मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी
२०७७ असोज १३ मंगलबार १४:२३:००
Read Time : > 1 मिनेट
सप्तरंग

लता मंगेशकर : दुई सय ज्यालादेखि ५० हजार गीतसम्म 

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ असोज १३ मंगलबार १४:२३:००

गायिका लता मंगेशकर हिजो (२८ सेप्टेम्बर) ९१ वर्ष पुगिन् । मंगेशकरका ३६ भाषामा ५० हजारभन्दा ज्यादा गीत रेकर्ड भएका छन् । आफ्नो गलाका कारण संसारभर ख्याति कमाएकी मंगेशकरसँग जोडिएका प्रसंग रुचिपूर्वक पढ्ने गरिन्छ । मंगेशकरसँग जोडिएका केही प्रसंगहरू :- 

१३ वर्षको उमेरबाट आफ्नो करिअरको सुरुवात गरेकी उनले सन् १९४२ मा ‘किति हासिल...’ नामक मराठी चलचित्रमा अभिनय पनि गरेकी थिइन् । र, गायनको उनको यात्रा पनि त्यहीँबाट सुरु भयो । बाल्यकाललाई लिएर मंगेशकरले एक अन्तर्वार्तामा आफूले ५—६ वर्षको उमेरदेखि नै गीत गाउन सिक्न सुरु गरेको बताएकी थिइन् ।

सन् १९४३ मा १४ वर्षको उमेरमा मंगेशकर भारतको कोल्हपुरदेखि बम्बई एक नाटक महोत्सवका लागि आएकी थिइन् । उनी हजुरबा कमलनाथ मंगेशकरको घरमा संगीतको रियाज गरिरहेकी थिइन् । तर, उनका हजुरबा चिन्तित थिए लताले गाउन सक्छिन् या सक्दिनन् भनेर । यो सारा परिवेश बुझिरहेकी मंगेशकरलाई बढी नै दबाब भएपछि रुन थालिन् । तर, उनलाई आन्टीले रुन आवश्यक नरहेको र आफ्नो पिता (दीननाथ मंगेशकर)लाई सम्झनु, उनले तिम्रो संगीतको बाटो देखाउँछन् भनिन् । उनको पिताको निधन सन् १९४२ मै भएको थियो । लताका अनुसार बम्बई नाट्य महोत्सवअघि लताले पितालाई सपनामा देखिन् । र त्यस महोत्सवमा लताले आफ्नो प्रस्तुति दिइन् । त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । 
लताले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘मलाई अभिनयको कुनै शौख थिएन । पिताको नाटक कम्पनीमा सानो बच्चाको भूमिका निभाउने गर्थेँ । पिताको निधनपछि परिवारको जिम्मेवारी ममाथि आइप¥यो । तब मैले नवयुग फिल्म्स प्राइभेट लिमिटेडका लागि एक फिल्ममा काम गरेँ । म हिरोइनको बहिनीको भूमिकामा थिएँ । त्यो मेरो पहिलो फिल्म थियो, जसको नाम ‘पहली मंगला गौड...’ (मराठी) थियो । यो फिल्मपछि अर्को एक फिल्म कम्पनीमा काम गर्न थालेँ, जतिवेला मेरो पारिश्रमिक दुई सय रुपैयाँ थियो ।

बम्बईमा सुरुवातमा मंगेशकरलाई स्वर अति नै पातलो भएकाले चलचित्र निर्माता तथा संगीतकारले काम गर्न मानेनन् । तर, समयक्रममा उनको भाग्य (सन् १९४९) मा चम्कियो । यस वर्ष चार फिल्म प्रदर्शन भए, ‘बरसात’, ‘दुलारी’, ‘महल’ र ‘अंदाज’ । ‘महल’मा उनको गीत ‘आएगा आने वाला आएगा...’ चलेपछि स्टार बनिन् । त्यो समयमा शमशाद वेगम, नूरजहाँ र जोहरबाई अंबालेवालीजस्ता गायिका स्थापित थिए । यसपछि सबै ठूला संगीतकारले मंगेशकरसँग काम गर्न थाले । पचासको दशकमा नूरजहाँ पाकिस्तान गएपछि मंगेशकरले हिन्दी चलचित्रमा एकछत्र राज गरिन् । 

मंगेशकरले ‘मेरो प्यारो माइतीघर...’, ‘मोहनी लाग्ला है...’, ‘पहाडको माथिमाथि...’, ‘को होला मेरो...’, ‘मेरो मनको...’, ‘आज हाम्रो भेट भाको...’, ‘किन बढ्दैछ ढुकढुकी..’ जस्ता गीत गाएकी छिन् । पछिल्लो गीत गायक रामकृष्ण ढकालसँग ‘बाँचुन्जेलीलाई...’ गाएकी छिन् ।