मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १६ शुक्रबार १४:३५:००
Read Time : > 3 मिनेट
फिचर डिजिटल संस्करण

इटलीले कसरी जित्यो कोरोना महामारीविरुद्धको युद्ध ?

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १६ शुक्रबार १४:३५:००

इटलीको राजधानी रोमको एक सडककिनारामा कालो रंगको गाडी पार्किङ भइरहेको छ । सेतो पिपिई लगाएकी एक महिलाले ललिपप देखाउँदै कालो कारभित्र रहेका ६ वर्षे बालकलाई फकाउँदै थिइन् । ती महिलाले बालकको स्वाब जसरी पनि निकाल्नुपर्ने थियो । ६ वर्षे बालकको पालोपछि अर्को गाडीभित्र बसेका बालक वा बालिकाको स्वाब संकलन गर्न जानुपर्ने थियो । बालकलाई फकाउन ती महिला ललिपप देखाउँदै थिइन् । लामो प्रयासपछि महिलाले बालकको स्वाब संकलन गर्न सफल भइन् । त्यसपछि उनी अर्को गाडीतर्फ लागिन् ।

रोममा अहिले ‘बेबी ड्राइभ इन्स’ भन्ने स्थान बनाइएको छ । जहाँ केवल बालबालिकाको मात्र कोभिड–१९ परीक्षण हुन्छ । रोमका बासिन्दाले यही स्थानमा बालकको स्वाब संकलन गर्न ल्याउँछन् । स्वाब संकलन गरेको केवल ३० मिनेटभित्र कोभिड–१९ को नतिजा दिने व्यवस्था मिलाइएको छ । ललिपप देखाउँदै स्वाब निकालेको बालकको नतिजा नेगेभिट आयो । नतिजासँगै उनका आमाबुबा निकै खुसी भए । त्यसपछि आमाबुबा ती बालकलाई डे केयर स्कुलमा राख्न गए । अहिले प्रि–स्कुलको सिजन हो । आफ्ना बालबालिकालाई स्कुलमा राख्नका लागि अभिभावक यसै ‘बेबी ड्राइभ इन्स’मा पुग्छन् । त्यहाँको नतिजाअनुसारै उनीहरू निर्णय लिन्छन् । 

यो त्यही रोम सहर हो जहाँ पाँच महिनाअघि कोरोना भाइरसको महामारी फैलिएको थियो । गत फेब्रुअरी–अप्रिल महिनामा रोम पूरै सुनसान थियो । यो सहर सन्नाटाले छाएको थियो । पाँच महिनाअघि र पछिको परिदृश्य बदलिएको छ । रोम मात्र होइन, इटलीको अन्य सहरको दैनिकी परिवर्तन भएका छन् । यहाँका बासिन्दा पूर्ववत् अवस्थामा आइसकेका छन् । उनीहरूलाई अब कोभिड–१९ को कुनै डर छैन । युरोपमा इटली नै यस्तो राष्ट्र बनेको छ । जसले कोभिड– १९ माथि पूर्ण नियन्त्रण प्राप्त गरेको छ । पूर्वसतर्कता नअपनाउँदा इटलीले पहिलो चरणमा धेरै दुःख व्यहोरेको छ । 

सुविधासम्पन्न अस्पताल, शिक्षित वर्ग तथा उत्कृष्ट स्वास्थ्य नीति भएको इटलीले कोभिड–१९ को प्रारम्भिक चरणमा सोच्नै नसक्ने गल्ती ग¥यो । कोरोना फैलिरहँदा यहाँका जनताले चाइनिज भाइरस भन्दै बेवास्ता गरे । उत्कृष्ट स्वास्थ्य प्रवधि भएको इटलीमा सहजै कोरोना भाइरस निर्मूल हुने अन्धविश्वास व्याप्त थियो । यसैको परिणामस्वरूप इटलीमा दैनिक हजारौँ व्यक्ति संक्रमित भए । र, सयौँले ज्यान गुमाए । इटली त्यसवेला सबैभन्दा धेरै कोरोना संक्रमित हुने विश्वकै चौथो राष्ट्र थियो । 

तर, सरकार र जनताले आफूहरूबाट गल्ती भएको महसुस गरे । त्यसपछि सबै कोभिड–१९ विरुद्ध लागे । पछिल्लो चार महिनामा इटालियन जनताले देखाएको जागरुकता र मिहिनेतका कारण अहिले कोभिड– १९ माथि जित हासिल गर्ने इटली पहिलो युरोपियन राष्ट्र बनेको छ । पछिल्लो दुई साताको तथ्यांकअनुसार बेलायत, फ्रान्स र स्पेनको तुलनामा इटलीको रिकभर रेट उत्कृष्ट छ । अहिले इटलीमा संक्रमित संख्या प्रतिदिन नगन्य छ । 

‘फेब्रुअरी र मार्च महिनाको अवस्था हे¥यौँ भने भयावह नै थियो,’ एलिसाबेटा कोट्रिसले भनिन्, ‘लकडाउनमा सोचेभन्दा धेरै कठिन भयो, हामीहरूसँग धेरै बालबालिका थिए, उनीहरूका सबै गतिविधिमाथि प्रतिबन्ध लगाएका थियौँ ।’ बेबी ड्राइभ इन्समा कोट्रिस कार्यरत छिन् । यो संस्थाले सुरुको दिनमा बालबालिकालाई नै पहिलो प्राथमिकतामा राख्नुपर्ने सुभाब दिएका थिए । बालबालिकामा रोग प्रतिरोधात्मक शक्ति कम हुने भएकाले उनीहरूको सुरक्षा नै पहिलो भएको कोट्रिस बताइन् । उनी भन्छिन्, ‘त्यसवेला पूरै देश कोभिड–१९ को चपेटामा थियो, योबीचमा हामीले असंख्य बालबालिकाको स्वास्थ्य हेर्नुपर्ने थियो, हामीले उनीहरूलाई पहिलो प्राथमिकतामा राखी अभियान चलाएका हौँ । आज हामीहरूको अभियान सफल भएको छ ।’ 

यसका साथै कन्ट्रयाक्ट टे«सिङलाई पनि तीव्रता दिएको थियो । बेलायत, फ्रान्स, जर्मनी तथा स्पेनले यसै समयमा परीक्षणमा तीव्रता दिएनन् । इटलीले द्रुतगतिमा परीक्षण गरेका कारण नै स्थिति नियन्त्रणमा आएको हो । अहिले स्कुल, कलेज तथा व्यापार सुचारु हुनुको कारण पनि यही नै हो । सरकारले कलेज, बस, ट्रेन तथा एयरपोर्टमा समेत स्वाब संकलनको व्यवस्था गरेको छ । 

पर्यटकीय गतिविधि बढे
आफूलाई शंका लागेको समयमा इटालियन नागरिकले कहीँ पनि कोभिड–१९ परीक्षण गराउन सक्ने व्यवस्था सरकारले मिलाएको छ । इटलीले अपनाएको नीति देखेर अन्य युरोपियन राष्ट्र आश्चर्यमा परेका छन् । इटलीमा कोभिड–१९ नियन्त्रण नहुने भन्नेहरू अहिले पछाडि मुख फर्काउन थालेका छन् । अहिले युरोपभरमै पयर्टकका लागि इटली सुरक्षित रहेको मानिन्छ । चर्चित इटालियन चिज पिज्जा खान सयौँ किलोमिटर यात्रा गरी पर्यटकहरू आउन थालेका छन् । इटलीमा बाह्य तथा आन्तरिक पर्यटन व्यवसायले पनि गति लिन थालेको छ । 

रोमको एउटा चलेको रेस्टुराँ अहिले पुरानै अवस्थामा फर्किएको छ । यहाँका वेटर अर्डर लिन भ्याइनभ्याई छन् । रेस्टुराँका मालिकले सबै कारोबार कोर्डिङ प्रणालीअनुसार गरेका छन् । सुरक्षित रहन यहाँका वेटरले मास्क लगाएका हुन्छन् । उनीहरूले आफ्ना ग्राहकलाई भौतिक दूरी कायम गराउनुका साथै मास्क लगाउन सल्लाह दिन्छन् । यदि रेस्टुराँ तथा यसको वरिपरि मास्क नलगाई हिँडे वा सरकारी नियम पालना नगर्ने व्यक्तिले राज्यलाई तीन हजार पाउन्ड तिर्नुपर्ने हुन्छ ।

अहिले कोभिड– १९ को समयमा यो जरिवाना रकम धेरै हो । जरिवानाका कारण पनि इटलीमा कोभिड नियन्त्रणमा सहज भयो । ‘बेलायतमा भन्दा पनि म इटलीमा सुरक्षित भएको पाएँ, यहाँको नियम मलाई मन प¥यो, जरिवाना रकम ठूलै हो, जुन यो समयकै धेरै हो,’ रोमनिवासी कोरियासले भनिन् । उनी बेलायतमा अध्ययनरत छिन् । भन्छिन्, ‘बेलायतमा रहँदा मैले त्यहाँका मानिसले मास्क लगाएको देखिनँ, बेलायतमा सामाजिक दूरीको व्यवस्था नै छैन, उनीहरू छिनमै नियम तोड्ने गर्छन्, तर इटलीमा हेर्दा सबै नियमअनुसार नै चलिरहेका छन्, सबैलाई आफ्नो ज्यानको माया लाग्छ, नियममा बस्यौँ भने ठूलो सफलता मिल्छ भन्ने उदाहरण इटलीले दिएको हो ।’ 

अन्तिम दिनसम्म लडाइँ लड्नु छ : स्वास्थ्यमन्त्री
इटलीका डेपुटी हेल्थ मिनिस्टर पिएपाओलो सिलेरीले इटालियन जनताले नियम पालना गरेका कारण नै कोरोना महामारीमाथि जित प्राप्त गरेको बताएका छन् । ‘म गर्वका साथ भन्न सक्छु, इटलीका प्रत्येक नागरिकले यो लकडाउनको समयमा धैर्यता राख्नुभयो, सबैले नियम पालना गर्नुभयो, आज यसैका कारण हामी इटलीले अन्य राष्ट्रलाई उदाहरण प्रस्ु्त गरेका छौँ,’ सिलेरीले भने, ‘अझै युद्ध सकिएको छैन, युद्धको अन्तिम दिनसम्म लडाइँ लड्नु छ ।’ 

नियम पालना गर्ने व्यक्तिले कहिले पनि अन्य व्यक्तिको हानिबारे नसोच्ने सिलेरीको भनाइ छ । ‘जब तपार्इं नियम मान्नुहुन्छ, त्यसवेला स्वतन्त्र पाउनुहुन्छ, स्वतन्त्रपूर्वक हिँड्न पाउनुभयो भने सबै खुसी हुन्छन्, अहिले इटलीमा सबै खुसी छन्, किनभने सबैले कोभिड– १९ को नियम पालना गरेका छन्, यदि त्यो समयमा नियम पालना नगरेको भए, आज हामी यो स्थितिमा आउन सक्ने थिएनौँ ।’

–एजेन्सीको सहयोगमा