । विभिन्न पसल र कार्यालयमार्फत यस्तो कारोबार हुने गरेको महानगरीय अपराध महाशाखाका एक अधिकृत बताउँछन् ।

उपत्यकाबाहिर पनि ठूलो परिमाणमा हुन्डी कारोबार हुने गर्छ । यसको आकार कति ठूलो छ भन्ने दुई वर्षअघि राजस्व अनुसन्धान विभागले दायर गरेको एक मुद्दाबाट पनि प्रस्ट हुन्छ । विभागले जनकपुरका एक व्यापारीविरुद्ध चार अर्ब १६ करोड रुपैयाँको बिगोसहित मुद्दा दायर गरेको थियो । रामेश्वर साह, उनकी श्रीमती मीनादेवी, विजय यादव, मोख्त अहमद, सन्तोष महतो, नरेश महतो, सुरज ठाकुर र पप्पुकुमार दासविरुद्ध विभागले मुद्दा दायर गरेको थियो । विभागले मुद्दामा उनको भौचर र खातामा भएको हिसाबलाई आधार बनाएको थियो । ‘देशका हरेक सहरबाट अर्बौँको यस्तो कारोबार चलिरहेको छ,’ विभागका एक अधिकारी भन्छन्, ‘यसमा राज्यले नीतिगत रूपमै नसोचेसम्म नियन्त्रण कठिन छ ।’

यस्तै, भैरहवामा सुन पसलको आवरणमा सुनीलकुमार सोनीले हुन्डीमार्फत भारतमा सुन तस्करीका लागि लेनदेन मिलाउँदै आएका थिए । पछिल्लो डेढ वर्षमा मात्र उनले नेपालबाट दुई अर्ब ३२ करोडको सुनचाँदी भारतमा तस्करी गरेको उल्लेख गर्दै विभागले मुद्दा दायर गरेको छ । त्यो सबै कारोबार उनले हुन्डीमार्फत मिलाएका थिए ।

यसबाट पनि हुन्डीको जालो कति ठूलो छ भन्ने प्रस्ट हुन्छ । स्रोतका अनुसार कारोबारीले कारोबार भएको रकमको दुई प्रतिशत शुल्क लिने गर्छन् ।

फलफूल पसलदेखि सहकारीसम्म
विभिन्न व्यवसायको आवरणमा हुन्डी कारोबार हुने गरेको प्रहरी अनुसन्धानले देखाउँछ । फलफूल पसलमा समेत हुन्डी काराबोर हुने गरेको दुई वर्षअघि पत्ता लागेको थियो । महानगरीय अपराध महाशाखाले माँ चामुण्डा फ्रुट सेन्टरका सञ्चालक ४५ वर्षीय विजय गुप्तालाई हुन्डी कारोबार अभियोगमा मुद्दा दायर गरेको थियो ।

यस्तै, अटो मोबाइल्सको आवरणमा हुन्डी कारोबारमा संलग्न वीरगन्जका व्यापारी दुई वर्षअघि पक्राउ परेका थिए । वीरगन्ज–१६ बसपार्क लिंकरोडस्थित न्यू दक्षिणकाली अटो मोबाइल्सका सञ्चालक रितेशकुमार गुप्ता (अग्रवाल)लाई प्रहरीले ५६ लाख रुपैयाँसहित पक्राउ गरेको थियो । बहुराष्ट्रिय कम्पनी जोन्सन नेपालका प्रमुख राहुल अग्रवालसमेत दुई वर्षअघि हुन्डी कारोबार अभियोगमा पक्राउ परेका थिए ।

यसैगरी, निर्माण व्यवसायी मनोजकुमार भेटवाल हुन्डी कारोबारमा संलग्न रहेको पुष्टि भएपछि राजस्व अनुसन्धान विभागले गत वर्ष मुद्दा दायर गरेको थियो । उनले चार करोड ६० लाख ६२ हजार रुपैयाँको हुन्डी कारोबार गरेको विभागको छानबिनमा खुलेको थियो ।

यस्तै, मनी एक्सचेन्ज र ट्राभल एजेन्सीमार्फत सानोतिनो कारोबार हुने गरेको प्रहरी अधिकारी बताउँछन् । १३ असोज ०७२ मा प्रहरीले हुन्डी कारोबारीविरुद्ध ठूलो अप्रेसन चलाएको थियो । त्यसमार्फत मनी एक्सचेन्ज र ट्राभल एजेन्सीको आवरणमा हुन्डी कारोबार हुने गरेको खुलेको थियो ।

त्यतिवेला ठमेलस्थित नर्थ प्वाइन्ट मनी एक्सचेन्जका सञ्चालक राजाराम पाण्डे ५९ लाख, ठहिटीस्थित ओम मनि एक्सचेन्जका राकेश वैद्य तीन लाख १९ हजार रुपैयाँ र सुन्धारास्थित देउराली मनी एक्सचेन्जका जेवाहल हक सात सय ११ अमेरिकी डलरसहित पक्राउ परेका थिए ।

सुनचाँदी पसलबाट पनि हुन्डी कारोबार हुने गरेको खुलेको छ । त्यसवेला पशुपति सुनचाँदी पसलका नन्दुकुमार मर्गले र मैतोष सेनापती दुई लाख ६६ हजार रुपैयाँसहित पक्राउ परेका थिए । त्यस अप्रेसनमा न्युरोडस्थित कंंगारु एक्सप्रेसका रवीन्द्र्र सुवेदी र पृथ्वीबहादुर रावत ३८ लाख तथा महाबौद्धस्थित न्यू पायल इम्पेक्सका भीमसेन शर्मा ४७ लाख रुपैयाँसहित पक्राउ परेका थिए ।

यस्तै, २९ वैशाख ०७३ मा महानगरीय अपराध महाशाखाले खिचापोखरीको पशुपति प्लाजाबाट मात्र एकैपटक १२ जना हुन्डी कारोबारीलाई पक्राउ गरेको थियो । कतिपय सहकारीले नै पनि यस्तो कारोबार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

महानगरीय अपराध महाशाखाले बिहीबार न्युरोडबाट गोवद्र्धनप्रसाद सराबगी र उनका कामदार कृष्णप्रसाद भट्टराईलाई पक्राउ गरेको छ । सराबगीले न्युरोडमा अञ्जनी ओभरसिज कम्पनी दर्ता गरी पसल चलाउँदै आएका थिए । कपडा तथा भाडाका सामान बिक्री गर्ने आवरणमा उनले हुन्डीको काम गर्दै आएको खुलेको थियो । प्रहरीका अनुसार व्यापारिक किसिमको हुन्डीको कारोबार उपत्यकाकेन्द्रित छ । विदेशबाट नेपालीले पठाउने हुन्डी कारोबारको सञ्जाल भने जिल्ला–जिल्लामा फैलिएको छ ।

अनौपचारिक अर्थतन्त्रमा प्रयोग
काठमाडौं उपत्यकाका हरेक महिनाजसो हुन्डी कारोबारीहरू पक्राउ पर्दै आएका छन् । गत ९ साउनमा महानगरीय अपराध महाशाखाले न्युरोड विशालबजारबाट ढुण्डीराज न्यौपानेलाई १९ लाख ९१ हजार रुपैयाँसहित पक्राउ गरेको थियो । १४ असारमा ६५ लाखसहित रमेश सिंह र रविशंकर सिंह कालिमाटीमा पक्राउ परे ।

अनलाइन जुवाको पैसासमेत हुन्डीमार्फत पठाउने गरेको पाइएको अपराध महाशाखाका प्रमुख एसएसपी थापा बताउँछन् । उनका अनुसार पछिल्लो समय सहकारीमार्फत पनि हुन्डी कारोबार बढेको छ ।

दुई वर्षअघि विराटनगरको आस्था नेपाल सहकारीका सञ्चालकहरू ६८ लाख ५७ हजार स्रोत नखुलेको रकमसहित पक्राउ परेका थिए । भारतसँग सीमा जोडिएका जिल्लामा हुन्डी कारोबार तस्करीसँगै जोडिने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

हुन्डीले राज्यको आम्दानीको स्रोत घटाउनुका साथै अनौपचारिक अर्थतन्त्रलाई बढावा दिने भएकाले यसको नियन्त्रणसँग देशको समृद्धि जोडिने अर्थविद् डा. डिल्लीराज खनाल बताउँछन् । ‘हाम्रोमा ३५ देखि ४० प्रतिशत कालो अर्थतन्त्र रहेको अनुमान छ,’ डा. खनाल भन्छन्, ‘कालो अर्थतन्त्रले गरिबी बढाउँछ, त्यसकारण हुन्डी कारोबारलाई राज्यले विशेष ध्यान दिएर नियन्त्रण गर्नु जरुरी छ ।’

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट अहिलेको अवस्थामा पनि रेमिट्यान्स बढेकाले अनौपचारिक कारोबार घटेको दाबी गर्छन् । ‘अनौपचारिक कारोबारको ठ्याक्कै मापन गर्न सकिँदैन,’ उनी भन्छन्, ‘औपचारिक कारोबार बढेकाले अनौपचारिक लेनदेन घटेको देखिन्छ ।’