एकपटक गौतम बुद्ध आफ्ना शिष्यसँग पहाडी क्षेत्रमा बसेका थिए । साँझको समय उनी एकजना शिष्यलाई लिएर छेउछाउको दृश्यावलोकनका लागि निस्किए । दुवै प्रकृतिको सुन्दर दृश्यको आनन्द लिइरहेका थिए । विशाल तथा बलियो चट्टान देखेर शिष्यको मनमा उत्सुकता उत्पन्न भयो । उनले सोधे– ‘यो चट्टानमाथि कसैको शासन चल्दैन । किनकि यो अटल, अविचलित र कठोर छ ।’
शिष्यको कुरा सुनेर बुद्धले भने, ‘होइन, यो शक्तिशाली चट्टानमाथि पनि अरूको शासन चल्छ । फलामको प्रहारबाट यो टुक्रा–टुक्रा हुन्छ ।’ त्यसपछि शिष्यले भने, ‘त्यसो भए फलाम सबैभन्दा शक्तिशाली भयो ।’ बुद्ध मुस्कुराए र भन्न थाले, ‘होइन, आगोले आफ्नो तापमार्फत फलामको रूप बदल्न सक्छ ।’ उनलाई ध्यानपूर्वक सुनिरहेका शिष्यले सोधे, ‘त्यसको मतलब, आगो सबैभन्दा बढी शक्तिशाली रहेछ ।’
बुद्धले भने, ‘होइन, आगोको उष्णतालाई जलको शीतलताले शान्त बनाइदिन्छ ।’ शिष्यले पुनः प्रश्न गरे, ‘आखिरमा जलमाथि कसको शासन हुन्छ रु’ बुद्धले जवाफ दिए, ‘वायुको वेगले जलको दिशा पनि बदलिदिन सक्छ ।’ शिष्यले केही सोध्नुअघि नै बुद्धले भने, ‘अब वायु सबैभन्दा शक्तिशाली भनौला । यो पनि होइन । वायुभन्दा शक्तिशाली मानिसको संकल्पशक्ति हुन्छ, किनकि यसबाट नै पृथ्वी, जल, वायु र आगोलाई नियन्त्रण गर्न सकिन्छ । आफ्नो संकल्पशक्तिले नै आफूभित्र व्याप्त कठोरता, उष्णता र शीतलताको आगमनलाई नियन्त्रण गर्न सकिन्छ । यसैले संकल्पशक्ति नै सबैभन्दा शक्तिशाली हुन्छ ।’