१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ कार्तिक ४ मंगलबार १९:४४:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कक्षा १२ को परीक्षा मंसिर दोस्रो साता, चार लाख ३१ हजारभन्दा बढी परीक्षार्थी 

कक्षा ११ को नतिजाको आधारमा कक्षा १२ मा ४० प्रतिशत मुल्याङक हुने, कुनै परीक्षार्थी कोभिड संक्रमित भएमा निको भएपछि परीक्षा लिइने

Read Time : > 2 मिनेट
२०७७ कार्तिक ४ मंगलबार १९:४४:००

स्थगित भएको कक्षा १२ को परीक्षा आगामी मंसिर दोस्रो साता हुने भएको छ । सरकारले परीक्षा सञ्चालनका लागि सहमति दिएपछि आगामी ९ वा १० मंसिर बाट सुरु गर्ने राष्ट्रिय परीक्षा बोर्डको भर्चुअल बैठकमा सहमति भएको हो । यसअघि गत वैशाखमा सञ्चालन हुने कार्यतालिका रहे पनि कोरोना भाइरसको जोखिम बढेपछि परीक्षा स्थगित भएको थियो ।  

विद्यालय तहको अन्तिम परीक्षा भएको र ठूलो संख्यामा विद्यार्थी सहभागी हुने भएकाले शिक्षा मन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा छुट्टै प्रस्ताव लगेको थियो । मन्त्रिपरिषदबाट स्वास्थ्य सुरक्षाको विधि अपनाएर परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिएपछि बोर्ड बैठकमा मंसिर दोस्रो साता परीक्षा सुरु गर्ने सहमति भएको हो । बोर्डले सुरु मिति तय गरी केही दिनमै परीक्षा तालिका सार्वजनिक गर्दै छ । 

होमसेन्टर कायम गरी परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए । विद्यार्थीले आफैँले पढेको विद्यालयमा पुगेर जाँच दिन सम्भव नभएमा अहिले विद्यार्थी रहेको जिल्लाको नजिकको विद्यालयमा परीक्षा लिने व्यवस्था हुने उनले बताए । ‘हामीले विद्यार्थी कहाँ छन् भन्ने पहिचान गरेका छौँ, पढेको विद्यालय रहेको जिल्लाभन्दा बाहिर रहेका र विद्यालय पुग्न नसक्नेका लागि त्यही ठाउँमा पनि परीक्षा लिने व्यवस्था गर्छौँ,’ अध्यक्ष पौडेलले भने, ‘अहिले पनि अधिकांश विद्यार्थी आफूले पढेको जिल्लामै रहेको पाइएको छ, काठमाडौं उपत्यकाभित्रका जिल्लामा विद्यार्थी आफैँले पढेको विद्यालयमा परीक्षा दिन जानुपर्छ ।’ बोर्डले परीक्षा दिनका लागि प्रवेशपत्र अनिवार्य गरेको छ । 

कोरोना भाइरसका कारण स्थगित भएका एसइईको आन्तरिक मूल्याङकन भएर नतिजासमेत आइसकेको छ । त्यसैगरी कक्षा ११ को परीक्षासमेत विद्यालयले आन्तरिक परीक्षा लिएर ग्रेटसिट दिने निर्णय भइसकेको छ । विद्यालय तहको अन्तिम परीक्षा भएकाले विश्वशनीय बनाउन मूल्यांकनका विभिन्न आधार तयार गरी परीक्षा लिने सहमति भएको हो । कोभिड– १९ का कारण असामान्य परिस्थिति भएपछि यसअघि तय भएको परीक्षा स्थगित भएको थियो । कक्षा १२ मा चार लाख ३१ हजारभन्दा बढी परीक्षार्थी छन् । 

कोरोना संक्रमणको जोखिम लामो समय रहने देखिएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा सम्पन्न गर्न विकल्पसहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो । राष्ट्रिय परीक्षा बोर्डले चरणबद्ध रूपमा परीक्षा सञ्चालन गर्ने, ओपन बुक प्रणाली, त्यसमा पनि कक्षा ११ को नतिजालाई केही आधार मान्ने गरी परीक्षा लिने, अनलाइन प्रणालीबाट परीक्षा लिनेलगायतका विकल्पसहितको प्रतिवेदन बुझाएको थियो । 

४० प्रतिशत मूल्यांकन गर्न परीक्षा लिइने 
बोर्डले ४० प्रतिशत मूल्यांकनका लागि परीक्षा लिने भएको हो । ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाको आधार लिइने र २० प्रतिशत प्रयोगात्मक परीक्षा वा आन्तरिक मूल्यांकन हुने गरी कार्यविधि तयार भएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए । यसरी लिइने परीक्षाको समय डेढ घन्टाको हुनेछ । विद्यार्थीको समग्र ज्ञानलाई समेट्ने गरी प्रश्नपत्र तयार गर्दै छ । सकेसम्म सबै पाठ्यक्रमलाई समेट्ने प्रयास हुने पौडेलले बताए । 

संक्रमित विद्यार्थीको परीक्षा निको भएपछि लिइने
कक्षा १२ को परीक्षा दिने विद्यार्थी कोरोना संक्रमित भएको वा आइसोलेसनमा बसेको अवस्थामा निको भएपछि परीक्षा लिने व्यवस्था गरेको छ । अध्यक्ष पौडेलका अनुसार कोभिड– १९ पोजेटिभ भएको रिपोर्ट आफैँले पढेको विद्यालयमा पेस गरेपछि कोभिड भएको कम्तीमा १५ दिनपछि परीक्षा लिने व्यवस्थापन हुने बताए । उनले भने, ‘कुनै परीक्षार्थीलाई कोभिड भएको छ र जाँच दिन पाइएन भन्ने विद्यार्थी र अभिभावकले चिन्ता गर्नुपर्दैन, पोजेटिभ भएको रिपोर्ट विद्यालयमा पेस गरेपछि अर्को परीक्षाको व्यवस्था हुन्छ ।’

परीक्षा हलमा विद्यार्थीबीचको दूरी कम्तीमा दुई मिटर फरक गर्नुपर्ने व्यवस्था गरेको छ । परीक्षा दिन आउँदा कसैलाई रुघा वा ज्वरो आएमा छुट्टै बसेर जाँच दिने व्यवस्था हुने उनले बताए । जति ठूलो हल भए पनि एउटा हलमा २० भन्दा बढी विद्यार्थी राख्न पाइँदैन । परीक्षा केन्द्रमा मास्कलगायतका स्वस्थ रहने उपाय अवलम्बन गर्नुपर्नेछ ।