मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ कार्तिक ६ बिहीबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ कार्तिक ६ बिहीबार o७:o४:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेयर लगानीकर्ताको ‘बायोमेट्रिक’ विवरण नराखिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ कार्तिक ६ बिहीबार o७:o४:oo

प्रणाली विकासमा निजी क्षेत्र प्रवेश गराउनबाट पनि पछि हट्यो बोर्ड

सेयर लगानीकर्ताको दशवटै औँलाको पहिचानसहितको बायोमेट्रिक विवरण नराखिने भएको छ । धितोपत्र बोर्डबाट बुधबार स्वीकृत भएको केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (केवाइसी) सेवासम्बन्धी कार्य सञ्चालन निर्देशिकामा यसअघि राखिएको विद्युतीय रूपमा व्यक्तिको बायोमेट्रिक (दशवटै औँलाको छाप) पहिचानसहितको विवरण राख्न सक्ने व्यवस्था हटेको हो ।

अब बायोमेट्रिकको विकल्पमा औँठा छापको छाया चित्र नै प्रयोग गरिने भएको हो । ‘यसमा धेरैजसो सरकारी निकायबाट प्रश्न उठेपछि बायोमेट्रिक पहिचान नराख्ने निर्णय भएको हो,’ धितोपत्र बोर्डका प्रवक्ता तथा कार्यकारी निर्देशक नीरज गिरीले भने, ‘सरकारले वितरण सुरु गरिसकेको बायोमेट्रिक विवरण हुने राष्ट्रिय परिचयपत्रसँग भविष्यमा आबद्ध गर्ने सुझाब आएको थियो ।’

बायोमेट्रिक विवरणसहित पहिचान राख्न लागिएको र यसका लागि प्रणालीको विकासमा समेत निजी क्षेत्रलाई सहभागी गराउन लागिएको समाचार नयाँ पत्रिकाले ७ भदौमा लेखेको थियो । सेयर लगानीकर्ता भने बायोमेट्रिकसहितको विवरण राख्न पनि तयार देखिएका थिए । 

सेयर बजारमा डिम्याट सेयर (विद्युतीय रूपमा रहेको) को कारोबार हुन थालेको भए पनि अझै सम्बन्धित व्यक्ति नभई अन्यले समेत यस्तो खाता खोल्ने र कारोबार गर्ने गरिरहेको अनुमान धितोपत्र बोर्डले गरेको छ । सेयर कारोबारीको बायोमेट्रिक पहिचान आवश्यक देखिए पनि यस्तो सूचनाको संवेदनशीलता सेयर बजारभन्दा अधिक छ । त्यसैले पनि यसलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरेर कार्यान्वयनमा ल्याउनुपर्ने सुझाब सरोकारवालाले दिएका थिए । 

निर्देशिकामा यसअघि प्रणाली विकासमा निजी क्षेत्रसँग साझेदारी गर्न सकिने व्यवस्था पनि हटाइएको छ । अब भने नेप्सेको सहायक कम्पनी सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले ग्राहक पहिचान प्रणालीको विकास गर्नुपर्ने भएको छ । यसरी विकास गरिएको प्रणालीको समेत सरकारको सूचना प्रविधि विभागबाट परीक्षण गरेर मात्रै प्रयोगमा ल्याउन सकिने भएको छ । नेप्से अर्धसरकारी स्वामित्वको कम्पनी हो भने सिडिएससी नेप्सेको पूर्ण लगानी भएको भगिनी संस्था हो । 

नेप्सेमा वैदेशिक रणनीतिक साझेदार भित्र्याइँदा यसरी संकलन गरिएको विवरणमा उनीहरूको पहुँच पुग्न सक्ने अवस्था हुन्थ्यो । अहिलेलाई भने यो टरेको छ । राष्ट्र बैंकले नेप्सेमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गर्ने प्रयास गरिरहेको छ । नेप्सेमा राष्ट्र बैंकको १४ प्रतिशत सेयर स्वामित्व छ । नेप्सेमा हाल सरकार र सरकारी निकाय र लगानीका संस्थाबाहेक निजी बैंक तथा ब्रोकरको गरी करिब ११ प्रतिशत लगानी छ ।