१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ कार्तिक १ शनिबार ०४:५६:००
Read Time : > 2 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

साढे १६ हजार नमुना परीक्षण गर्दा ४३९२ मा कोरोना, २१ जनाको मृत्यु

Read Time : > 2 मिनेट
२०७७ कार्तिक १ शनिबार ०४:५६:००

कोरोनाबाट मृत्यु हुनेको संख्या सात सय १५ पुग्याे

कोरोना भाइरसको संक्रमण बढेसँग मृत्यु हुनेको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा चार हजार तीन सय ९२ जनामा कोरोना देखिएको छ भने २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २१ जनाको संक्रमितको ज्यान गएको पुष्टि भएको छ ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या सात सय १५ पुगेको छ । पछिल्लो २४ घन्टामा ज्यान गुमाउनेहरूमध्ये भक्तपुरमा पाँच, काठमाडौंमा तीन, ललितपुरमा दुई, गोरखा, सुनसरी, धादिङ, बारा, सिराहा, मुस्ताङ, रामेछाप, रूपन्देही, मकवानपुर, रुकुम पश्चिम र सुनसरीमा एक–एकजना रहेका छन् । 

त्यस्तै, पछिल्लो २४ घन्टामा १६ हजार पाँच सय ३१ वटा नमुना परीक्षण गर्दा चार हजार तीन सय ९२ जनामा संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या एक लाख २६ हजार एक सय ३७ पुगेको छ । यसबीचमा तीन हजार पाँच सय २२ जना निको भएका छन् । निको हुनेको संख्या पनि ८८ हजार ४० पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार तीन सय ८२ रहेको छ । उनीहरूमध्ये २५ हजार ४६ जना होम आइसोलेसनमै बसेका छन् । स्वास्थ्यकर्मीको निगरानी रहेको संस्थागत आइसोलेसनमा १२ हजार तीन सय ३६ जना मात्रै छन् । 

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा पनि २४ सय दुईजनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये काठमाडौंमा एक हजार सात सय ८४, ललितपुरमा तीन सय ७४ र भक्तपुरमा दुई सय ४४ रहेका छन् ।

त्यस्तै, काठमाडौंमा सक्रिय संक्रमितको संख्या १६ हजार पाँच सय ६ पुगेको छ । ललितपुरमा सक्रिय संक्रमितको संख्या दुई हजार ६ सय ६१ र भक्तपुरमा एक हजार पाँच सय २२ पुगेको छ । अहिलेसम्म काठमाडौंमा एक सय ५४, ललितपुरमा ४५ र भक्तपुरमा ३८ जनाको मृत्यु भएको छ । 

स्वास्थ्यकर्मीले संक्रमण पुष्टि नहुँदासम्म काम गर्नुपर्ने

अस्पताल खाली भएर सेवा बन्द हुने अवस्था आएपछि स्वास्थ्यकर्मीले कोरोना पुष्टि नहुँदासम्म काम गर्नुपर्ने भएको छ । यसअघिको सात दिन काम र सात दिन क्वारेन्टिन बस्ने व्यवस्था स्वास्थ्य मन्त्रालयले खारेज गरेको छ । 

अहिलेसम्म देशभर चार हजारभन्दा बढी स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार संक्रमित कर्मचारी अपवादबाहेक काममा फर्केका छैनन् । त्यस्तै, अस्पतालहरूले स्वास्थ्यकर्मीलाई सात दिन काममा लगाएर सात दिन क्वारेन्टिनमा राख्दै आएको थियो । यसले गर्दा स्वास्थ्यकर्मी अभाव हुन थालेपछि क्वारेन्टिनमा राख्ने व्यवस्था खारेज गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको २९ असोजको सचिवस्तरीय बैठकले कोभिड– १९ का बिरामीको उपचारमा प्रत्यक्ष रूपमा संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको व्यवस्थापनसम्बन्धी मार्गनिर्देशन, २०७७ परिमार्जन गर्दै यस्तो निर्णय गरेको हो । अब स्वास्थ्यकर्मी पजिटिभ वा लक्षण देखिएको अवस्थामा मात्रै आइसोलेसनमा राख्न सबै अस्पताललाई निर्देशन दिएको छ । 

लक्षण नभएका संक्रमितबाट पनि कोरोना सरेको छ : स्वास्थ्य मन्त्रालय

यसैबीच स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले लक्षणविहीन संक्रमितको हेलचेक्र्याइँले अरू धेरैजना कोरोना संक्रमित हुन पुगेको बताएका छन् । डा. गौतमले पछिल्लो समय संक्रमित व्यक्तिमा लक्षण नदेखिने, तर अरूलाई सारिरहेको पाइएको बताए ।

‘कोरोना परीक्षण गराउँदा पजिटिभ भएको छ । उनीहरूमा कुनै पनि लक्षण नदेखिएका कारण घरबाहिर हिँडिरहेका छन्,’ प्रवक्ता डा. गौतमले भने, ‘संक्रमित व्यक्तिलाई कुनै लक्षण नदेखिए पनि उसले अरूलाई सारिरहेको पाइएको छ ।’

सरकारले लक्षण भएका व्यक्तिको मात्रै कोरोना परीक्षण गर्न कोभिड प्रयोगशालालाई निर्देशन दिएपछि पहुँचविहीनले परीक्षण गर्न सकेका छैनन् । तर, दुई हजार रुपैयाँ तिरेको खण्डमा भने सरकारले आफूखुसी परीक्षण गर्न सकिने व्यवस्था गरेको छ ।

कैयौँ मजदुरको रोजगारी गुमेका कारण उनीहरू अहिले सरकारले तोकेको शुल्क तिरेर कोरोना परीक्षण गराउन सक्ने अवस्थामा छैनन् । परीक्षण गर्न नसक्दा कोरोना संक्रमण भए पनि काममा गइरहेका छन् । जसबाट अन्य धेरै संक्रमित भएको मन्त्रालयको भनाइ छ । 

कोभिड चिकित्सक डा. अनुप बाँस्तोलाले लक्षण नदेखिएको व्यक्तिबाट स्वस्थ मानिसमा सर्ने सम्भावना पनि लक्षणसहितको जति नै हुने बताए । यस्तो अवस्थामा नेगेटिभ रिपोर्ट नआउँदासम्म घरबाहिर ननिस्कन र दूरी कायम गर्न अनुरोध गरे ।