१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
बैतडी रासस
२०७७ असोज २९ बिहीबार ०८:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

केन्द्रबारे विवाद हुँदा गाउँपालिका अध्यक्षमाथि कुटपिट, पाँच प्रहरीसहित १४ घाइते

Read Time : < 1 मिनेट
बैतडी रासस
२०७७ असोज २९ बिहीबार ०८:१४:००

बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टमाथि कुटपिट भएको छ । आन्दोलनरत पक्षले लगाएको ताला खोल्न जाँदा गाउँपालिका अध्यक्ष विष्टमाथि ढुंगा प्रहार भएको र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।     

सुर्नया गाउँपालिकाको केन्द्र पबितामा सार्न खोजेको भन्दै स्थानीयले केही दिनअघि तालाबन्दी गरेका थिए । केन्द्रका विषयमा बुधबार दिनभरि छलफल हुँदासमेत निष्कर्षमा नपुगेपछि बेलुका ताला खोल्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ ।     

यस्तै, झडपमा परेर पाँचजना प्रहरी पनि घाइते भएका छन् भने आन्दोलनरत पक्षका ६ जना घाइते भएका छन् । अध्यक्ष विष्टसँग रहेका अन्य तीनजनासमेत घाइते भएका सुर्नया पुगेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।     

सुर्नया गाउँपालिकाको केन्द्र पबिता राख्ने गाउँकार्यपालिकाले गत वर्ष नै निर्णय गरेको थियो, तर स्थानीयले भने सर्वोच्चमा विचाराधीन मुद्दा भएकाले केन्द्रका विषयमा कुनै काम गर्न नपाइने भन्दै गाउँपालिकामा तालाबन्दी गरेका थिए ।     

गाउँपालिका अध्यक्षमाथि नै कुटपिट भएपछि प्रहरी निरीक्षक धनदेव साउदको नेतृत्वमा घटनास्थलमा प्रहरी पुगेको छ भने सशस्त्र प्रहरीको टोलीसमेत सुर्नयाका लागि खटाइएको छ । 

सम्भावित थप जोखिम कम गर्नका लागि सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । गाउँपालिकामा तालाबन्दीकै कारण बुधबार हुने भनिएको गाउँसभासमेत हुन सकेन ।