Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ मङ्सिर १७ बुधबार
  • Wednesday, 02 December, 2020
ad
२०७७ कार्तिक ७ शुक्रबार ०९:००:००
दृष्टिकोण प्रिन्ट संस्करण

अंग्रेजी शिक्षाको हाउगुजी

बहस

२०७७ कार्तिक ७ शुक्रबार ०९:००:००

भाषा माध्यम मात्र होइन, यो हाम्रो देश कस्तो बनाउने भन्ने बहस पनि हो, अंग्रेजी बोल्नु बौद्धिक हुनु होइन

‘ह्वाट इज योर नेम बोइ ?’ ४ वर्षे छोरालाई अघिल्लो वर्ष भर्ना गर्न जाँदा प्रिन्सिपलले सोध्नुभयो । छोराले उत्तर दिन जानेन । प्रिन्सिपलले फेरि सोध्नुभयो, ‘हँ बाबु, ह्वाट इज योर नेम ?’ मैले ‘औपल पाण्डे’ भन छोरा भनेर सिकाएँ । छोराले लरबराउँदै ‘औपल पाण्डे’ भन्यो । त्यो दिन घर फर्कंदै गर्दा मेरो मनमा एउटा प्रश्न उब्जियो । छोरालाई आफ्नो नाम त भन्न लगाएँ, तर उसले के बुझेर उत्तर दियो होला ?

नेपाली भाषामा ‘तिम्रो नाम के हो ?’ भनेर सोध्दा उत्तर दिन बल्लबल्ल सिक्दै गरेको छोराले नाम त भन्यो, तर के बुझ्यो होला ? मेरो मनमा एउटा प्रश्न उब्जियो, सायद हामी अब उसलाई यसरी तालिम दिँदै छौँ, जहाँ उसले त्यो प्रश्न सुन्नेबित्तिकै उत्तर त दिनेछ, तर उसले के सोधिएको हो भनेर बुझ्नेछैन । सर्कसका जनावरझैँ बन्नेछ मेरो छोरो, अनि हाम्रा छोराछोरी । मलाई अच्चम लाग्छ, भर्खर बोली पनि नफुटेका कलिला बालबालिकालाई जबर्जस्ती अंग्रेजी भाषा बोल्न लगाएर हामी कस्तो शिक्षाको जग बसाल्दै छौँ ?

म मेरो बच्पन पनि सम्झँदै छु । म पढेको ‘बोर्डिङ’ स्कुलमा नेपाली बोल्न निषेध थियो । भित्तामा, नेपाली बोले प्रतिशब्द ५ रुपैयाँ जरिवाना भनेर लेखिएको सम्झना अझै ताजै छ । प्रिन्सिपलले नेपालीमा बोल्दा विद्यार्थी पिटेको पनि अझै सम्झन्छु । मचाहिँ अंग्रेजी बोल्नुभन्दा बरु चुप रहन सजिलो ठान्थेँ । बोल्नैपरे सर–मिसहरूसँग टुटेफुटेको अंग्रेजी बोल्थेँ । धेरै कुरा इसारामै गरिन्थ्यो । लुकेर नेपालीमै बोलिन्थ्यो । मैले स्कुलमा राम्ररी अंग्रेजी सिकिनँ, किनकि अंग्रेजी हामीमाथि लादिएको थियो । मेरो नेपाली राम्रो थियो, किनकि मलाई त्यहाँ नेपाली कसैले पढाउँदै थिएन ।

अंग्रेजीको भूत
केही दिनअघि मिडियामा केपी ओलीले वामदेव गौतमलाई ‘तपाईं प्रधानमन्त्री कसरी बन्नुहुन्छ ? तपाईंलाई त अंग्रेजी बोल्न आउँदैन भने’ भन्ने समाचार आएको थियो । त्यो संवाद मजाक नै किन नहोस्, त्यस संवादमा एउटा गहिरो सामाजिक मनोविज्ञान लुकेको छ । स्कुलदेखि प्रधानमन्त्री तहसम्म हामीले अंग्रेजीलाई ठूलो हौवा बनाएका छौँ । यस्तो हौवा जसले धेरैको आत्मविश्वास गुमाएको छ ।

हामीलाई अंग्रेजी खररर बोल्नु नै ज्ञानी हुनु वा शिक्षित हुनु हो भन्ने लागिरहेको छ । यो भ्रम अभिभावकमा छ । देश परिवर्तन गर्न हिँडेका नेतामा छ । पढेलेखेका भनिने वा शिक्षकमा पनि छ । अहिले धेरै स्थानीय तह र सार्वजनिक विद्यालयले स्कुललाई राम्रो बनाउने नीति भन्दै अंग्रेजी माध्यममा पढाइ हुने भनेर ‘ब्रान्डिङ’ गरिरहेका छन् । हामीले अंग्रेजी माध्यमलाई शिक्षाको गुणस्तर बढाउने जादुको छडी भन्ठानेका छौँ ।

अंग्रेजी माध्यमको अनावश्यक हौवाले गर्दा शिक्षालाई मात्र होइन, राष्ट्रलाई नै प्रभाव परिरहेको छ । आज हामी मौन तरिकाले हाम्रो भाषा, संस्कृति, परम्परा, शैली, हाम्रो पृथकताभन्दा पश्चिमी संस्कृति राम्रो छ भनेर व्याख्या गरिरहेका छौँ । हामीले हाम्रो मौलिकतालाई गौरवको विषय बनाउन सकिरहेका छैनौँ । आज हामीमा हुनुपर्ने राष्ट्रिय आत्मविश्वास खोइ ? कतै यस्तै भ्रामक हीनताबोधका कारण त हामी हराइरहेका छैनौँ ? भाषा माध्यम मात्र होइन, यो हाम्रो देश कस्तो बनाउने भन्ने बहस पनि हो ।

ज्ञानकै निम्ति बाधक 
‘दसैँमा सम्पूर्ण परिवारसँग बसेर कुइनोसम्म रस चुहिने गरी तात्तातो मासुभात खाइयो ।’ दसैँको अनुभवबारे लेख्दै गर्दा विद्यार्थीले यस्ता भाव कसरी आर्को कुनै भाषामा व्यक्त गर्न सक्छ ? शिक्षाको उद्देश्य भनेको आफूलाई अभिव्यक्त गर्नु हो । आज हामीले पढ्नका निम्ति जुन भाषा रोजेका छौँ, त्यसले हामीलाई अभिव्यक्त गर्न सहयोग गरिरहेको छैन ।

हामीले अंग्रेजी सिक्ने लहैलहैमा हाम्रो भाषा पनि राम्ररी सिक्न सकेनौँ । आज हाम्रा विद्यार्थीको न अंग्रेजी राम्रो बन्दै छ, न त नेपाली नै । म आज पनि अंक नेपालीमा राम्ररी उच्चारण गर्न सक्दिनँ । आज हाम्रा युवाको भाषा अंग्रेजी अनि नेपालीको ककटेल ‘नेपांग्रेजी’ बन्दै गएको छ, जसले हामीलाई दुवै भाषामा पोख्त हुन दिएको छैन ।

आज अंग्रेजीमा पढाइ हुने स्कुल पढ्नुलाई सामाजिक स्तर नाप्ने मापक बनाइएको छ । गुणस्तरीय शिक्षा र राम्रो अंग्रेजी फरक कुरा हुन् । आजको समाजले विद्यार्थीमा खोज्ने भनेको नवीनता हो, आत्मविश्वास हो, सृजनशीलता हो । त्यो कुरा अंग्रेजी माध्यममा पढाएर अधिकांशका निम्ति प्राप्त हुँदैन । मैले स्कुलमा सामाजिक शिक्षासमेत अंग्रेजीमा रटेर, शिक्षकले लेखाइदिएको उत्तर पढेर पास गरेँ ।

आफ्नो समाज र संस्कृतिसँग जोडिएको विषयलाई समेत हामी अर्को भाषामा अनुवाद गरेर रटिरहेका छौँ । सामाजिक शिक्षामा त व्यक्ति, परिवार, समाज, राज्य व्यवस्थाको बारेमा सिकाउने हो । वा, नवीन सोचको उत्पत्तिका निम्ति बहस गराउने हो । तर, हाम्रोमा विद्यार्थीले आफूले जानेको कुरा अंग्रेजीमा व्यक्त गर्न सक्दैनन् । शिक्षकले समेत बुझाउन सक्दैनन् । फलस्वरूप विद्यार्थीहरू फरक विचार राख्न, प्रश्न सोध्न, समस्याबारे बुझ्न, विश्लेषण गर्न, समाधान राख्न सकिरहेका छैनन् ।

कनीकुथी अंग्रेजी माध्यममा पढ्नु, पढाउनुलाई गुणस्तरीय शिक्षा भन्ने भ्रम अब त्याग्नुपर्छ । स्कुलमा दोस्रो भाषामा वा तेस्रो भाषामा पढेरभन्दा मातृभाषामा पढ्ने विद्यार्थीले राम्रो गरेका हामीसँग धेरै अनुसन्धान छन् ।

आज हाम्रो समाजको कुरीतिविरुद्ध बच्चालाई पढाउँदै छौँ, तर त्यो व्यवहारमा किन लागू भएको छैन ? पढेकै विद्यार्थी दाइजो प्रथा, घरेलु हिंसाको विरुद्ध किन उत्रन सकेको छैन ? जेब्राक्रसबाट बाटो काट्न किन सिकेको छैन ? किनकि, सिकाउनैपर्ने यस्ता महत्वपूर्ण कुरासमेत हामीले विद्यार्थीलाई आत्मसात् गराउन सकिरहेका छैनौँ । त्यसको एउटा कारण, यी संस्कार हामीले सुरुकै कक्षामा उनीहरूको मातृभाषामा सिकाउन सकेनौँ ।

अंग्रेजी भाषामा रट्न लगाएपछि विद्यार्थीले अवधारणा आत्मसात् गर्न सक्ने कुरा पनि भएन । ‘ड्रप आउट’ को एउटा प्रमुख कारण यही भाषा हो । जब विद्यार्थीले अंग्रेजीमा अभिव्यक्त गर्न सक्दैन, तब ऊ जबर्जस्ती कण्ठस्त पार्न बाध्य हुन्छ । कक्षाकोठामा हुने अन्तरक्रियामा चुप बस्न बाध्य हुन्छ । ज्ञानवर्धक बहसमा मौन बस्न बाध्य हुन्छ । हामीले के बुझाउन सकिरहेका छैनौँ भने कनेर अंग्रेजी बोल्नु भनेको बौद्धिकता होइन । अंग्रेजी बोल्न सक्नु सामाजिक प्रतिष्ठाको विषय होइन ।

सरकारले नीति नल्याएको पनि होइन, तर नेतृत्वले नीति कार्यान्वयनमा इमानदारिता देखाएको छैन । हाम्रो नेतृत्व साँच्चिकै इमानदार हुन्थ्यो भने अंग्रेजी मोह त्यागेर यस्तो ‘इकोसिस्टम’को निर्माण गथ्र्यो, जसले मातृभाषामा राम्रो परिणाम दिएर कार्यान्वयनमा लान सकियोस् । नेतृत्वले त्यो गर्न सक्दैन, किनकि त्यसका लागि नेताहरूले जोखिम मोल्नुपर्छ ।

आज कुनै नेता नयाँ गर्ने साहस राख्दैनन्, किनकि उनीहरू के सहीभन्दा पनि आफ्नो मतदाता के चाहन्छन्, हेर्छन् । मतदाता अंग्रेजीकै हाउगुजीमा रमाइरहेका छन् । अर्को महत्वपूर्ण कुरा, हाम्रा शिक्षक अंग्रेजी माध्यममा पढाउन कति सक्षम छन् ? यो भाषा हाम्रा लागि कति सहज छ ? हामीले कहिल्यै बुझ्ने प्रयास गरेनौँ । हाम्रा शिक्षक तयार छैनन् । उनीहरू विद्यार्थीलाई बुझाउन सक्दैनन् ।

शिक्षकले नै डराइडराइ कनेर पढाउनुपर्ने भाषाले हामीलाई कहाँ पुर्‍याउला ? आधाभन्दा बढी समय विद्यार्थी घरमा हुन्छन् । बढी समय अंग्रेजी नबोल्ने वातावरणमा हुर्कने हाम्रा विद्यार्थीलाई अंग्रेजी सहज हुँदैन । आज पनि हाम्रो घरमा बोलिने भाषा अंग्रेजी होइन, यसरी घरमा प्रयोग नहुने भाषामा हाम्रा नानीबाबुलाई पढाउँदा कस्तो प्रभाव पर्ला ?

अंग्रेजी नपढ्दा घाटा छैन
अंग्रेजी जान्नु नराम्रो हुँदैहोइन, तर नजान्दा पहाड पनि खस्दैन । फेरि अंग्रेजी मात्र संसारको प्रमुख भाषा पनि होइन । मातृभाषाको संख्यामै हेर्ने हो भने पनि संसारमा चिनियाँ र स्पेनिस बोल्नेहरू अंग्रेजी बोल्नेभन्दा धेरै छन् । हिन्दी बोल्नेको संख्या पनि हाराहारी अंग्रेजीजत्ति नै छ । तसर्थ, अंग्रेजी निर्विकल्प होइन । अंग्रेजी भाषा नै विश्वको भाषा हो भन्ने पनि होइन । आज पनि होइन । भोलि आजजत्तिको महत्वपूर्ण नरहन पनि सक्छ ।

संसारका दुई सय देशमा करिब ५० देशको आधिकारिक भाषा मात्र अंग्रेजी हो । नर्वे, स्विडेन, डेनमार्क, जर्मनी, फ्रान्स, इटाली, स्पेन, पोर्चुगल, फिनल्यान्ड आदि जस्ता युरोपका धेरै विकसित देशको प्रमुख भाषा अंग्रेजी होइन । यी देशको शिक्षा प्रणालीको माध्यम पनि अंग्रेजी होइन, आफ्नै भाषा हो । संसारका सबैभन्दा ‘इन्नोभेटिभ’ देशको सूचीको माथिल्ला स्थानमा सिंगापुर, कोरिया, स्विडेन, जर्मनी, स्विट्जरल्यान्ड, जापान, इजरायल आदि छन् । यी सबै देशको शिक्षा प्रणालीको माध्यम भाषा अंग्रेजी होइन । देश विकासका निम्ति अर्काको भाषाभन्दा आफ्नो भाषासहितको आत्मविश्वास महŒवपूर्ण छ भन्ने उदाहरण पनि हामीले यहाँबाट बुझ्न सक्छौँ । 

कोरिया, जापान, जर्मनी, स्विडेन, रसिया, चाइनाको अर्थतन्त्र धेरै मुलुकको भन्दा राम्रो छ । ती देश हेर्ने हो भने त्यहाँ पढाउने भाषा अंग्रेजी छैन । संसारका २० धनी देशहरू आफ्नै भाषामा पढाउँछन् । संसारका २० गरिब देश हेर्ने हो भने उनीहरू अरूको भाषा बोल्छन् । यहाँबाट पनि भाषाको महत्व अनुमान लगाउन सकिन्छ । भाषाको सहजताले नागरिकलाई दिने आत्मविश्वास ठूलो अनि महत्वपूर्ण हुन्छ । डेनमार्क, इजरायलजस्ता सानो जनसंख्या भएका मुलुकमा पनि उच्चशिक्षासम्म आफ्नै भाषामा पढाइन्छ । त्यहाँ संसार हल्लाइरहेका कम्पनी छन् ।

कनीकुथी अंग्रेजी माध्यममा पढ्नु, पढाउनुलाई गुणस्तरीय शिक्षा भन्ने भ्रम भने अब त्याग्नुपर्छ । यसबारे युनेस्कोलगायतले सयौँ अध्ययन गरेका छन् । स्कुलमा दोस्रो भाषामा वा तेस्रो भाषामा पढेरभन्दा मातृभाषामा पढ्ने विद्यार्थीले राम्रो गरेका हामीसँग धेरै अनुसन्धान छन् । स्कुलभन्दा बाहिर नबोलिने भाषामा पढ्दा बरु उल्टो सिकाइको बाधक बन्ने कुरा त दशकौँअघिदेखि आई नै रहेको हो ।

सन् २०१६ मा युनेस्कोले ग्लोबल एजुकेसन मोनिटरिङ रिपोर्टमार्फत के भनेको छ भने मातृभाषाबाहेक अन्य भाषामा पढाउँदा विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव परिरहेको हुन्छ । यो त अनुसन्धानको विषय पनि होइन । बच्चाले आफूले बोल्ने अनि बुझ्ने भाषामा पढ्न पाए विद्यार्थी कक्षाकोठामा बढी संलग्न हुने थिए । नयाँ आइडिया, बहस र तथ्यबारे छलफल हुने गथ्र्यो । अहिले त पढाएको पनि बुझ्दैनन् । बुझिनँ भनेर भन्न पनि जान्दैनन् । यसले विद्यार्थीलाई कक्षामा संलग्न गराउँदैन ।

अल्बर्ट आइन्स्टाइन आफ्नै भाषामा पढेर पनि संसार हल्लाउन सफल भए । एपिजे अब्दुल कलामले पनि आफ्नै भाषामा पढेका हुन् । अंग्रेजी नपढ्ने मानिस विश्वप्रख्यात हुँदैन भन्ने सही होइन । हामी हाम्रो घरमा मातृभाषामा बोल्छौँ । म नेवारी समुदायमा हुर्केको हुँ, जहाँ साथीलाई पासा भनिन्छ । नेपालीमा साथी भनिन्छ । अनि अंग्रेजीमा फ्रेन्ड ।

स्कुल भर्खर गएको एउटा बच्चालाई यसरी एउटै कुरालाई घरमा एकथरी, समाजमा अर्को थरी अनि कक्षाकोठामा अर्कै माध्यममा पढ्दा कति गाह्रो हुन्छ होला ? एउटा बालमस्तिष्कले यी विषय कसरी टिप्ला ? मैले धेरै हिसाब ‘एसेन्डिङ अर्डर’ र ‘डिसेन्डिङ अर्डर’ भन्ने अंग्रेजीको शब्दमा झुक्किएर बिगारेको छु । अहिले पनि मलाई सोच्न समय लाग्छ । धेरै विद्यार्थीले अंग्रेजीमा सोधिएको प्रश्नै नबुझेर उत्तर दिन सकिरहेका हुँदैनन् । कति अभिभावक किताबमा सोधेको प्रश्न नबुझेर आफ्ना बच्चालाई घरमा पढाउन सकिरहेका छैनन् । यो सानो समस्या होइन ।

विद्यार्थीलाई अर्को भाषामा नयाँ कुरा पढ्न गाह्रो हुन्छ । मातृभाषामा चित्रण गर्न र आफ्नो बुझाइलाई गहिरो बनाउन सहज हुन्छ । आफैँलाई चिन्नसमेत सहज बनाउँछ । आफ्नो समाजको कला संस्कृतिप्रतिको अपनत्व पनि बढाउँछ । आफ्नो आधारभूत ज्ञान बलियो भएका विद्यार्थीले मज्जाले निर्णय लिन सक्छन् । नर्सरी वा केजी कक्षामै अंग्रेजी पढाएर हामी विद्यार्थीलाई औपचारिक शिक्षित बनाउन लागिपरेको छौँ । त्यसैले त अहिले बेरोजगारी बढिरहेको छ । आफैँले पढेको विषयमा समेत विद्यार्थीमा आत्मविश्वास नहुनु भनेको व्यक्ति अनि समाजकै लागि हानिकारक छ । 

मातृभाषालाई राम्रोसँग प्रयोगमा ल्याउने हो भने यसले विद्यार्थीमा आत्मसम्मान, गौरवको ऊर्जा दिन्छ । सन् १९७० मै नाइजेरियाका शिक्षाविद् अलिउ फफुन्वाले एउटा अध्ययन गरे । स्कुलको पहिलो ६ वर्ष विद्यार्थीलाई आफ्नो मातृभाषामा पढाइयो । यी विद्यार्थीले अंग्रेजीमा सुरुदेखि पढेका विद्यार्थीभन्दा राम्रो गरे । सन् १९७३ मा गरिएको नैन्सी मोदियानोको अर्को अध्ययनले पनि यही पुष्टि गरेको थियो ।

अनिवार्य अंग्रेजी नै प्रभावकारी ढंगले पढाउँदा मात्र पनि अंग्रेजी भाषा सहजै सिक्न सकिन्छ, तर हामी सिंगो शिक्षा प्रणाली नै अंग्रेजी माध्यममा लगेर शिक्षाको गुणस्तर बढेको भ्रम छर्न व्यस्त छौँ । अंग्रेजी माध्यमको ललिपपले मात्र शिक्षा सुध्रिनेछैन ।

हालसालै होन्डुरस, इरान र टोगोमा गरिएको अर्को एउटा अध्ययनमा पनि घरमा बोलिने भाषामै विद्यार्थीलाई पढाउँदा उनीहरूको राम्रो नतिजा आएको थियो । आफ्नै भाषाभन्दा अर्को भाषामा पढ्दै गर्दा संवाद वा सिकाइमा मात्र होइन, मानसिक रूपमा पनि विद्यार्थीलाई प्रभाव परिरहेको हुन्छ । लामो समय भारतको शिक्षा नीतिको अध्ययन गरेका नेसनल इन्स्टिच्युट अफ एड्भान्स स्टडिजका उप–प्राध्यापक शिवली टुकदेवका अनुसार पनि अंग्रेजी अनि गणितदेखि विद्यार्थी डराउनुका कारण पनि यही भाषा माध्यमकै समस्या हो ।

अब के गर्ने ?
यो लेखमार्फत अंग्रेजी नपढाउने वा नपढ्ने भन्ने बहस गर्न खोजिएको होइन । ओन्टारियो विश्वविद्यालयका प्रोफेसर जिम कमिन्सको अध्ययनअनुसार जब विद्यार्थीले पहिलो भाषा राम्ररी सिकेर दोस्रो भाषा सिक्छ, उसको दुवै भाषा राम्रो हुन्छ । यो प्रक्रियामा पहिलो भाषा सिक्दा उपयोग भएको सीपले दोस्रो भाषालाई सहयोग गर्छ । उनको आठ वर्षको अध्ययनले ‘अंग्रेजी माध्यममा पढाउनु र अंग्रेजी भाषा सिक्नु’का बीच विपरीत सम्बन्ध रहेको पाइएको थियो । तसर्थ, ५ वा ८ कक्षासम्म मातृभाषामा पढाएर त्यसपछि मात्र अंग्रेजी वा अर्को भाषा सिकाउँदा विद्यार्थीलाई फाइदा हुन्छ ।

ब्रिटिस काउन्सिलले नै अफ्रिकन र दक्षिण एसियामा चलेको वर्तमान अंग्रेजी माध्यममा शिक्षाको अध्ययनका आधारमा निकालेको प्रतिवेदनले ‘आधारभूत शिक्षामा अंग्रेजी माध्यमको प्रयोगले विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव पारेको’ भन्ने निष्कर्ष निकालेको थियो । यसरी अंग्रेजी माध्यमले हाम्रो सिकाइको जग नै कमजोर बनाइदिएको बारम्बार आइरहेको छ । तर, केही समय पहिला कास्की जिल्लाका सबै गाउँपालिकाले अंग्रेजी माध्यममा पढाउने सामूहिक घोषणा नै गरेको समाचार आएको थियो ।

हामी किन यो उल्टो बाटोमा छौँ ? अनिवार्य अंग्रेजी नै प्रभावकारी ढंगले पढाउँदा मात्र पनि अंग्रेजी भाषा सहजै सिक्न सकिन्छ, तर हामी सिंगो शिक्षा प्रणाली नै अंग्रेजी माध्यममा लगेर शिक्षाको गुणस्तर बढेको भ्रम छर्न व्यस्त छौँ । अंग्रेजी माध्यमको ललिपपले मात्र शिक्षा सुध्रिनेछैन । तसर्थ, हामीले मातृभाषालाई पुस्तक अनि कक्षाकोठामा उतार्न जरुरी छ ।

कोरियन भाषा सिकेर कोरिया जान लाइन लाग्न तयार रहेका नेपालीलाई आफ्नो भाषामा उत्कृष्ट बनाउने हो भने हामी जुनै पनि भाषा सिक्न सक्छौँ । तर, आत्मविश्वास हुन जरुरी छ । आत्मविश्वास हाम्रो आफ्नै भाषाले मात्र दिन सक्छ । यसरी आफ्नो भाषाले विद्यार्थीको आलोचनात्मक चेत, तर्क क्षमता, विवेचनात्मक क्षमता विकास हुन्छ र त्यसले विद्यार्थीमा आत्मविश्वास भर्छ । तसर्थ, अंग्रेजी माध्यममा पढ्नु र अंग्रेजीलाई भाषाका रूपमा पढ्नुमा धेरै फरक छ । तीन वर्षको बच्चासँग अंग्रेजीमा ‘टक’ गर्ने विद्यालय कसरी राम्रो हुन सक्छ ?

विज्ञान र प्रविधि सिक्न र बाँकी विश्वसँग संवाद गर्नका लागि हामीलाई अंग्रेजी भाषा चाहिन्छ, तर भाषा भएर ज्ञान, नवीनता अनि आत्मविश्वास भएन भने भाषाले मात्र हामीलाई सफल बनाउन सक्दैन । अंग्रेजी भाषा पढ्नका लागि मात्र पढ्नुहोस् । इतिहास, सामाजिक शिक्षा, नैतिक शिक्षा पढ्नका लागि होइन । अझै गणित, विज्ञान, इतिहाससमेत अंग्रेजीमै पढाउनु त झन् घातक हुन्छ । आज संसारका धेरै देशमा अंग्रेजी पढाइन्छ, तर पढाउने माध्यमका रूपमा होइन, भाषा विषयका रूपमा । भाषा विषयकै रूपमा पढाउँदा पनि त्यहाँका विद्यार्थीले पठनपाठनको माध्यम नै अंग्रेजी बनाएर पढिरहेको देशभन्दा राम्रो गर्दै छन् । 

निष्कर्ष
अंग्रेजी पढ्न अंग्रेजी शब्द जानौँ, त्यसको अर्थ बुझौँ, व्याकरण सिकौँ, त्यसपछि वाक्य पढौँ र अनुच्छेद पढ्न सिकौँ । अनि, बोल्न सिकौँ । पहिला वाक्य पढ्ने, त्यसपछि व्याकरण पढ्ने, त्यसपछि शब्दको अर्थ खोज्ने नगरौँ । अहिले हामीले अंग्रेजी पनि उल्टो बाटोबाट पढ्दै छौँ । यसरी सुरुदेखि नै अंग्रेजी माध्यममा पढ्दा हाम्रो अंग्रेजी भाषाको जगसमेत कमजोर बन्दै गइरहेको छ । यसले त हाम्रो बुझ्ने क्षमतालाई नै असर गर्दै छ । यो भाषा सिक्ने सही तरिका होइन । हामीले अंग्रेजी मात्र होइन, अन्य भाषा पनि सिक्नुपर्छ, तर विद्यार्थीलाई विद्यार्थीले बुझ्ने भाषामा पढाउनुपर्छ ।

हुँदाहुँदा हामी स्कुलको नाम पनि अंग्रेजीमै राख्न तत्पर देखिएका छौँ : ‘ब्राइट फ्युचर’, ‘पेन्टागन’, ‘लिभरपुल’, ‘नासा’ आदि । झन् स्कुलको नाम नै अंग्रेजीकरण गरेर स्कुल गुणस्तरीय हुन्छ भनेर देखाउने सोचलाई त के नै भन्न सकिन्छ र ? हामीलाई अंग्रेजीको भूत यतिसम्म चढेको छ कि अब हामीले नेपाली विषय पनि अंग्रेजीमै पढाउन मात्र बाँकी छ । कतिपय ‘बोर्डिङ स्कुल’मा त त्यस्तो पनि हुँदो हो ।

छुटाउनुभयो की ?