मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७७ असोज १५ बिहीबार ०८:३४:००
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

तातोपानी नाकाबाट आयात मात्र खुलाउने

Read Time : > 2 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७७ असोज १५ बिहीबार ०८:३४:००

२५ असारदेखि बन्द तातोपानी नाका तीन महिनापछि खुल्ने भएको छ । पाँच महिनादेखि चिनियाँ क्षेत्रमा अड्केर बसेका सामान काठमाडौं ल्याउन नाका खुलाउन लागिएको हो ।  सिन्धुपाल्चोक जिल्ला प्रशासन र चीनकाे स्वशासित क्षेत्र तिब्बतको न्यालम प्रशासनबीच १३ असोजमा भएको छलफलले नाका खोल्ने निर्णय गरेको हो । तर, नाकाबाट आयात मात्रै हुनेछ । 

खासामा रहेका चिनियाँ भन्सार एजेन्टले सामान ल्याएर मितेरीपुलमा झार्ने र पिसिआर परीक्षण नेगेटिभ भएका नेपाली मजदुरले लोड गरेर लार्चा भन्सार पठाउने तयारी गरिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । सीमा क्षेत्रमा लोड–अनलोड गर्ने दुवै पक्षका मजदुरको प्रत्येक हप्ता कोरोना परीक्षण गरिनेछ । 

सुरुमा कोरोना भाइरसको महामारीले गर्दा दुवै देशको सहमतिमा नाका बन्द गरिएको बताइएको थियो । तर, पछिल्लो समय चीनले न्यालममा रहेको विभिन्न ताल फुट्न सक्ने भन्दै नाकालाई एकतर्फी रूपमा बन्द गरेको थियो । खासामा अड्किएका सामान आयात गर्न आयात खुला गर्ने निर्णय भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

तातोपानी सुक्खा बन्दरगाहका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले खासामा रहेका डेढ सय कन्टेनर सामान दसैँअघि आयात हुने बताए । ‘काम गर्न १८ गतेबाटै सुरु भए पनि १९ असोजबाट खासा क्षेत्रमा रहेका सामान तातोपानी आयात हुन्छ,’ खत्रीले भने । दैनिक आठ चिनियाँ कन्टेनर अर्थात् नेपाली १६ कन्टेनर सामान आयात हुने उनले बताए । खासामा थुप्रिएका सामान आयातपछि नाका खुला रहने–नरहने भन्नेबारे कुनै छलफल भएको छैन । तातोपानी नाका सञ्चालनका लागि कोरोना भाइरस महामारीबीच मितेरीपुलको सीमामा स्वास्थ्य सावधानी अपनाएर तीन बैठक सम्पन्न भएका छन् । पछिल्लो बैठकमा तिब्बतको वाणिज्यस्तरका मन्त्री र ठूला अधिकारीसमेत उपस्थित भएका छन् ।

तालबारे गम्भीर छलफल 
मितेरीपुलमा मंगलबार भएको नेपाल–चीन द्विपक्षीय वार्ता अघिल्ला बैठकभन्दा फरक रह्यो । चीनको तर्फबाट ल्हासास्थित विदेश विभागका डेपुटी डाइरेक्टर लिउ लिनसहित सिगात्से सहरका डेपुटी डाइरेक्टर र अन्य १२ उच्च अधिकारी उपस्थित थिए । 

मितेरीपुलको सीमामा चीनपट्टि १४ जना थिए भने नेपालपट्टि प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसहित ६ जना मात्र थिए । बैठकबारे जानकारी भए पनि अप्रत्याशित रूपमा चीनपट्टिबाट उच्चस्तरका सरकारी अधिकारी आएका हुन् । 

नेपालबाट यो पटकको बैठकमा महत्वपूर्ण प्रस्ताव पेस भएको छ । सो प्रस्तावउपर चिनियाँ अधिकारी सकारात्मक छन् । नाका सुचारु गर्न चिनियाँ पक्ष गम्भीर बन्नुपर्ने सिडिओ ढकालले बैठकको सुरुमै प्रस्ताव राखे ।

 ढकालले न्यालममा रहेको तालबारे पनि प्रस्ताव राखे । चिनियाँ अधिकारीले सो तालको कम्प्युटरबाट निरीक्षण भइरहने र विपत् पर्दा तुरुन्तै नेपालपट्टि जानकारी दिने बताएका थिए । ‘यदि ताल फुट्ने अवस्थामा छ भने खतरा उत्पन्न हुँदा साइरन बज्ने प्रविधि राख्नेबारे प्रस्ताव राख्यौँ,’ उनले भने, ‘यसबारे चिनियाँहरूले हुन्छ भनेका छन् ।’ तालबारे परराष्ट्र मन्त्रालयले पनि ल्हासा सरकारलाई पत्रमार्फत जिज्ञासा राखेको छ ।

भोटेकोसीको मुहान क्षेत्रमा रहेको विभिन्न पाँच तालमध्ये एउटा ताल फुट्ने अवस्थामा छ । सो ताल फुट्यो भने न्यालम, खासा, तातोपानीदेखि बाह्रबिसेसम्म ठूलो क्षति हुन्छ । आउँदो वर्षमा पनि ताल फुट्ने सम्भावना उत्तिकै रहेकोले दुवै देशका अधिकारीले मिलेर काम गर्नुपर्ने आवश्यकता छ । तातोपानीबाट आयात–निर्यात गर्नेबारे पनि सिडिओ ढकालले प्रस्ताव गरेका छन् ।  

पाँच वर्षदेखि निर्यात ठप्प
नेपालमा बनेका सामग्री पाँच वर्षदेखि चीनतर्फ निर्यात भएका छैनन् । ०७२ को विनाशकारी भूकम्पले बन्द तातोपानी नाका ०७६ जेठ १५ गते खुल्यो । तर, आक्कलझुक्कल आयात मात्रै भएको छ । निर्यात भने ठप्प छ । 

नेपालबाट चीनले आयात गर्ने मुख्य सामग्रीमा हस्तकला पर्छन् । भारतबाट नेपाल ल्याएर चीनतर्फ निर्यात गर्ने सामग्री पनि थुप्रै छन् । चीन स्वशासित क्षेत्र तिब्बतको ल्हासा, सिगात्से र आसपासका बजारमा रहेका झन्डै एक हजार पसल अहिले लगभग बन्द हुने अवस्थामा पुगेका छन् ।