मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ५ बुधबार १४:५३:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

उद्योग वाणिज्य महासंघ चुनाव : उपाध्यक्ष ढकालले दिए वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ५ बुधबार १४:५३:००

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गराएका छन् । 

बुधबार महासंघको केन्द्रीय कार्यालय टेकुमा ढकालसहित उनको प्यानलका सबै उपाध्यक्षका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । 

ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसाेसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दर्ता गराएका छन् । 

महासंघको ५४औँ वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदै छ ।

गत चैतमा हुनुपर्ने महासंघको ५४औँ साधारणसभा तथा निर्वाचन कोभिड– १९ का कारण स्थगित भएको थियो । 

पछि फेरि अर्काेपटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड– १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन ।

गत वर्ष नै बाग्लुङ उद्योग वाणिज्य संघले ढकाललाई महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदावार प्रस्ताव गरेको थियो । 

त्यसपछि गत फागुनमा काठमाडौंमा औपचारिक कार्यक्रम गरी ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । 

महासंघको चुनावका लागि उम्मेदवारहरूले आज बुधबारदेखि मंसिर ४ गतेसम्म मनोनयनपत्र दाखिला गर्न सक्नेछन् । 

मनोनयन दाखिला इमेलबाटै गर्न सकिने र त्यसको सक्कल कागजात ४ मंसिरभित्र महासंघमा बुझाइसक्नुपर्ने व्यवस्था गरिएको छ ।