Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ४ मंगलबार ०६:४५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्सेमा दोहोरो अंकको वृद्धि, लगानीकर्ता अझै ‘पर्ख र हेर’को रणनीतिमा

अघिल्लो दिनको सुरु र उच्च बिन्दुभन्दा माथि पुगेर सोमबार बजार बन्द भएकाले लगानीकर्ता बुलिस मुडमा रहेकोे संकेत गर्छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ४ मंगलबार ०६:४५:००

नेप्से परिसूचक सोमबार दोहोरो अंकले वृद्धि भएको छ । करिब ९ दिनअघि १ हजार ६ सयको बिन्दुबाट घटेर १ हजार ५ सय ५६ सम्म आएको नेप्से टेवा परीक्षण गरिरहेको छ । नेप्सेले यही बिन्दुआसपास टेवा पाउने सम्भावना थियो । 

विभिन्न प्राविधिक विश्लेषणले भने नेप्सेको दिशा अझै स्पष्ट भइनसकेको संकेत गरेको छ । नेप्सेको ७ दिने मुभिङ एभरेज रेखाले २१ दिने रेखालाई काटेको छ । क्रस ओभरको संकेत यसले गरिरहेको छ । ७ दिने रेखाभन्दा २१ दिने रेखा थप माथि लागेमा बजार घट्ने मान्यता राखिन्छ । करिब १ वर्षअगाडि यी रेखा सँगसँगै एकसाथ जोडिएरसमेत अगाडि बढेको देखिएको थियो । त्यसैले लगानीकर्ताले केही दिन पर्ख र हेरको रणनीति अपनाएको देखिएको छ ।  

नेप्सेको मैनबत्ती चित्रले भने सोमबार सेतो मैनबत्ती बनाएको छ । यसले स्पष्ट प्रवृत्ति देखाएको छैन । यद्यपि, यो मैनबत्तीले माथिल्लो धागो नबनाई एकोहोरो बढेको छ । अघिल्लो दिनको सुरु र उच्च बिन्दुभन्दा माथि पुगेर सोमबार बजार बन्द भएको छ । यसले लगानीकर्ता बुलिस मुडमा रहेको संकेत गर्छ । 

सोमबार कारोबार रकम भने १ अर्बभन्दा तल ओर्लिएको छ । यस दिन ३३ लाख कित्ता सेयरको ९७ करोड ९० लाख रुपैयाँमा कारोबार भएको हो । दसैं लागिसकेकाले लगानीकर्तामा यो सिजनमा धेरै लगानी गर्ने प्रवृत्ति देखिँदैन । धेरैजसो निजी व्यवसाय, कार्यालयहरूले यो वर्ष दसैँ भत्ता दिने सम्भावना पनि कम देखिएकाले पनि लगानी बढ्ने सम्भावना कम छ । यद्यपि, अधिकांश सूचीकृत संस्थाले लाभांश घोषणा गर्न र साधारणसभाबाट अनुमोदन गर्न बाँकी रहेकाले मूल्यमा ठूलो गिरावट भने आउने सम्भावना कम छ ।

यसै दिन सिटिजन्स बैंकको सञ्चालक समितिले ११ प्रतिशत लाभांशको घोषणा गरेको छ । बैंकले ७ दशमलव ७० प्रतिशत बोनस सेयर र ३ दशमलव ३० प्रतिशत नगद लाभांश दिने भएको हो । बैंकको मूल्य ३ दशमलव २९ प्रतिशतले बढेर २ सय २० रुपैयाँ पुगेको छ । 

सोमबार बजारमा १ सय ८९ धितोपत्र र ऋणपत्रको किनबेच भएकोमा १ सय ४० कम्पनीको सेयर बढेको र १० वटाको मूल्य घटेको छ । बजार बढ्दा जलविद्युत् कम्पनीमै लगानीकर्ताले लगानी बढाएका छन् । यो समूहको परिसूचक यस दिन सबैभन्दा धेरै ३ दशमलव ३१ प्रतिशत अर्थात् ४३ अंकले वृद्धि भयो । कारोबारमा आएका सबै समूह बढे पनि व्यापारमूलक समूहगत परिसूचक भने घटेको छ ।