मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख २८ मंगलबार
  • Tuesday, 11 May, 2021
कृष्ण रिजाल काठमाडौं
२०७७ असोज २२ बिहीबार १७:२०:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

सवा दुई अर्ब लागतमा दुई सय ६४ स्वास्थ्य संस्था स्तरोन्नति गरिँदै 

बजेटमा गरिएको घोषणाअनुसार स्थानीय तहमा ५, १० र १५ बेड क्षमताका अस्पताल निर्माण गर्न बजेट निकासा भयो, कात्तिकभित्रै काम सुरु हुने 

Read Time : > 1 मिनेट
कृष्ण रिजाल, काठमाडौं
२०७७ असोज २२ बिहीबार १७:२०:००

सरकारले स्थानीय तहअन्तर्गत रहेका दुई सय ६४ स्वास्थ्य संस्थालाई स्तरोन्नति गर्ने भएको छ । ७४ जिल्लाका स्थानीय तहमा रहेका स्वास्थ्य संस्थालाई स्तरोन्नति गरेर ५, १० र १५ बेडको अस्पताल बनाइने भएको हो । यसका लागि सवा दुई अर्ब रुपैयाँ रकम निकासा गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । 

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षको बजेटमार्फत गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न भन्दै स्थानीय तहमा ५ देखि १५ बेड क्षमताका अस्पताल स्थापना गर्ने घोषणा गरेका थिए ।

सरकारले यसका लागि १४ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यस्तै, साबिकका स्वास्थ्य संस्था स्तरोन्नति गर्ने घोषणाअनुसार स्थानीय तहमा रहेका स्वास्थ्य संस्था स्तरोन्नति गर्न थालिएको अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख धनीराम शर्माले जानकारी दिए ।

‘सबै स्थानीय तहमा ५ देखि १५ बेड क्षमताका अस्पताल निर्माण गर्ने नीतिअनुसार ससर्त अनुदानका रूपमा वित्तीय हस्तान्तरण गरिएको हो,’ शर्माले भने, ‘स्वास्थ्य मन्त्रालयले तयार गरेको सूची र मापदण्डका आधारमा साबिक स्वास्थ्य संस्थाको स्तरोन्नति गरी अस्पताल बनाउने वा नयाँ अस्पताल निर्माण गरिनेछ ।’ ससर्त अनुदानका रूपमा वित्तीय हस्तान्तरण गरिएको बजेटमा स्थानीय तहले बजेट थपेर अस्पताल निर्माण गर्न सक्नेछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २८ साउनको मन्त्रीस्तरीय निर्णय गरी स्तरोन्नति गर्ने स्वास्थ्य संस्थाको सूची तयार पारेको थियो । सोहीअनुसार स्तरोन्नतिका लागि सूचीकृत २ सय ६४ वटा स्वास्थ्य संस्थाका लागि कुल २ अर्ब ३२ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो । सबै रकम निकासा भइसकेको मन्त्रालयले जनाएको छ  । 

कुन क्षमताका अस्पताललाई कति बजेट ? 

स्वास्थ्य मन्त्रालयले ५ बेड अस्पतालमा स्तरोन्नति हुने प्रत्येक स्वास्थ्य संस्थालाई ७० लाख रुपैयाँ र १० बेडमा स्तरोन्नति हुने प्रत्येक स्वास्थ्य संस्थालाई ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै, १५ बेडको अस्पतालमा स्तरोन्नति हुने प्रत्येक स्वास्थ्य संस्थाका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको हो । 

स्वास्थ्य मन्त्रालयका अनुसार ५२ वटा स्वास्थ्य संस्थालाई ५ बेडको अस्पतालमा स्तरोन्नति गर्न ३६ करोड ४० लाख रुपैयाँ निकासा गरिएको छ । त्यस्तै, एक सय ५ वटा स्वास्थ्य संस्था स्तरोन्नति गरी १० बेडको अस्पताल बनाउन ८९ करोड २५ लाख रुपैयाँ निकासा गरिएको छ ।

विभिन्न स्थानीय तहका एक सय ७ वटा स्वास्थ्य संस्थालाई १५ बेडको अस्पतालका रूपमा स्तरोन्नति गरिनेछ, यसका लागि कुल एक अर्ब ७ करोड रुपैयाँ बजेट निकासा गरिएको मन्त्रालयले जानकारी दिएको छ । 

कात्तिकदेखि निर्माण सुरु गरिने

स्थानीय तहले तोकिएका स्वास्थ्य संस्थाको स्तरोन्नतिको काम आगामी कात्तिकदेखि सुरु गरिसक्नुपर्नेछ । स्वास्थ्य संस्थाको स्तरोन्नति आधारभूत अस्पताल भवन निर्माणसम्बन्धी निर्देशिका २०७७ र स्वास्थ्य भवन पूर्वाधारको डिजाइन तथा निर्माणसम्बन्धी निर्देशिका २०७३ (पहिलो संशोधन २०७७) अनुसार निर्माण गरिनुपर्नेछ ।

‘प्रचलित कानुन, स्वीकृत मापदण्ड, निर्देशिका र राष्ट्रिय भवनसंहिताबमोजिम अस्पताल निर्माणको कार्य आगामी कात्तिक मसान्तसम्ममा प्रारम्भ गरिसक्नुपर्नेछ,’ स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । स्वास्थ्य मन्त्रालयले आइतबार पत्राचार गरेर स्थानीय तहलाई रकम निकासा भएको जानकारी गराउँदै स्तरोन्नतिको काम थाल्न निर्देशन दिएको हो ।