Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
डिलाराम भुसाल कपिलवस्तु
२०७७ असोज ८ बिहीबार ०६:४७:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

खोलाले गाडी बगाउँदा विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु, दुई बेपत्ता

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
२०७७ असोज ८ बिहीबार ०६:४७:००

नेपाल विद्युत् प्राधिकरणको गाडी खोलाले बगाउँदा कपिलवस्तुमा एकजनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् । बुधबार विद्युत् लाइन बनाएर फर्किँदै गर्दा कपिलवस्तुको वाणगंगा नगरपालिका– ७ मोतीपुरस्थित कोइली खोलाले प्राधिकरणको पिकअप भ्यान बगाएको हो । वाणगंगा नगरपालिका– ९ भलवाडमा विद्युत् बनाएर फर्किने क्रममा बा.१ञ १०८९ नम्बरको पिकअप भ्यान खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जनाएको छ । 

खोलाले गाडी बगाउँदा विद्युत् प्राधिकरणका सवारीचालक माधव पाण्डेको मृत्यु भएको छ । उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज अधिकारीले बताए । उनी गुल्मीको रेसुंगा नगरपालिकाको उपल्लो तम्घासका बासिन्दा हुन् । 

त्यस्तै, गाडीमा रहेका दुईजना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा विद्युत् प्राधिकरण जितपुर फ्युज सेवाका प्रमुख कृष्ण पौडेल र अर्काको नाम नखुलेको एसपी अधिकारीले बताए । पिकअप भ्यानमा चारजना विद्युत्का कर्मचारी र दुईजना सर्वसाधारण रहेका थिए । एकजना विद्युत्का कर्मचारी र दुईजना सर्वसाधारण पौडी खेलेर जोगिएको वाणगंगा– ७ का वडाध्यक्ष विष्णु गिरीले बताए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बेपत्ता कर्मचारीको खोजी गरिरहेको छ । खोलामा पानीको बहाव धेरै भएकाले खोजतलासमा कठिनाइ भइरहेको सशस्त्र प्रहरी २८ नं. गणका प्रमुख एसपी धु्रवबहादुर कार्कीले बताए ।

यस्तै, बागलुङ काठेखोला गाउँपालिकामा एकजना बेपत्ता भएका छन् । काठेखोला गाउँपालिका–२  भीमापोखरा बास्कोटका टेकबहादुर खातीको दुईतले गोठ भत्किँदा उनी बेपत्ता भएको प्रहरी चौकी दोबिल्लाकासहायक निरीक्षक विनय रेग्मीले जानकारी दिए ।

भूमियाखेतमा रहेको गोठ माथिबाट आएको पहिरोले ढुंगा र माटोले बनेको र टिनले छाएको गोठ भत्किँदा करिब ६० वर्षीय खाती बेपत्ता छन् । उनका दुईवटा भैंसी मृत भेटिएका छन् । खातीको मोबाइल घटनास्थलमै भेटिएको छ । उनको खोजीका लागि प्रहरी निरीक्षक रेग्मीको टोली र स्थानीय बासिन्दा जुटेका छन् ।