मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७७ असोज २७ मंगलबार १४:३९:००
Read Time : > 2 मिनेट
फिचर

हवाई क्षेत्रमा कोरोना कहर : उडान नभएपछि सिंगापुर एयरलाइन्सले प्लेनमै खाना बेच्न थाल्यो 

Read Time : > 2 मिनेट
एजेन्सी
२०७७ असोज २७ मंगलबार १४:३९:००

कोरोना भाइरस (कोभिड– १९) महामारीका कारण लामो समयदेखि उडान सेवा बन्द हुँदा व्यहोर्नुपरेको घाटा उठाउन सिंगापुर एयरलाइन्सले प्लेनमै खाना बेच्न सुरु गरेको छ । कम्पनीले यसबाट थोरै भए पनि कोरोना भाइरस महामारीबाट सिर्जित संकटको सामना गर्न सहज हुने अपेक्षा गरेको छ ।

सिंगापुर एयरलाइन्सले सहरको मुख्य एयरपोर्टमा ‘पार्क’ गरिराखेको आफ्नो एयरबस ए ३८० मा ग्राहकलाई आएर बिहान–बेलुकाको खाना खाने अवसर दिएको छ । त्यसका लागि प्रतिव्यक्ति चार सय ९६ डलरसम्मको मूल्य तोकिएको छ । 

महँगो मूल्य तोकिए पनि पहिलो दिनको पहिलो दुई चरणको टिकट आधा घन्टामै बिक्री भएको एयरलाइन्सले जनाएको छ । एयरलाइन्सले त्यसपछि त्यस्ता अरू दुई चरणको टिकट पनि बिक्री गरेको थियो । प्लेनमा गएर खाना खान चाहने ग्राहक ‘बुकिङ’ गरेर आफ्नो पालो कुरिरहेका थिए ।

सिंगापुर एयरलाइन्स अरू धेरैमध्येको एयरलाइन्स कम्पनी हो, जो कोरोना भाइरस संक्रमण फैलिएपछि उडान बन्द हँुदा व्यहोर्नुपरेको घाटाको परिपूर्ति गर्न नयाँ खालको व्यापारको बाटो खोजिरहेको छ । सिंगापुरले तत्काललाई यो उद्देश्यका लागि आफ्नो दुई एयरबस ए ३८० प्रयोग गर्ने योजना बनाएको छ । जसमा तीन–तीन घन्टाको सेसन सञ्चालन हुनेछ ।
कोरोना भाइरस संक्रमण नफैलियोस् भन्ने उद्देश्यले प्रत्येक एयरबसको क्षमताभन्दा आधा मात्रै हुने गरी ग्राहकलाई प्रवेश दिइनेछ । उनीहरू सामाजिक दूरी कायम गरी बस्नेछन् । आफू बस्ने क्याबिन ग्राहक आफैँले रोज्नेछन् । जसमध्ये इकोनोमी क्लासको सिटको मूल्य ३९ डलर तोकिएको छ ।

खाना खाँदै फिल्म हेर्ने सुविधा
ग्राहकले खाना खाँदै गर्दा फिल्म पनि हेर्न पाउनेछन् । यद्यपि, प्लेन उड्ने छैन । उनीहरू त्यहीँ बसेर खाना खानेछन् र समय सकिएपछि निस्कनेछन् । एयरलाइन्सले ‘होम डेलिभरी’को सुविधा पनि दिने भएको छ, जसमा उडानको समय उपलब्ध गराइने सबै कुराहरू दिइनेछ ।

सुरुवातमा एयरलाइन्सले खाना खाने सेवासँगै उडानको पनि सेवा दिने योजना बनाएको थियो । खाना खाने अवधिभर आकाशमा उडान भर्ने योजना एयरलाइन्सले बनाएको थियो । यद्यपि, एयरलाइन्सले पछि यो योजना कार्यान्वयन गरेन ।

यो संकटमा फरक खालको सेवा सुरु गर्ने सिंगापुर एयरलाइन्स पहिलो र एक्लो एयरलाइन्स होइन । ताइवानको इभा र अस्ट्रेलियाको क्वान्तासले पनि ‘साइट सिइङ’को सेवा सुरु गरेका छन् । उनीहरूले ग्राहकलाई एकै एयरपोर्टबाट विभिन्न क्षेत्रको ‘साइट सिइङ’ गराएर फर्काउने गरेका छन् ।

सिंगापुर एयरलाइन्स कोरोना भाइरसले सबैभन्दा बढी संकटमा परेको कम्पनी हो । एयरलाइन्सले गत महिना मात्रै खर्चले धान्न नसक्ने भएपछि ठूलो संख्यामा आफ्ना कर्मचारीको कटौती गर्ने जनाएको थियो । कम्पनीले आफ्नो कम्पनीको चार हजार तीन सय वा २० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो ।

कतिपय ठाउँमा लकडाउन कुखुलो हुन थालेपछि एयरलाइन्सहरूले आन्तरिक उडानको सेवा दिने योजना बनाएका छन् । तर, यो सुविधा सबै एयर लाइन्सहरूलाई हुँदैन । यसले गर्दा पनि धेरै एयरलाइन्स समस्यामा देखिएका छन् । अन्तर्राष्ट्रिय उडान सुरु नभएसम्म उनीहरूको व्यापार ठप्प बन्नेछ ।

अस्ट्रेलियामा पनि अवस्था यस्तै छ । अस्ट्रेलियाका धेरै प्लेन ग्यारेजमा थन्किएका छन् । उनीहरू हवाई क्षेत्र खुल्ने समयको पर्खाइमा बसेका छन् । यही अवस्थाले हवाई क्षेत्र धराशायी बन्ने र धेरैको जागिर धरापमा पर्ने अवस्था देखिएको छ । अन्तर्राष्ट्रिय हवाई ढुवानी संघ (आएटा) ले कोरोना भाइरस महामारीका कारण सयौँ हजारको जागिर संकटमा रहेको जनाएको छ ।
विश्वभरका दुई सय ९० एयरलाइन्सको नेतृत्व गर्ने संस्था आएटाले यो वर्ष यो क्षेत्र पूर्ण रूपमा नखुल्ने जनाएको छ । आएटाको अनुसार यो वर्ष हवाई चाप सन् २०१९ को भन्दा ६६ प्रतिशतले कम हुने जनाएको छ ।