मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७७ असोज २६ सोमबार १७:०१:००
Read Time : > 2 मिनेट
फिचर

कोरोनाले बढायो गरिबी : ब्राजिलमा एक करोड ५० लाख मानिस गरिबीको रेखामुनि पुग्ने चेतावनी

Read Time : > 2 मिनेट
एजेन्सी
२०७७ असोज २६ सोमबार १७:०१:००

कोरोना भाइरस (कोभिड– १९) संक्रमण फैलँदै जाँदा ब्राजिलमा गरिबीको रेखामुनि पुग्नेको दर पनि बढिरहेको छ । ब्राजिल सरकारले कोरोना भाइरस महामारी फैलिएपछि सुरु गरेको आपतकालीन भत्ता अगस्टबाट आधा घटाएपछि गरिबीतर्फ धकेलिनेको दर बढेको हो ।

सरकारले घोषणा गरेको आपतकालीन भत्ता आगामी डिसेम्बरबाट सकिँदै छ । डिसेम्बरपछि यो कार्यक्रमले निरन्तरता नपाउने हो भने ब्राजिलमा एक करोड ५० लाख मानिस फेरि गरिब बन्ने अध्ययनले देखाएको छ । कोरोना महामारी सुरु भएपछि ब्राजिलले ६ करोड ७० लाख नागरिकलाई आपतकालीन भत्ता उपलब्ध गराउँदै आएको छ । यसले संकटमा परेका व्यक्तिलाई जीवन धान्न सहज बनेको छ ।

यही कारण ब्राजिलमा गरिबीको संख्यासमेत यो अवधिमा अहिलेसम्मकै कम बिन्दुमा झरेको छ । ब्राजिलियन विज्ञ फन्डाकाओ गेतुलियो भर्गासका अनुसार यो अवधिमा ब्राजिलमा गरिबीको संख्या ५० मिलियनमा झरेको छ । ब्राजिल सरकार आफ्नो यो योजना कायमै राख्न चाहन्छ । यद्यपि, ठूलो रकमका आवश्यक पर्ने भएकाले कार्यक्रम अघि बढ्ने सम्भावना न्यून छ । राष्ट्रपति जइर बोल्सोनारो कार्यक्रम थप्नेबारे लगेको प्रस्ताव संसद्मै रोकिएको छ । उनले लगेको प्रस्तावमा संसद्ले निर्णय गर्न सकेको छैन । विपक्षीहरूले रकम धेरै भएकाले धान्न नसकिने जनाएका छन् । राष्ट्रपति बोल्सोनारोका समर्थकहरूले पनि यो प्रस्तावमा खुलेर समर्थन गर्न सकेका छैनन् । 

सरकारको बजेटले भ्याउन मुस्किल भएको भन्दै उनीहरूले पनि निर्णयमा जोड दिन नसकिएको जनाएका छन् । मितव्ययी र सुधारको नाराले गत वर्ष मात्रै ब्राजिलको राष्ट्रपतिमा निर्वाचित भएका बोल्सोनारो गत अप्रिलमा आफ्ना नागरिकका लागि आपतकालीन भत्ताको घोषणा गरेपछि थप चर्चामा आएका थिए । उनले सुरुवातमा ६ सय ब्राजिलियन रुपैयाँ मासिक आपतकालीन भत्ता दिन सुरु गरेका थिए । गत अगस्टमा यो रकम आधाले घटाइएको थियो । अधिकारीहरूका अनुसार ब्राजिलको कुल जनसंख्याको ४४ प्रतिशत घरपरिवारले यो सहायता रकम पाएका छन् । सहायता रकम प्राप्त गर्नेमध्ये धेरै उत्तरी र उत्तरपूर्वी क्षेत्रका नागरिक छन्, जुन क्षेत्र ब्राजिलको सबैभन्दा धेरै विपन्न व्यक्तिको बसोवास रहेको क्षेत्र हो । 

दैनिक खर्च जम्मा १.९० डलर
अहिले सरकारले दिँदै आएको भत्ता रोक्ने हो भने एक करोड ५० लाख मानिस गरिबीतर्फ धकेलिने विज्ञहरूको अनुमान छ । ‘यो एक करोड ५० लाख मानिस फेरि गरिबीतर्फ फर्कने हाम्रो अनुमान हो,’ ब्राजिलका अर्थविद् मार्सेलो नेरी भन्छन्, ‘ब्राजिल यस्तो संकटको समयमा पनि आफ्ना नागरिकलाई राम्रो सुविधा दिने देश हो । तर, यो राम्रो अवस्था होइन । हामी वर्षको अन्त्यमा फेरि यसबारे हेर्ने छौँ ।’

कोरोना भाइरस महामारीले अर्थतन्त्र ध्वस्त बनेका कारण दैनिक १.९० डलरमा बाँच्ने गरिबको संख्या ल्याटिन अमेरिकाका अरू देशहरूमा पनि बढ्ने सम्भावना देखिएको छ । यद्यपि, ब्राजिलमा पछिल्लो केही दिनदेखि कोरोना संकट कम हुने संकेत देखिएको छ । 

पसल र अरू व्यापार व्यवसाय खुल्न थालेका छन् । यद्यपि, बेरोजगारीको संख्या उस्तै छ । दुई सय १२ मिलियन जनसंख्या भएको ब्राजिल विश्वमै कोरोना भाइरसले सबैभन्दा बढी आक्रान्त पारेको देशमध्ये एक हो । ब्राजिलमा ५० लाखको हाराहारीमा संक्रमण देखिएको छ भने एक लाख ४९ हजारको मृत्यु भएको छ । सरकारी अधिकारीहरूका अनुसार महिला र श्यामश्वेत वर्णका व्यक्तिलाई भाइरसले नराम्रोसँग प्रभावित पारेको छ । 

ब्राजिलमा राष्ट्रपति बोल्सोनारो आफैँ पनि कोरोना संक्रमित भएर निको भएका व्यक्ति हुन् । यद्यपि, कोरोना भाइरस संक्रमणलाई नियन्त्रणमा लिन राष्ट्रपति बोल्सोनारोले अपनाएको शैलीलाई लिएर धेरै नै आलोचना भएको थियो । 

राष्ट्रपति बोल्सोनारोले सुरुवातमा कोरोना भाइरसलाई सामान्य ‘फ्लु’ भनेका थिए । उनले त्यस वेला विज्ञले दिएको सामाजिक दूरी कायम गर्नुपर्नेलगायत सुझाबलाई पनि अविष्कार गरेका थिए । पछि उनी आफैँ संक्रमित भएपछि भने सुरक्षाका धेरै नियम लागू गरिएको छ ।