मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस/एपी
२०७७ कार्तिक ३ सोमबार १६:०४:००
Read Time : < 1 मिनेट
अर्थ

चीनको अर्थतन्त्रमा तीव्र सुधार, कोरोना नियन्त्रणमा उल्लेखनीय सफलता

Read Time : < 1 मिनेट
रासस/एपी
२०७७ कार्तिक ३ सोमबार १६:०४:००

विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोना महामारी नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त गरेसँगै अर्थतन्त्रमा समेत तीव्र सुधार आएको छ । केही समययता चीनमा उपभोक्ताहरूले सपिङ मलमा सामान खरिद र महँगा सवारीसाधनसमेत किन्न थालेका छन् । 

तर, विश्व अर्थतन्त्रको धुरीका रूपमा रहेको संयुक्त राज्य अमेरिका र युरोपेली मुलुकहरू अझै पनि पीडादायी संकुचनबाट गुज्रिरहेका छन् । सोमबार सार्वजनिक सरकारी विवरणमा गत सेप्टेम्बरमा समाप्त भएको यस वर्षका पछिल्ला तीन महिनामा चीनको अर्थतन्त्र ४.९ प्रतिशतले विस्तार भएको उल्लेख छ । खुद्रा उपभोग्य सामानको बिक्री बढेको छ भने काराखानाको उत्पादनमा वृद्धि भएको छ । मास्क र अरू मेडिकल सामग्रीको निर्यात बढेका कारण चीनमा रोजगारी र उत्पादन दुवैमा सुधार आएको छ । 

क्यापिटल इकाेनमिक्सका जुलियन इभान्स–प्रिचर्डले एक रिपोर्टमा बताएअनुसार चिनियाँ अर्थतन्त्रको पुनरुत्थान जारी रहेको र सरकारी अनुदानको निर्भरता कम भएको छ । अर्थतन्त्रको वृद्धि अहिले पनि निरन्तर भइरहेको उनले बताएका छन् । 

चीनमा गत डिसेम्बरमा कोरोना महामारी सुरु भए पनि सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीले गत मार्चमा यस रोगको नियन्त्रण भइसकेको घोषणा गरेको थियो । घोषणासँगै विश्वकै ठूलो अर्थतन्त्र भएको मुलुक चीनले कारखाना, पसल र कार्यालय खोल्ने पहिलो मुलुक बन्यो ।

विश्वका प्रमुख अर्थतन्त्र भएका मुलुकमध्ये चीनको मात्र आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । यस वर्ष संयुक्त राज्य अमेरिका, युरोप र जापानको आर्थिक क्रियाकलाप संकुचित हुँदै छन् । 

अन्तर्राष्ट्रिय मुद्रा कोषले भने यस वर्ष चीनको आर्थिक वृद्धि १.८ प्रतिशत हुने भविष्यवाणी गरिरहेको छ जब कि अमेरिकी अर्थव्यवस्था ४.३ प्रतिशतले संकुचित हुने अनुमान गरेको छ । कोषले फ्रान्सको ९.८ प्रतिशत, जर्मनीको ६ र जापानको ५.३ प्रतिशतले अर्थतन्त्र संकुचित हुने पूर्वानुमान गरेको छ ।