साढे १६ हजार नमुना परीक्षण गर्दा ४३९२ मा कोरोना, २१ जनाको मृत्यु

शनिबार, ३० असोज, २०७७
डिजिटल संस्करण

कोरोनाबाट मृत्यु हुनेको संख्या सात सय १५ पुग्याे

कोरोना भाइरसको संक्रमण बढेसँग मृत्यु हुनेको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा चार हजार तीन सय ९२ जनामा कोरोना देखिएको छ भने २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २१ जनाको संक्रमितको ज्यान गएको पुष्टि भएको छ ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या सात सय १५ पुगेको छ । पछिल्लो २४ घन्टामा ज्यान गुमाउनेहरूमध्ये भक्तपुरमा पाँच, काठमाडौंमा तीन, ललितपुरमा दुई, गोरखा, सुनसरी, धादिङ, बारा, सिराहा, मुस्ताङ, रामेछाप, रूपन्देही, मकवानपुर, रुकुम पश्चिम र सुनसरीमा एक–एकजना रहेका छन् । 

त्यस्तै, पछिल्लो २४ घन्टामा १६ हजार पाँच सय ३१ वटा नमुना परीक्षण गर्दा चार हजार तीन सय ९२ जनामा संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या एक लाख २६ हजार एक सय ३७ पुगेको छ । यसबीचमा तीन हजार पाँच सय २२ जना निको भएका छन् । निको हुनेको संख्या पनि ८८ हजार ४० पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार तीन सय ८२ रहेको छ । उनीहरूमध्ये २५ हजार ४६ जना होम आइसोलेसनमै बसेका छन् । स्वास्थ्यकर्मीको निगरानी रहेको संस्थागत आइसोलेसनमा १२ हजार तीन सय ३६ जना मात्रै छन् । 

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा पनि २४ सय दुईजनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये काठमाडौंमा एक हजार सात सय ८४, ललितपुरमा तीन सय ७४ र भक्तपुरमा दुई सय ४४ रहेका छन् ।

त्यस्तै, काठमाडौंमा सक्रिय संक्रमितको संख्या १६ हजार पाँच सय ६ पुगेको छ । ललितपुरमा सक्रिय संक्रमितको संख्या दुई हजार ६ सय ६१ र भक्तपुरमा एक हजार पाँच सय २२ पुगेको छ । अहिलेसम्म काठमाडौंमा एक सय ५४, ललितपुरमा ४५ र भक्तपुरमा ३८ जनाको मृत्यु भएको छ । 

स्वास्थ्यकर्मीले संक्रमण पुष्टि नहुँदासम्म काम गर्नुपर्ने

अस्पताल खाली भएर सेवा बन्द हुने अवस्था आएपछि स्वास्थ्यकर्मीले कोरोना पुष्टि नहुँदासम्म काम गर्नुपर्ने भएको छ । यसअघिको सात दिन काम र सात दिन क्वारेन्टिन बस्ने व्यवस्था स्वास्थ्य मन्त्रालयले खारेज गरेको छ । 

अहिलेसम्म देशभर चार हजारभन्दा बढी स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार संक्रमित कर्मचारी अपवादबाहेक काममा फर्केका छैनन् । त्यस्तै, अस्पतालहरूले स्वास्थ्यकर्मीलाई सात दिन काममा लगाएर सात दिन क्वारेन्टिनमा राख्दै आएको थियो । यसले गर्दा स्वास्थ्यकर्मी अभाव हुन थालेपछि क्वारेन्टिनमा राख्ने व्यवस्था खारेज गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको २९ असोजको सचिवस्तरीय बैठकले कोभिड– १९ का बिरामीको उपचारमा प्रत्यक्ष रूपमा संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको व्यवस्थापनसम्बन्धी मार्गनिर्देशन, २०७७ परिमार्जन गर्दै यस्तो निर्णय गरेको हो । अब स्वास्थ्यकर्मी पजिटिभ वा लक्षण देखिएको अवस्थामा मात्रै आइसोलेसनमा राख्न सबै अस्पताललाई निर्देशन दिएको छ । 

लक्षण नभएका संक्रमितबाट पनि कोरोना सरेको छ : स्वास्थ्य मन्त्रालय

यसैबीच स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले लक्षणविहीन संक्रमितको हेलचेक्र्याइँले अरू धेरैजना कोरोना संक्रमित हुन पुगेको बताएका छन् । डा. गौतमले पछिल्लो समय संक्रमित व्यक्तिमा लक्षण नदेखिने, तर अरूलाई सारिरहेको पाइएको बताए ।

‘कोरोना परीक्षण गराउँदा पजिटिभ भएको छ । उनीहरूमा कुनै पनि लक्षण नदेखिएका कारण घरबाहिर हिँडिरहेका छन्,’ प्रवक्ता डा. गौतमले भने, ‘संक्रमित व्यक्तिलाई कुनै लक्षण नदेखिए पनि उसले अरूलाई सारिरहेको पाइएको छ ।’

सरकारले लक्षण भएका व्यक्तिको मात्रै कोरोना परीक्षण गर्न कोभिड प्रयोगशालालाई निर्देशन दिएपछि पहुँचविहीनले परीक्षण गर्न सकेका छैनन् । तर, दुई हजार रुपैयाँ तिरेको खण्डमा भने सरकारले आफूखुसी परीक्षण गर्न सकिने व्यवस्था गरेको छ ।

कैयौँ मजदुरको रोजगारी गुमेका कारण उनीहरू अहिले सरकारले तोकेको शुल्क तिरेर कोरोना परीक्षण गराउन सक्ने अवस्थामा छैनन् । परीक्षण गर्न नसक्दा कोरोना संक्रमण भए पनि काममा गइरहेका छन् । जसबाट अन्य धेरै संक्रमित भएको मन्त्रालयको भनाइ छ । 

कोभिड चिकित्सक डा. अनुप बाँस्तोलाले लक्षण नदेखिएको व्यक्तिबाट स्वस्थ मानिसमा सर्ने सम्भावना पनि लक्षणसहितको जति नै हुने बताए । यस्तो अवस्थामा नेगेटिभ रिपोर्ट नआउँदासम्म घरबाहिर ननिस्कन र दूरी कायम गर्न अनुरोध गरे ।
 

See More On

सुझावित समाचार