१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज १४ बुधबार
  • Wednesday, 02 July, 2025
एजेन्सी
२o७७ असोज १४ बुधबार १७:५८:oo
Read Time : > 2 मिनेट
फिचर

डोनाल्ड ट्रम्प र जो बाइडेनको पहिलो डिबेट :  इतिहासमै अराजक र तिक्ततापूर्ण

Read Time : > 2 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o७७ असोज १४ बुधबार १७:५८:oo

अमेरिकाको आगामी नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएका राष्ट्रपति डोनाल्ड ट्रम्प र जो बाइडेनले सार्वजनिक ‘डिबेट’मा पहिलोपटक एक–अर्काको सामना गरेका छन् । उनीहरूको यो डिबेटलाई इतिहासमै अराजक र तिक्ततापूर्ण भनिएको छ ।

राष्ट्रपति ट्रम्पले आफ्नो धारणा राखिरहेका बाइडेनलाई बारम्बार अवरोध गर्ने प्रयास गरेका थिए । सिबिएस न्युजले जनाएअनुसार ट्रम्पले प्रतिद्वन्द्वी बाइडेन बोलिरहँदा ७३ पटक बीचैमा बोलेर अवरोध गरेका थिए ।

कोरोना (कोभिड– १९) महामारी, स्वास्थ्य सेवा र अर्थतन्त्रमाथिको बहसमा उनीहरूले एक–अर्काप्रति कडा शब्द प्रयोग गरेका थिए । अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुनुअघि उम्मेदवारलाई संयुक्त रूपमा राखेर यसरी डिबेट गराइन्छ । डिबेटमा उनीहरूले आफ्नो योजना स्पष्ट पार्नुका साथै विपक्षीको योजनामाथि कडा टिप्पणी गर्ने गर्छन् । 

अमेरिकामा राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा महामारीकै बीच पनि चुनावी कार्यक्रमले तीव्रता पाएको छ । अमेरिकाको नयाँ राष्ट्रपतिका लागि आगामी ३ नोभेम्बरमा निर्वाचन हुँदै छ । अमेरिकी र युरोपियन सञ्चारमाध्यमहरूले उल्लेख गरेअनुसार निर्वाचनअघि गरिएको सर्वेक्षणमा अमेरिकाको नयाँ राष्ट्रपतिका लागि बाइडेनले ट्रम्पमाथि थोरैको अग्रता कायम गरेका छन् ।
यद्यपि, निर्वाचन आउन अझै ३५ दिन बाँकी रहेका कारण आगामी दिनमा सर्वेक्षणको यो नतिजा परिवर्तन हुन पनि सक्नेछ । सर्वेक्षणले यो पनि देखाएको छ कि प्रत्येक १० अमेरिकनमध्ये एकले अहिलेसम्म कसरी मतदान गर्ने भन्ने निक्र्याेल गरिसकेका छैनन् ।
राष्ट्रपतिको निर्वाचनका लागि बाइडेन डेमोक्र्याटिक तथा ट्रम्प रिपब्लिकनतर्फबाट उम्मेदवार बनेका हुन् । डिबेट फक्स च्यानलका प्रस्तोता क्रिस वालेसले चलाएका थिए । 

डिबेटको महत्वपूर्ण क्षण 
ओहियोस्थित क्लिभल्यान्डमा ९० मिनेट चलेको डिबेटमा गम्भीर प्रकारका नीतिमाथि छलफल भएको थियो । दुबै प्रतिद्वन्द्वीले एक–अर्काविरुद्ध बोलेका थिए । तर, सिबिएस न्युजले जनाएअनुसार त्यस क्रममा राष्ट्रपति ट्रम्पले ७३ पटक प्रतिद्वन्द्वी बाइडेन बोलिरहेको वेला अवरोध गरे ।

डिबेटको सुरुवातबाटै दुबै प्रतिद्वन्द्वी एक–अर्काविरुद्ध खनिन सुरु गरेका थिए । स्वास्थ्य सेवामाथिको छलफलमा बाइडेनले कडा टिप्पणी गरेका थिए । त्यसपछि सर्वाेच्च अदालतमाथिको छलफल सुरु हुँदा एक–अर्काप्रति अझ तिखो प्रहार गरेका थिए । राष्ट्रपति निर्वाचित भए के सर्वाेच्च अदालतको न्यायाधीशको संख्या बढाउनुहुन्छ भन्ने प्रश्नमा बाइडेनले जवाफ दिएनन् । 

राष्ट्रपति ट्रम्पले बारम्बार बोल्न अवरोध गरेपछि बाइडेन एक समय नराम्रोसँग झोक्किएका थिए । त्यसवेला उनले राष्ट्रपति ट्रम्पलाई भनेका थिए, ‘चुप लाग ।’

राष्ट्रपति ट्रम्पले पनि कडै जवाफ फर्काएका थिए । ‘जनताले बुझ्नेछन् जो,’ उनले भनेका छन्, ‘तिमी राजनीतिमा ३० वर्षदेखि छौ । तैपनि केही काम गरेको छैनौँ । उनीहरूले बुझ्नेछन् ।’

उनीहरूले कोरोना भाइरसबारे के भने ?
बाइडेनले कोरोना भाइरस संक्रमण फैलिएको वेला राष्ट्रपति ट्रम्प आफैँ भयभीत बनेको आरोप लगाए । जसले दुई लाखभन्दा बढी अमेरिकनको ज्यान लिएको छ । ‘धेरै मान्छे मरेका छन् । अझै पनि उनी केही ‘स्मार्ट’ र छिटो नहुने हो भने धेरै मान्छे मर्ने छन्,’ बाइडेनले भने ।

बाइडेनले प्रयोग गरेको ‘स्मार्ट’ शब्दलाई लिएर राष्ट्रपति ट्रम्पले आपत्ति जनाए । ‘तिमी तिम्रो कक्षामा निकै कम, होइन भने सबैभन्दा कम नम्बर ल्याएर पास भएका हौ,’ उनले भने, ‘त्यसैले मसँग स्मार्ट भन्ने शब्द प्रयोग नगर ।’

ओहियोको स्थानीय सरकारले तय गरेको नियमअनुसार सबैले मास्क प्रयोग गर्नु अनिवार्य छ । तर, डिबेटमा उपस्थित राष्ट्रपति ट्रम्पकी श्रीमती मेलानियाबाहेक अरूले मास्क लगाएका थिएनन् ।

डिबेटको विषय परिवारका सदस्य
डिबेटको क्रममा बाइडेनले नै एकपटक राष्ट्रपति ट्रम्पले सेनाको परिवारलाई लुजर (हरुवा) भनेको प्रसंग उठाए, जुन पछि ट्रम्प र उनका अरू सहयोगीले पनि अस्वीकार गरेका थिए । बाइडेनले राष्ट्रपति ट्रमको यो भनाइलाई आफ्नो परिवारसँग जोडे । 
बाइडेनका छोरा बिउ इराकमा खटिएका थिए । उनको अहिले मृत्यु भइसकेको छ । बाइडेनले भने, ‘उनी हरुवा थिएनन् । उनी देशभक्त थिए ।’ त्यसलगत्तै ट्रम्पले बाइडेनका अर्का छोरालाई पनि डिबेटमा ल्याएका थिए । 

ट्रम्पले भने, ‘साँच्चै । तिमीले हन्टरको बारे कुरा गरेको ?’
 
‘मैले मेरो छोराको बारेमा कुरा गरिरहेको छु, बिउ बाइडेन,’ बाइडेनले भने ।

‘मलाई बिउ थाहा छैन,’ ट्रम्पले भने, ‘मलाई हन्टर थाहा छ । हन्टर सेनाबाट फालिएका हुन् । कोकिन प्रयोग गरेको आरोपमा उसलाई निकालिएको थियो, र तिमी उपराष्ट्रपति बन्नुअघिसम्म हन्टरसँग जागिर थिएन ।’ 

राष्ट्रपति ट्रम्पको भनाइ सकिनेबित्तिकै बाइडेनले ठूलो स्वरमा भने, ‘अरू धेरै मान्छेजस्तै तिमीले घरमा चिन्ने अरू धेरै मानिसजस्तै, मेरो छोरामा पनि समस्या थियो । तर, उनले अहिले यो समस्यालाई जितिसकेका छन् । अहिले उनीसँग यो समस्या छैन ।’