१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o६:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ

अझै खच्चरले थेग्छ हुम्लाको ढुवानी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:२५:oo

राष्ट्रिय सडक सञ्जालको पहुँचमा नपुगेको हुम्लामा अधिकांश दैनिक उपभोग्य सामान खच्चरबाटै भित्रिने गरेको छ । चार हजार मिटरभन्दा अग्लो हिमालको बाटोबाट दैनिक सयौँ खच्चर सामान बोकेर ओहोर–दोहोर गरिरहेका हुन्छन् । जिल्लाका अधिकांश युवा पुस्ताको दैनिकी खच्चरसँगै बित्ने गरेको छ । मुगु–हुम्ला र बाजुरा–हुम्लाका सडकमा दैनिक सयाैँको संख्यामा खच्चर सामान ढुवानी गर्नेमा व्यस्त देखिँदै आएका छन् ।

कुनै समय बाटो हिँड्नसमेत गाह्रो पर्ने चंखेली लेकमा पछिल्लो समय भने खच्चरबाट युवापुस्ता दैनिक उपभोग्य वस्तु ढुवानीमा व्यस्त देखिन थालेका छन् । जुम्ला पातारासी गाउँपालिका–७ पटमाराका दिनेश बुढा उमेरले १७ वर्षका भए, तर गाउँमा केही आम्दानी नभएपछि दुई वर्षदेखि मुगुको गमगढीदेखि हुम्लाको सदरमुकाम सिमकोटसम्म दैनिक उपभोग्य वस्तुको खच्चरबाटै ढुवानी गर्दै आएको बताए ।

घरमा परिवार संख्या ठूलो भएको र गाउँमा कमाइ केही नहुने हुनाले खच्चरबाट ढुवानी गर्ने कामदारको रूपमा हुम्ला पुगेको बुढाको भनाइ छ । महिनामा खच्चर मालिकले १५ हजार रुपैयाँ दिन्छ, त्यही पैसाले घरखर्च चलाउँदै आएको बुढाले बताए । 

जुम्ला पातारासी गाउँपालिका– ७ पटमाराकै वीरेन्द्र थापा खच्चर व्यवसायमा लागेको आठ वर्ष भयो । सुरुमा सडक सञ्जालसँग नजोडिएको कर्णालीका कालिकोट, जुम्ला, मुगुसम्म दैनिक खच्चरबाटै सामान ढुवानी गर्दै आएका उनी तीन जिल्लामा मोटरबाटो पुगेपछि खच्चर व्यवसाय विस्थापित भएको दुखेसो गर्छन् । कालिकोट, मुगु र जुम्लामा सडक पुगेपछि सामान गाडीबाट ढुवानी हुन थालेकोले हुम्ला जिल्लातर्फ खच्चर व्यवसाय गर्ने थालेको उनको भनाइ छ । अहिले उनले खच्चरबाटै मासिक ७० देखि ८० हजार रुपैयाँ कमाउने बताउँछन् । मुगु–हुम्ला आवतजावत गर्न आठ दिन लाग्ने गरेको छ । चंखेली हुँदै हुम्लाका विभिन्न स्थानमा झन्डै सातदेखि आठवटा खच्चरबाट सामान ढुवानी हुँदै आएको छ ।

कुन–कुन सामान भित्रिन्छन् ? 
मुगुको गमगढीदेखि हुम्लाको सातवटै स्थानीय तहमा दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामान खच्चरबाट ढुवानी हुँदै आएको छ । नुन, तेल, चामल, सिमेन्ट, गाडीका लागि डिजल, पेट्रोलदेखि विकास निर्माणका आवश्यक सामान दैनिक खच्चरबाट सस्तो मूल्यमा हुम्ला पुग्ने गरेको छ । खच्चरबाट सस्तो मूल्यमा सामान ढुवानी हुन थालेसँगै निजी घर निर्माणका लागि जस्तापातासमेत खच्चरबाट ढुवानी हुने गरेको खच्चर व्यवसायी बताउँछन् । 

मुगुबाट सिमकोटम्म प्रतिकेजी ८० देखि ९० रुपैयाँसम्ममा खच्चरबाट सामान ढुवानी हुने गरेको छ । दैनिक ६ हजारदेखि १५ हजार केजीसम्म सामान आउने गरेको खच्चर व्यवसायीले बताउने गरेका छन । मुगुको भट्टेचौरदेखि हुम्लाको खार्पुनाथ गाउँपालिकाको सुनाखाडासम्म करिब आठ दर्जन होटेलको आय पनि खच्चर व्यवसायले धानेको छ । दैनिक प्रत्येक होटेलमा एक हजारदेखि १० हजार रुपैयाँसम्म व्यापार हुने गरेको चंखेली गाउँपालिका– १ जाँचेका एक होटेल व्यवसायीले बताए । सडकको पहुँच नपुगेको ग्रामीण हुम्लामा करिब आठ सय खच्चरको प्रयोग हुन थालेपछि गाउँघरमा समेत सस्तो मूल्यमा सामान ढुवानी हुने गरेको छ । 

ad
ad