अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनासँग कोही पनि डराउनु नपर्ने बताएका छन् । वल्टर नेसनल सैनिक अस्पतालमा कोरोनाको उपचार गरेपछि ह्वाइटहाउस फर्केलगत्तै सोमबार राति उनले यस्तो बताएका हुन् ।
अस्पतालमा लगातार तीन दिन बसेपछि उनी राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा पुगेका हुन् । ट्रम्प भन्छन्, ‘म वाल्टर रिड मेडिकल सेन्टरबाट निस्कँदै छु, यसवेला मलाई केही भएको छैन, कोही पनि कोरोनासँग डराउनुपर्ने अवस्था छैन ।’
यद्यपि ट्रम्प ह्वाइटहाउस फर्के पनि उनको स्वास्थ्यप्रति धेरै हेरविचार गर्नुपर्ने चिकित्सकहरूले बताएका छन् । अझै पनि ट्रम्पको स्वास्थ्य राम्रो छैन । उनी खत्तरामुक्त नभएको चिकित्सकहरूको भनाइ छ । यसैबीच राष्ट्रपति कार्यालयमा कार्यरत १५ जनालाई कोरोना लागेको समाचार सार्वजनिक भएको छ । यसले पनि जोखिम बढाउन सक्ने चिकित्सकहरूको भनाइ छ ।
ट्रम्पले ह्वाइटहाउस पुगे लगत्तै मास्कसमेत फुकालेका थिए । केही अन्तर्राष्ट्रिय एजेन्सीहरूका अनुसार १५ अक्टोबरमा हुने दोस्रो प्रेसिडेन्सियल डिबेटमा ट्रम्प सहभागी हुन सक्छन् । यद्यपि ह्वाइटहाउसले यसबारेमा केही पनि जानकारी दिएको छैन । तर, ट्रम्पले आफू चुनावी अभियानमा सक्रिय हुने बताइसकेका छन् ।
ह्वाइटहाउस पुगेकै रात ट्रम्पले ट्विट गरेका छन्, ‘तपार्इं आफ्नो जीवन कसैका लागि समर्पित नगर्नुस्, हामीले धेरै विकास गरिसकेका छौँ, ट्रम्पको प्रशासकीयमा त्यो सबै सम्भव छ ।’ ट्रम्पले अस्पतालबाट फर्कंदा आफूमा २० वर्षअघिको जस्तै जोस आएको बताएका छन् । भन्छन्, ‘मलाई अहिले यस्तो लागेको छ, म २० वर्षअघिको जस्तो भएको छु ।’
ह्वाइटहाउस पुग्दा टिभीमा लाइभ
ट्रम्प ह्वाइटहाउस पुग्दा केही स्थानीय टेलिभिजनले लाइभ प्रसारण गरेका थिए । लाइभ प्रसारणमा ट्रम्पले बाल्कोनीमा हात हल्लाउँदै मास्क कोटको खल्तीमा राखेका थिए । ट्रम्पको मास्क फुकाल्ने कार्यबाट अझै उनी कोरोनाप्रति गम्भीर नभएको एजेन्सीहरूको विश्लेषण छ ।
राष्ट्रपतिका निजी डाक्टर सिन कोनले भने मिडियासमक्ष विस्तृत जानकारी दिएका छैनन् । डा. सिनले राष्ट्रपतिको स्वास्थ्य अवस्था राम्रो नभएको मात्र बताए । नेगेटिभ रिपोर्ट नआएको अवस्थामै ट्रम्प ह्वाइटहाउस फर्किएकोबारे प्रश्न राखिएको थियो । तर, यस सम्बन्धमा डाक्टर सिनले केही प्रतिक्रिया दिएनन् । उनले राष्ट्रपति ट्रम्पलाई एन्टिबाइटिक डोज दिएको मात्र बताए । ‘अहिले राष्ट्रपतिलाई एन्टिबाइटिक भाइरल डोज दिइएको छ,’ डा. सिनले भने, ‘अझै सबै जानकारी पाउन एक साता लाग्छ ।’
राष्ट्रपति कार्यालयमा ट्रम्पको हेरविचार सावधानीपूर्वक हुने डाक्टर सिनले बताए । ट्रम्प हेलिकोप्टरको सहायताबाट ह्वाइटहाउसमा दश मिनेटमै पुगेका थिए । उनले मिडियालाई हात हल्लाएर केवल धन्यवाद मात्र दिए । ट्रम्पले ट्विटरमा भनेका छन्, ‘तपाईंहरू आफ्नो जीवनमा कोरोना हाबी हुन नदिनुस्, तपार्इं यसलाई सहजै हराउन सक्नुहुन्छ ।’
ट्रम्पले भिडियो कन्फ्रेन्समा अमेरिकामा कोरोना हराउने औषधि उत्पादन भएको दाबी गरेका छन् । ‘म फेरि भन्छु, हामी कोरोनालाई पराजित गर्न सक्छौँ, हामीसँग विश्वकै उत्कृष्ट प्रविधि छ, हामीसँग उत्कृष्ट औषधि छ, जसले कोरोना सहजै पराजित हुनेछ ।’ एक नेताको कर्तव्य आफ्ना जनतालाई खुसी दिनु रहेको ट्रम्पले जनाएका छन् । भन्छन्, ‘म तपाईंहरूले चुनेकै नेता हुँ, जस्तोसुकै अवस्थामा पनि म तयार हुनुपर्छ, अगाडि आएरै म आफ्नो काम गर्छु ।’
यसैबीच ट्रम्पले अमेरिकामा छिटै कोरोनाको भ्याक्सिन आउन लागेको दोहो¥याएका छन् । तर, अमेरिकाको सेन्ट्रल डिजिज कन्ट्रोलले भने अर्को वर्षसम्ममा भ्याक्सिन आउन सक्ने बताएको छ ।
आगामी डिबेटको तयारी गर्न निर्देशन
ट्रम्पले १५ अक्टोबरमा हुने डिबेटका लागि तयारी सुरु गर्न पनि निर्देशन दिएका छन् । क्याम्पियनका मेनेजर रायन नोब्सले दोस्रो डिबेटमा राष्ट्रपति ट्रम्पको उपस्थिति हुन सक्ने जानकारी दिए । यद्यपि, यसको आधिकारिक जानकारी ह्वाइटहाउसबाट आउने नोब्सले बताए ।
रिपब्लिकन्सले ट्रम्पको अनुपस्थितिमा पनि चुनावी दौड तीव्र पारेको छ । चुनावी अभियानमा ट्रम्पका छोरा एरिक, ज्वाइँ जैरेड, छोरी लारा तथा पार्टीका सिनियर नेताहरूले प्रसारप्रसार गरिरहेका छन् । राज्यका प्रमुख सहरमा ट्रम्पको ठूलो ब्यानर राखी प्रचार गरिएको छ ।